भरत महर्जन फरार भएपछि दशैंको मुखमा सुमेरु सहकारीबाट पीडित बचतकर्ताको ‘हरिबिजोग’ !

दियो पोस्ट  

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैंको रौनकता छ । काठमाडौं सुनसान बनिसकेको छ । तर, फूलपातीको दुई दिनअघि काठमाडौंको कालिमाटीस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्था अगाडी सयौँको भिड थियो । आफूले बचत गरेको रकम नपाएको भन्दै बचतकर्ताहरुको भिड लागेको हो । तर, सहकारीका अध्यक्ष भरत महर्जन फरार भएपछि अहिले त्यहाँबाट पीडित हुनेहरुको यस वर्षको दशैं पनि आर्थिक अभावमै गुज्रनुपर्ने भएको छ ।

संस्थाको कालिमाटी शाखामा विगत ६ दिनदेखि सुमेरु ग्रुपको सम्पति बेचेर बचत कर्तालाई रकम फिर्ता दिने भन्दै प्रतिव्यक्ति १० र १० हजार मात्रै दिएर टार्ने काम गर्दै आएको छ । बचतकर्ताहरु लाइन लागेको ७ दिन भइसक्यो । तर, लाखौं रकम बचत गरेका उनीहरुले दशैको मुखमा फिर्ता रकमका नाममा १० हजार मात्रै भएका छन् । विहानै ८ बजेदेखि बेलुका ४ बजेसम्म लाइनमा बस्दै आएका केही बचतकर्ताले उक्त रकम पाउँछन् भने, केही रित्तै घर फर्किन्छन् ।

विगत ५ वर्षदेखि गोतमलाल रन्जितकारले उक्त सहकारीमा रकम बचत गर्दै आएका छन् । दुःख सख गरेर कमाएको पैसा उक्त सहकारीमा जम्मा गर्दै आएका उनले २ लाख रकम फिर्ता पाउने पर्नै हो । सहकारीले १० हजार मात्रै फिर्ता दिने भएपनि विहानैदेखि लामो लाइनमा बसेका थिए । दशैको मुखमा त्यही रकम भएपनि अलिकति खर्च धान्न पुग्ने मनसायले उनी यसरी लाइनमा बसेको बताउँछन् । तर आज उनको पालो नआएपछि भोलि आउने आउने भन्दै रित्तै घर फिर्कीए । उनले भने, “२५ गते रकम फिर्ता दिन्छु भनेर हामीलाई चिट(टोकन) दिएको थियो । त्यसकै आधारमा यहाँ आउँदा १० हजार मात्रै दिने भन्ने कुरा थाहा भयो । १ दिनमा ७० जनालाई मात्रै दिने भन्ने सनेको थिए । सायद त्यही भएर होला आज मेरो पालो आएन । अब भोलि आउँछ कि !”

उनीसँगै लाइनमा बसेका काठमाडौंको तहाचालका चेतबहादुर बस्नेत पनि आफ्नो रकम फिर्ता पाउने अपेक्षामा विहान देखि लाइनमै बसिरहेका छन् । उनले विगत ११ वर्षदेखि उक्त सहकारीमा रकम बचत गर्दै आएका थिए । उनले १ लाख ५० हजार फिर्ता लिनु पर्ने छ । “मेरो त्यही एक डेढ लाख छ । तर यहाँ १०, १० हजार दिइराखेको छ भन्ने थाहा पाएर त्यही भएपनि लिउँ भनेर आएका हौं ।” उनले भने,“ तर आज पाइएला जस्तो चाँहि छैन । विहान ८ बजेदेखि लाइनमै छौं । अहिलेसम्म दिन्छु दिन्छु भनेर राखिरहेको छ ।”

१० हजार नै भएपनि उनी लिन आएका हुन् । तर अन्त्यमा भित्रबाट “पैसा सकियो नपाएकाहरु भोलि आउँनुस्” भन्ने सुनिएपछि भोलि विहान ६ बजे आउँने भन्दै उनी घरतिर लागे ।

