देउराली सहकारीद्वारा ७ अर्ब ठगी, अध्यक्ष रवीन्द्र चौलागाई पक्राउ

दियो पोस्ट  

काठमाडौं । सर्वसाधारणको करोडौं रुपियाँ निक्षेप हिनामिना गरेको आरोपमा देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाई पक्राउ परेकाछन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले चौलागाईंलाई मंगलबार साँझ लाजिम्पाटबाट पक्राउ गरेको हो ।

ललितपुरको सातदोबाटोमा रहेको देउराली बहुउद्देश्यीय सहकारीले सर्वसाधारणलाई ठगी गरेको भन्दै अनुसन्धान गर्न सहकारी विभागले सीबीआईलाई गत असारमा पत्राचार गरेको थियो । निक्षेपकर्ताबाट पनि उजुरी परेपछि चौलागाईलाई सीबीआईले खोजी गरिरहेको थियो । लामो समयदेखि फरारका चौलागाईलाई विशेष सुराकीका आधारमा मंगलबार पक्राउ हो ।

चौलागाईंले सीबीआईलाई दिएको प्रारम्भिक बयानमा आफूले ४० करोड रुपियाँ जति तिर्न बाँकी रहेको बताएका छन् । तर, उनी ७ अर्ब रुपियाँभन्दा बढीको आर्थिक अपचलनमा मुछिएको स्रोतको भनाइ छ ।

चौलागाईंको समूहले देउराली सहकारीको पाँच वर्षसम्म लेखापरीक्षण र साधारण सभासमेत नगरी सर्वसाधारणबाट ३ अर्बभन्दा बढी रकम संकलन गरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको स्रोतले जनाएको छ । सर्वसाधारणसँग उठाएको रकमले निजी जग्गा खरिद गरेको र त्यसबाट करिब ४ अर्ब रुपियाँ ऋण लिएर अपचलन गरेको आरोपसमेत चौलागाईंमाथि रहेको छ । राजनीतिक शक्ति केन्द्रसँगको सम्बन्धका कारण अनुसन्धानबाट जोगिँदै आएका उनलाई ललितपुर जिल्ला अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको छ ।

काभ्रेको कात्तिके देउरालीका चौलागाईंले २०७१ सालमा देउराली बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरेका थिए । सातदोबाटोमा मुख्य कार्यालय रहेको सहकारीले न्युरोड र भक्तपुरको सूर्यविनायकमा पनि सेवा केन्द्र खोलेर २० हजार जनाभन्दा बढी व्यक्तिबाट रकम संकलन गर्दै आएका थिए ।

सिफारिस