माओवादी नेता युवराज चौलागाइँको आडमा भाई छविको मिटरब्याज आतंक : २ करोडको जग्गा खाने दाउ

दियो पोस्ट  

काठमाडौं । दाई माओवादीबाट बागमती प्रदेश सभा सदस्य तथा प्रदेश सांसद । दाईको आडमा भाईको मिटरब्याज धन्दा । तर, पीडितहरुले कुनै निकायमा उजुरी गर्न गए शक्तिमा रहेका दाइले फोन गर्ने र उल्टै पीडितलाई धम्काउने । करोडौँ पर्ने गाडी र महँगो फोन बोकेर आफूलाई सर्वहारा बताउँदै हिँड्ने माओवादी नेताको यो परिवारबाट दर्जनौँ व्यक्ति पीडित छन् । तर, सरकारमा भएको पार्टीका नेताको यो धन्दामा कसले लगाम लगाउने ?
रामेछाप २ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित युवराज चौलागाइँ र उनका भाई बताउने छविलाल चौलागाइँबाट पीडित भएका केही व्यक्तिहरुले दियोपोस्टमा सम्पर्क गरेका छन् ।

पीडितहरुका अनुसार उनीहरु दाजु भाईले महाबौद्धमा सिटि मार्केट सेभिङ्ग एण्ड को– अपरेटिभ नामक सहकारी मार्फत मिटरब्याजको धन्दा चलाएका हुन् । यसरी मिटरब्याज तिर्न नसक्नेहरुको घर जग्गा समेत हडप्ने गरिएको उनीहरुको गुनासो छ ।

यो सहकारीबाट पीडित भएका एक दर्जनभन्दा बढी छन् । तर, एक व्यक्तिले भने जिल्ला अदालत र उच्च अदालतमा मुद्दा नै हालेका छन् । कागजी रुपमा दाई युवराज कतै देखिँदैनन् । तर, जब पीडितहरुले कतै उजुरबाजुर गर्छन् त्यतिबेला मिलाउने नाममा धम्की दिन उनै युवाराज अघि सर्छन् । उनले मुद्दा मामिला नगर्न र मिलेर अघि बढ्न भन्दै सुझाव दिने र अन्तिममा सहकारीका छविलालले लिलामी निकाल्ने नाममा पत्रिकामा सुचना निकालेर सम्पत्ति हडप्ने गरेको पीडितहरुको गुनासो छ ।

ईटहरी घर भएका एक व्यक्तिले उक्त सहकारीबाट ४० लाख रुपैयाँ निकाले । विभिन्न समयमा ब्याज सावाँ गरि उनले ७ लाख भन्दा बढी रकम बुझाए । तर, आफूले बुझाएको यतिका रकम हिसाबै नगरी २०८० जेठ १४ मा कर्जा तिर्न आउने ३५ दिने सुचना प्रकाशित गरियो । अचम्म त के भने ऋण दिँदा सिटि मार्केट सेभिङ्ग एण्ड को–अपरेटिभ मार्फत दिइएको छ । तर, पत्रिकामा सुचना भने बुद्ध सिटी बहुउद्देश्यीय सहकारीको नामबाट निकालिएको छ । यद्धपी मर्जर या अन्य कुनै नाममा नाम फेर्न पाइने व्यवस्था भने रहेको छ ।

‘मेरो दुई करोड मुल्य पर्ने जग्गा खान पुरै प्रपञ्च गरिएको छ । विभिन्न समयमा छलफलमा गएको छु । युवराज चौलागाइँलाई पनि भेटेको छु । तर, मैले न्याय पाइएको छैन,’ उनले भने,‘मैले लिएको ४० लाख हो । ५० लाख रुपैयाँ तिर्छु भनेको छु । तर, उनीहरु ७० लाख रुपैयाँ मागेका छन् । त्यतिमात्रै होइन सहकारी विभागमा छलफल भएको छ ।’

