२५ करोड अपचल गर्ने गरुड सहकारीका अध्यक्ष खड्का दम्पति पुर्पक्षका लागि थुनामा

दियो पोस्ट  

काभ्रे । सहकारीबाट करोडौं रकम अपचल गरेको आरोपमा संस्थाका अध्यक्षसहित एक दम्पतिलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । काभ्रेको बनेपा नगरपालिका–१० मा रहेको गरुड बचत तथा ऋण सहकारी संस्थाबाट २५ करोड अपचल गर्ने संस्थाका अध्यक्ष बासुदेव खड्का र उनकी श्रीमती प्रतिमा आचार्यलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

अध्यक्ष खड्कालाई गत असोज १ गते जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको थियो । अदालतका प्रमुख जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासल उनीसहित पक्राउ परेका पाँच जनालाई पनि पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

खड्कासहित श्रीमान–श्रीमती मिलेर बचतकर्ताहरुको रकम हिनामिना गरेको भए पनि कानूनी र कागजी रुपमा संस्थामा संलग्न भएका आधारमा पक्राउ परेका अन्य तीन जनालाई पनि अदालतले थुनामा राख्न आदेश दिएको छ भने बाँकी ८ जना फरार रहेका छन् । प्रहरीले १३ जनाको संलग्नता रहेको बताउँदै ठगी मुद्दा दर्ता गरेको थियो । संस्थाका सदस्य बच्चुराम विष्ट, ब्यवस्थापक रामगोपाल थापा र पुर्व ब्यवस्थापक राजिव विष्ट अहिले पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सहकारीका उपाध्यक्ष बेदप्रसाद सिग्देल, कोषाध्यक्ष राजेश श्रेष्ठ, सचिव सलिना थापा र सदस्य दिपाकुमारी आचार्य छन् । त्यस्तै लेखा अधिकृत विदुर थापा, कर्मचारी अनु भण्डारी, कर्जा सहायक समुन सिग्देल र सेवा केन्द्र प्रमुख सरिता दाहाल फरार छन् । खड्का दम्पतिमाथि सहकारीका कर्मचारी तथा संचालक कसैलाई पनि जानकारी नदिई एकलौटी रुपमा रकम हिनामिना गरेको आरोप छ ।

                                                                              ०००
बचतकर्ताहरुले रकम फिर्ता मागेपछि फरार भएका अध्यक्ष खड्काले त्यहि अवधिमा श्रीमतिसँग सम्वन्ध विच्छेद गरेको नाटक गरेर ५ करोड बराबरको सम्पति दिएको खुलासा भएको छ । ५२ जना बचतकर्ताहरुले दिएको उजुरीका आधारमा खड्का पक्राउ परेका थिए । गरुड लगायतका अन्य सहकारीका बारेमा पनि अनुसन्धान भईरहेको उनले बताए । गरुड बचत तथा ऋण सहकारी संस्था लिमिटेड डिभिजन सहकारी कार्यालयमा २१८७ नम्वरमा दर्ता छ । उक्त सहकारीमा बचत गरेको रकम समयमा फिर्ता नभएको भन्दै केहि महिना अघि देखि बचतकर्ताहरु आन्दोलित थिए ।

नगरपालिका, जिल्ला प्रहरी, जिल्ला प्रशासन, प्रदेश र संघको सहकारी विभागमा समेत उनिहरुले उजुरी गरेका थिए । ५२ जना बचतकर्ताको लिखित उजुरी पछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको थियो । त्यतिबेला संस्थाका अध्यक्ष बासुदेव खड्का फरार थिए । उजुरी गर्ने बचकर्ताहरुको ४ करोड ९२ लाख ४ हजार २ सय ६८ रुपैया फिर्ता नगरेको उल्लेख छ । अहिले अन्य बचतकर्ताहरुले समेत दिएको उजुरीका आधारमा खड्काले १० करोड जति बचत फिर्ता गर्नु पर्ने देखिएको छ भने १८ करोड भन्दा धेरै आफै अरुका नामको ऋण अपचलन गरेको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सिफारिस