भेपमार्फत् ९ किलो सुन तस्करी प्रकरण : राहुल महरा मतियारको भूमिकामा

कृष्णबहादुर महाराको कनेक्सन नदेखिएको सीआइबीको निष्कर्ष

दियो पोस्ट  

काठमाडौं । विद्युतीय चुरोट (भेप)मा लुकाएर भएको ९ किलो सुन तस्करीको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको छ । पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबकादुर महारा र उनका छोरा राहुल महरामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत भदौ १३ गते पूर्वसभामुख महराका छोरा राहुललाई पक्राउ गरेर उक्त सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्दै आएको छ ।

छोरा पक्राउ परेको एक महिनापछि उक्त सुन प्रकरणबारे सोधपुछ गर्न तथा बयान कागजका लागि भन्दै सीआईबीले कृष्णबहादुर महरालाई बोलाएको थियो। सोमबार साँझ पौन ७ बजे सीआईबीमा पुगेर कृष्णबहादुर महराले बयान दिँदै कागजसमेत गरेका छन्। संगठित अपराधमा अनुसन्धान भएकाले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने समय सीआईबीले पाएको छ। सीआईबीका अनुसार अहिलेसम्मको अनुसन्धानबाट उक्त सुन तस्करी प्रकरणमा कृष्णबहादुर महाराको भने कनेक्सन नदेखिएको र छोरा राहुलको भने मतियारको भूमिका देखिएको छ ।

सुन तस्करीका संलग्न रहेको भनिएका व्यक्तिसँग राहुलको बारम्बार कनेक्सन देखिएपछि उनलाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरेको थियो। सो क्रममा चिनियाँ नागरिकले आफ्नो सामान भन्सारमा अड्किएको बताएपछि के कस्तो हो छोड्न मिल्ने भए छाडिदिनु भनेर फोन गरेको कुरा राहुलले स्वीकार गरेका छन्। तर आफूलाई उक्त सामान सुन नै हो भन्ने थाहा नभएको उनको दाबी छ ।

फ्लाई दुबईको जहाजमार्फत् गत पुस १० गते चिनियाँ नागरिक लि होसाङले सुटकेशमा लुकाएर भेपभित्र सुन ल्याएका थिए। सुनले भरिएको उक्त सुटकेश संकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो।

भन्सारले पासपोर्टसमेत लिएर चिनियाँ नागरिक होसाङलाई छाडेको थियो। भोलिपल्टै चिनियाँ नागरिक होसाङले आफ्नो पासपोर्ट फिर्ता लिएर उनी स्वदेश फर्किका थिए। सुन ल्याउने समूहका अर्का चिनियाँ दाओजिङ वाङ पनि थिए। उनै वाङसँग महराका बाबुछोराको फोन सम्पर्क भएको देखिएको थियो।