इजरायल आक्रमण: १२ नेपाली सम्पर्क विहीन

जरायल आक्रमण:

दियो पोस्ट  

काठमाडौं । इजरायलको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थीहरू सम्पर्क विहीन भएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संसद्लाई जानकारी गाराउदै दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेर अध्ययनरत १२ जना नेपाली विद्यार्थीहरू सम्पर्कविहीन भएका बताएका हुन् । सो स्थानमा १७ जना विद्यार्थीहरू रहेकामा दुई जना सकुशल अवस्थामा रहेका, तीन जना घाइते भई स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जना सम्पर्क विहीन भएकाले उनीहरूको अवस्थाको यकिन गर्न नसकिएको जानकारी जनाए । उनीहरूको अवस्था यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको मन्त्री साउदको भनाई छ ।

उनका अनुसार आज नै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको र सो संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरू गरिने छ ।

इजरायलमा हाल चार हजार पाँच सय नेपालीहरू केयर गिभरको रूपमा कार्यरत रहेका थिए । यस्तै, २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत गएकामध्ये कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना रहेका थिए । । सम्पर्क विहीन हुनेहरूमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएकाहरू रहेको खुलेको छ ।