दोहोरो नागरिकता लिनेसँग गोरखाका सहायक सिडिओ रानाको साँठगाँठ, सुचना लुकाएर बार्गेनिङ्ग !

दियो पोस्ट  

काठमाडौं । विभिन्न नाममा तीन वटा भन्दा बढी नागरिकता र राहदानी बनाउने एक अभियुक्तसँग जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकारीहरुको रहस्यमयी साँठगाँठ देखिएको छ ।

दियोपोस्टले उक्त तथ्य जानकारी पाएपछि ती व्यक्तिको नागरिकताको प्रमाणित प्रतिलिपी माग्दै जिल्ला प्रशासन कार्यालय गोरखामा निवेदन दिएको थियो । तर, सुचना अधिकारी पुष्कर रानाले शुरुमा सुचना दिने बताएका थिए । त्यसरी नागरिकता बनाउने व्यक्तिबारे जानकारी पाएपछि उनले रहस्यमयी रुपमा सुचना लुकाएका छन् । त्यतिमात्रै होइन नेपालको संविधानमा उल्लेख नै नभएको विषय उल्लेख गरेर सुचनाको हकलाई समेत कुण्ठित गरेका छन् । स्रोतका अनुसार उपसचिव पदमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका रानाले त्यसरी नागरिकता किर्ते गर्नेसँग सम्पर्क गरेर मोटो रकम हात पारेपछि सुचना लुकाएका हुन् ।

यसरी सुचना लुकाउँदा नागरिकता किर्तेमा समेत उनको संलग्नता हुनसक्ने आशंका बढेको छ । नेपालको संविधानको धारा २७ मा हरेक नागरिकलाई सुचनाको हक हुने उल्लेख छ । कानुन बमोजिम गोप्य राख्नु पर्ने सुचना भने कसैलाई पनि दिनुपर्ने बाध्यता हुँदैन । जसलाई संविधानले धारा २८ मा गोपनियताको हकमा सुरक्षित गरेको छ । कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषय गोपनियताको कानुन बमोजिम बाहेक अनतिक्रम्य हुनेछ भनि संविधानमा लेखेको छ । तर, संविधानमा दोहोरो र किर्ते नागरिकताको विषय गोप्य राख्नुपर्छ भनि उल्लेख गरेको छैन ।

सुचना अधिकारी रानाले यही कानुनलाई दुरुपयोग गरेर किर्ते नागरिकताको विषय लुकाएका हुन् । त्यस्तै उनले सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ को उपदफा ३ (ङ) लाई समेत आधार बनाएर सुचना लुकाएको छन् ।

उक्त दफामा पनि व्यक्तिगत गोपनीयता र व्यक्तिको जीउ, ज्यान, सम्पत्ति, स्वास्थय वा सुरक्षामा खतरा पुर्याउने सुचना मात्रै गोप्य राख्नुपर्ने उल्लेख छ । तर, किर्ते नागरिकता लिनेको सुचना लुकाउनुपर्छ भन्ने यो ऐनमा पनि उल्लेख गरेको छैन ।

चिठीमा तोक लगाउने प्रमुख प्रशासकीय अधिकृत चुडानिधि तिवारीलाई संविधानका उल्लेखित बुँदा र सुचनाको हक सम्बन्धी ऐनको दफा बारे प्रश्न गर्दा कुनै उत्तर दिन सकेनन् । ‘सहायक प्रमुख जिल्ला अधिकारीबाट जे आयो त्यसमा हस्ताक्षर गरेको हुँ । कानुनमा के छ मलाई थाहा छैन,’ उनले भने,‘यो विषयमा थप बुझौँला ।’

यता प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले भने आफूले भोली यस विषयमा बुझेर प्रतिक्रिया दिने बताए ।

किर्ते र दोहोरो नागरिकता बनाउनु फौजदारी अपराध हो । यस्तो अपराध गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाउँछ । नागरिकता बनाउन सघाउने र लुकाउने कार्यमा संलग्नमाथि समेत कारबाही हुने व्यवस्था छ ।