छुट्टाछुटै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–५ कुमाल टोलस्थित सडकमा ग.२१ प ४२९० नम्बरको स्कुटर र ध.१ प ८३२४ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा ग.२१ प ४२९० नम्बरको स्कुटरमा सवार एक जनाका मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका–४ पुरानो बजार बस्ने १९ वर्षीया आशिका बोहरा रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । दुवै स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बाँकेको खजुरा गाउँपालिका–७ जेठी नालास्थित सडकमा ना.४ ख ६५१ नम्बरको स्कुल बस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खजुरा गाउँपालिका–६ सिमलघारी बस्ने बसन्ती नेपालीको छोरा १२ वर्षीय दिप नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ६ जना मध्ये सोही अस्पतालमा उपचार पश्चात ५ जना डिस्चार्ज भएका छन् भने १ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगंज पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बाराको निजगढ नगरपालिका–९ स्थित सडकमा सु.प.प्र.०१–००१ख२७३७ नम्बरको ट्रकले प्र.२–०३–००४ प ५१८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट गुजरा नगरपालिका–३ सिमरी बस्ने ३० वर्षीय ईश्वर राई रहेका छन् ।ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक प्रसुती अस्पताल निजगढ हुँदै बयोधा अस्पताल वीरगंजमा थप उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बाराको जितपुरसिमारा उपमहानगरपालिका–९ छातापिपरामा ना.६ ख २०९२ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भएका सोही ठाउँस्थित फ्याक्ट्रीमा काम गर्ने राजेश सिंह रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोद्धा अस्पताल वीरगंजमा उपचारको क्रममा सोमबार राति भएको हो । ट्रकलाई नियन्त्रणमा लिई हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी मोरङको रतुवामाई नगरपालिका–८ ईटहरा बजारस्थित सडकमा को.२६ प ४२७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ बस्ने ३२ वर्षीय सुरेन्द्र श्रेष्ठ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।