सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पत्नी सुप्रियाको आक्रोश– ‘राजनीतिक पहुँचका भरमा निर्दोष फसाउने ?’

दियो पोस्ट  

काठमाडौं । चलचित्र ‘प्रसाद २’ प्रकरणमा श्रीमान् सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पत्नी सुप्रिया कट्‍वालले आक्रोश पोखेकी छन् ।

देशमा पहुँच हुनेले जे गरे पनि हुने भन्दै उनले फेसबुकमा लेखेकी छन्, ‘प्रहरीले जाहेरीमा समेत प्रमाण नदेखेपछि सीधै सरकारी वकिलमार्फत् गएर राजनीतिक पहुँचका भरमा पक्राउ पुर्जी जारी गर्ने ? न्यायालयको त विश्वास छैन, कसको विश्वास रह्यो र ? पारिश्रमिकमा काम गर्ने निर्देशक, सम्पादक र आफ्नो लगानीले डिजिटल राइटस् लिने कम्पनी सञ्चालकजस्ता निर्दोष मान्छेलाई फसाउने ?’

उनले राजनीतिक शक्तिको चरम दुरुपयोग भएको भन्दै मुख्य नाइकेलाई पक्रेर अगाडि ल्याउन चुनौती दिएकी छन् ।

निर्देशक थापाविरुद्ध आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ । जाहेरीलगत्तै पक्राउ पूर्जी जारी गरिएको छ । यो घटनामा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् ।