विगत १५ वर्षदेखि सुमेरु सहकारीमा आफ्नो रकम जम्मा गर्दै आएका काठमाडौंको ताहाचालका रमेश महर्जनको उक्त सहकारीबाट ६५ लाख फिर्ता लिनु छ । “मेरो फिर्ता आउँने पैसा त ६५ लाख छ । मैले लिएको हुँ १० हजार । अब त्यत्रो रकम लिनु छ यो १० हजार मात्रै पाइयो । यही भएपनि लिउँ भनेर लिइयो । बाँकी रकम कहिलेसम्म दिने हो थाहाँ छैन ।” महर्जनले भने,“ २५ गतेबाट यसरी रकम बाँडेको हो । तर यो व्याज होकी? सावाँ होकि ? दशै खर्च हो कि केही बुझ्न सकिएको छैन। सम्पति बेचेर फिर्ता गर्ने कुरा छ रे तर बिक्रि नभएका कारण व्यवस्थापन गर्न नसकेको होला।”

यस्तै काठमाडौंको डल्लु घर बताउने सरिना श्रेष्ठ पनि विहानदेखि खाना नै नखाई लाइनमा बसकी थिइन् । उनले यो सहारीबाट १७ हजार फिर्ता पाउँनु छ । तर विहानदेखि लाइनमा बसिरहेकी श्रेष्ठलाई आज रकम नपाइने बल्ल थाहा भयो । “अस्ति दिनभरि बसेर गएको फेरि आज वहानदेखि खाना नखाई बसेको हो । तर अहिले आएर पैसा सकियो भन्छ ।”उनले भनेन्,“पैसा पाइन्छ भनेर लाइनमा बसायो हामि भित्र गयौं त्यहाँ पनि लाइन बसाएर १०,१५ जना जतिलाई दियो होला अनि त्यसपछि पैसा सकियो भन्दियो । आज पनि रित्तै घर फर्किनु पर्याे । यसै त पूरा पैसा छैन । त्यसमाथि यति धेरै सास्ति दिएर हैरान भयो ।”

आफ्नो स्थायी घर चितवन बताउने सिता सुवेदी ४ दिन देखि लाइनमा छिन्। विहानै आउँने आफ्नो रकम फिर्ता पाउने आसमा दिनभर लाइनमा बस्ने अहिले उनको दैनिकी जस्तै भएको छ । उनले पाउँनु पर्ने आफ्नो रकम ५ लाख हो । तर १० हजार मात्रै भएपनि लिउँ भनेर उनी पनि यो भिडमा सामेल हुँन्छिन् । तर दिन ढल्किदै गएपछि रित्तो हात घर फर्किन्छिन् ।
उनी भन्छिन्“म ४ दिनदेखि यसरी लाइनमा आएर कुरिरहेकी छु । लिनु पर्ने पैसा ५ लाख छ । तर यहाँ पाउँनु पर्ने पैसा जति लाख भएपछि १० हजार मात्रै दिने भन्ने कुरा छ । दिन भरि कुरेर लास्टमा पालो नै आउँदैन । आज पैसा सकियो भन्छिन्।”
आज आफ्नो पालो आउँछ भन्ने अपेक्षामा ४ दिन देखि लाइनमा बसेकी सीताको पालो आज पनि आएन । अब फेरि भोलि आउँने भन्दै फर्किइन् ।
केही कर्मचारीद्वार उक्त सहकारीले बचतकर्तालाई घटौं लाइनमा राखेर सिमीत मात्रामा रकम फिर्ता गर्दै आएको छ ।

विभिन्न सञ्चार माध्यमममा सहकारीका सञ्चालक भरत महर्जन लगायतका सञ्चालकहरु विदेश भागेको विषय आएपनि उनीहरु नभागेको सहकारीको दाबी छ । सो सहकारीले सर्वसाधारणको झण्डै ८ अर्ब रुपैया बचत रकम फिर्ता गर्न नसकेको बुझिएको छ । सुमेरु समूहले सहकारीका सदस्यको रकम सुमेरू हस्पिटल, कलेज, घरजग्गा लगायतका क्षेत्रमा लगानी गरेको बताइएको छ । यो विषय सहकारीले पनि स्वीकार गरेको छ ।