सहकारी विभागले सन्दर्भ व्याजदर निर्धारण गरेको छ । १४ प्रतिशतभन्दा बढी ब्याज लिन पाइँदैन । तर, यो सहकारीले भने ती पीडितलाई १९ प्रतिशत ब्याज लगाएको छ । ब्याजको स्याजमा समेत फेरी ब्याज लगाएर ३६ प्रतिशत भन्दा बढी हिसाब गरि सहकारी विभागमा पेश गरेपछि विभागले समेत कारबाही अघि बढाएको थियो । दियोपोस्टलाई प्राप्त स्टेटमेन्टमा १९ प्रतिशत ब्याज उल्लेख छ । २ प्रतिशत जरिवाना र एक प्रतिशत नविकरण शुल्कको नाममा समेत मिटर ब्याज लगाइएको पीडितको भनाई छ । मालपोत कार्यालय काठमाडौंमा दर्ता श्रेष्ता कायम करिब चार आना जग्गा हत्याउन सहकारीका अध्यक्ष छविलाल चौलागाइँ लागि परेका पीडितको भनाई छ । जग्गा लिलामीमा पर्ने भएपछि पीडितले जिल्ला अदालत काठमाडौंमा हरहिसाब एकिन गरि करारीय दायीत्व पुरा गरिपाउँ भन्दै मुद्दा परेको छ । त्यस्तै उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा दायर भएको छ ।

अत्याधिक चर्को मिटरब्याज लिएको भन्दै सहकारी विभागले उक्त सहकारीलाई सचेत गराएको समेत पीडितहरुले बताएका छन् । अर्का एक पीडितका अनुसार सहकारीका अध्यक्ष चौलागाइँले आफूलाई माओवादीको नेता हुँ भन्दै धम्की दिँदै आएका छन् ।

यस विषयमा प्रतिक्रिया लिन माओवादी नेता युवराज चौलागाइँलाई दियोपोस्टले सम्पर्क गरेको थियो । उनले दियोपोस्टलाई दिएको वार्ता जस्ताको तस्तै :

छविलाल चौलागाइँ तपाईंको को पर्नुहुन्छ ?

चौलागाइँ : किन भन्नु त ।

उहाँ सिटि मार्केट सेभिङ्ग नामक सहकारीको अध्यक्ष हुनुहुँदो रहेछ । उहाँ तपाईंसँग सम्बन्धीत हो ?

चौलागाइँ : तपाईं मिडियाबाट भन्नुभो व्यक्तिगत कुरा गर्नुहुँदैन ।

तपाईं त बागमती प्रदेश सांसद वा सार्वजनिक व्यक्ति होइन र ?

चौलागाइँ : नातागोतामा जानु भो नी त ।

उक्त सहकारीमा तपाईंको नाम जोडिएको छ नी ?

चौलागाइँ : मेरो नाम के जोडिएको छ र ?

तपाईं उक्त सहकारीमा सम्बन्धित हुनुहुन्न ?

चौलागाइँ : छैन म के सम्बन्धित हुनु । केही पाउनुभो र त्यस्तो ।

केही पीडितले उजुरी गर्दा तपाईंले भेट्ने र मिलाउने कोशिस किन गर्नुभयो ?

चौलागाइँ : तपाईंले भनेको मैले बुझीसकेँ । त्यो निरौलाको कुरा होला । त्यही कुरा हो ? अरु त्यही हो । अरु छैन । तपाईंले भन्न खोजेको के ?

त्यही सहकारीबाट धेरै पीडित हुनुभएको रहेछ । तपाईंको नाम समेत आएको छ नी ?

पीडित भए कानुनी हिसाबले मुद्दा मामिला गर्ने । आफ्नो अधिकार स्थापित गर्ने । मेरो त्यसमा केही संलग्नता छैन । छबिलाल भन्ने मेरो गाउँको चिनेको भाई हो । एउटा मान्छेले समस्या पर्यो भन्न आएको थियो । उसले आफ्नो कुरा अदालतमै भनिसकेको रहेछ । अदालतले जे भनेको छ त्यही अनुसार गर्छौं भनेका छन् उनीहरुले । त्यसबारे अरु केही छैन । अरु केही छ भने तपाईंले सम्झाइदिनुस् ।

सिफारिस