मुगु सामूहिक हत्या प्रकरण : कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

हत्यारा नजिक पुगेको प्रहरीको दाबी

दियो पोस्ट  

मुगु । चार दिन अघि मुगुमा चार जनाको बीभत्स रूपमा सामूहिक हत्या भयो । शुक्रबार जिल्लाको छायानाथ रारा नगरपालिका– ६, मुन्दु गाउँमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज, आठ महिनाका रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको हत्या गरेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन चारै जनाको शव जिल्ला अस्पताल मुगुमा ल्याइएको छ ।

घटनास्थल मुगु सदरमुकाम गमगढीदेखि पूर्व ४ घण्टाको दूरीमा छ । पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएका आफ्ना श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागुञ्जेल शव नबुझ्ने अडान दीपकले लिएपछि पोस्टमार्टमसमेत हुन सकेको छैन ।

कात्तिक ८ गते बिहानदेखि ताला लगाएको देखेपछि छिमेकीले १० गते शुक्रबार बिहान ९ बजेतिर ढोका खोलेर हेर्दा चारै जनाको बीभत्स हत्या गरिएको अवस्थामा गाउँलेहरूले देखेका थिए ।

 हत्यारा नजिक पुगेको प्रहरीको दाबी !

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर सूक्ष्म अनुसन्धान गरिरहेको छ । अहिले सबै कोणबाट अनुसन्धान भइरहेको थापाकाे भनाइ छ। ‘अहिलेलाई यति भनौँ, हामी हत्याराको नजिक–नजिक पुगेका छौँ,’ प्रनाउ थापाले भने।

शनिबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत (हाल नेपालगञ्ज) बाट तालिमप्राप्त कुकुरसहित कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जुम्लाबाट प्रहरीको विशेष अनुसन्धान टोलीले घटनास्थलमा विभिन्न कोणबाट अनुसन्धान जारी राखेको छ ।

आइतबार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालसमेत घटनास्थलमा पुगेका थिए । केही व्यक्तिलाई घटनामा संलग्न भएको हुन सक्ने आशंकामा उच्च निगरानीमा राखेको प्रहरीले उनीहरूविरुद्ध बलियो प्रमाण भने जुटाउन सकेको छैन ।
अनुसन्धानमा प्रयोग गरिएका कुकुरले समेत घटनासँग समन्धित कुनै सुराक फेला पार्न सकेका छैनन् । यद्यपि, आइतबार एक शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ भने गरेको छ ।

परिचय गोप्य राखिएका ती व्यक्ति केही दिनयता मुन्दु गाउँमा पटक–पटक आउजाउ गरेको पाइएकाले नियन्त्रणमा लिएर सोधपुछ गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

घटनाको प्रकृतिअनुसार श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल फोन नभेटिनुले लुटपाट गर्ने उद्देश्यले हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ढोकामा नयाँ ताला लगाइएको तथा घटनापश्चात् कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपकलाई श्रीदेवीले प्रयोग गर्दै आएको मोबाइलको म्यासेन्जरबाट छोराछोरीको शवसहितको फोटो पठाएको खुलेको छ ।

मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन्। माइतीबाट टीका लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन्। सोही राति सामूहिक हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।

मृतकका श्रीमान् दीपक बोहोरा वैदेशिक रोजगारीका लागि  कतारमा थिए। घरमा श्रीमतीसहित छोराछोरीको हत्या भएको खबर पाएपछि शुक्रबार राति काठमाडौं आई उनी शनिबार मुगु पुगेका थिए।