छुट्टाछुटै ठाउँबाट जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँबाट जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । ओखलढुंगामा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जिल्लाको खिजिदेम्बा गाउँपालिका–३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पा रहेका छन् । शेर्पाले ती महिलालाई असोज १९ गते साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी झापामा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको शिवसताक्षी नगरपालिका–५ आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरिया रहेका छन् । ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित धानबारीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।