गौशालास्थित ‘क्युबिक क्लब’मा लापरबाहीको हद : कुकमाथि खुकुरी प्रहार, संचालकलाई उन्मुक्ति !

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको गौशालास्थित एक रात्री क्लबमा हतियारसहित व्यक्तिहरु प्रवेश गर्ने गरेको खुलेको छ । धारिलो हतियारसहित व्यक्ति प्रवेश गरेर कामदारमाथि नै आक्रमण गरेको घटना सार्वजनिक भएको हो ।

 

गौशाला चोकस्थित ‘क्युबिक क्लब’मा खुकुरीसहित प्रवेश गरेका एक व्यक्तिले क्लबमै काम गर्ने कामदारमाथि आक्रमण गरेका छन् । घटना गत भदौ ५ गतेको हो । कामनपा ९ गौसाला चौकैमा रहेको लोकनाथ गौतमको घरमा सञ्चालित उक्त क्लब माधव खतिवडाको हो । खतिवडाले भाडामा लिएर संचालन गरेको यो क्लब भित्रको घटना प्रहरी र सरकारी वकिलको मिलेमतोमा तोडमोड पारि अभियुक्तलाई उन्मुक्ति दिइएको समेत खुलेको छ ।
कुकको का मगर्दै आएका लक्ष्मण खवासमाथि गत साउन १६ गते आक्रमण भएको थियो ।

नरेन्द्र हमाल नाम गरेका व्यक्तिले राती करिब ३ बजे अश्लिल शब्द बोल्दै टाउकोमा सिसाको ग्लासले प्रहार गरेको र लुकाएर ल्याएको धारिलो हतियार खुकरीले प्रहार गरेको जाहेरी दिएका थिए । खुकुरी प्रहारबाट आफ्नो टाउको र चिउँडो समेत काटिन गएको उनले जाहेरीमा उल्लेख गरेका छन् । घटनापछि तत्काल उनलाई काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल पठाइएको थियो । खुकुरी नै लिएर आक्रमण गरेको जाहेरी परेपनि क्लब संचालक खतिवडाले भने सिसाको प्रहार भन्दै आफ्नो कमजोरी लुकाउने कोशिस मात्रै गरेनन् । आफ्नै क्लबमा कार्यरत कुकमाथि सिसाले मात्रै प्रहार भएको बयान दिएर आक्रमणकारीलाई उन्मुक्ति दिएका छन् ।

यता खुकुरी प्रहार गर्ने हमालले प्रहरी र सरकारी वकिल समक्ष दिएको बयानमा आफ्ना साथीमाथि आक्रमण भएपछि आफूले प्रतिकार गरेको बताएका छन् । जाहेरकर्ताले आफूमाथि खुकरी प्रहार भएको बताएपनि क्लब संचालक माधव खतिवडाले भने उक्त दिन सिसाको ग्लासले मात्रै लागेर घाइते भएको बयान प्रहरी समक्ष दिएका थिए । ‘निज भाईको छोराको देहावसान भएका कारण गृह जिल्ला मोरङ्गमा गएकोले निज हाल यस कार्यालयमा उपस्थित हुने अवस्था छैन,’ उनले बयानमा भनेका छन् ।

जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार क्लब भित्र हतियार लिएर गएको पुष्टि भए क्लब संचालक समेत कारबाहीको भागिदार हुनुपर्छ । तर, गौसाला प्रहरीले क्लब संचालकलाई उन्मुक्ति दिएर मुद्दा अभियोजन गरेको छ ।