धरापमा ग्लोबल आइएमई बैंकको ईन्टरनेट बैंकिङ्ग : ग्राहकको खाताबाट लाखौँ लाख चोरी !

दियो पोस्ट  

काठमाडौं । ग्लोबल आइएमई बैंकले छिटो, सहज र सुरक्षित भुक्तानीका लागि भन्दै ग्लोबल स्मार्ट नामक मोबाइल बैंकिङ्ग एप्स संचालनमा ल्याएको वर्षौं भयो । तर, यो बैंकले सुरक्षित भुक्तानी भनेर दाबी गरेपनि सर्वसाधरणको रकम शंकाष्पद रुपमा चोरी भएको घटना फेला परेको छ ।

बैंकको उच्च अधिकारीको चरम लापरबाहीका कारण सर्वसाधरणको लाखौं रकम चोरी हुँदा बैंक जिम्मेवार समेत बनेको छैन । ह्याकरको सहजै पहुँच हुने ग्लोबल आइएमईको ईन्टरनेट बैंकिङ्ग सबैभन्दा असुरक्षित रहेको फेला परेको हो ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ थानकोट घर भएका दिपक कुमार कार्कीको खाताबाट एकाएक चौध लाख रुपैयाँ चोरी भएपछि बैंकको लापरबाहीको हद फेला परेको हो । थानकोटस्थित शाखा कार्यालयमा रहेको उनको खाता नम्बर ०९००७०……६९४ बाट यतिका रकम चोरी भएको हो । उनले आफ्नो माेबाइल नम्बरबाट ईन्टरनेट बैंकिङ्गमा जिमेल प्रयोग गरेका थिए । सोही ईमेल मार्फत उनले रकम जम्मा गर्दै आएका थिए । २०७९ मंसिर २० गते उनको खाताबाट एकाएक १४ लाख रुपैयाँ सुनसरीको रामगञ्ज बेलगाछिया गाविस घर भएका पुरुषोत्तम रायको प्राइम कमर्सियल बैंकको खातामा ट्रान्सफर भएको छ ।

प्रहरीले रायलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । सरकारी वकिलले रायलाई फरार अभियुक्त बनाएर मुद्दा दायर गरेको छ । तर, खातामा पहुँच पुर्याउँदा र ग्राहकको रकम सुरक्षाको जिम्मा लिएको बैंकलाई भने कतै प्रतिवादी समेत बनाइएको छैन ।

पीडित कार्की दोलाखाबाट काठमाडौं आएर निर्माण कम्पनिमा काम गर्छन् । ‘मैले जीवनभर कमाएको पैसा त्यही हो । मेरो सम्पत्ति भनेपनि त्यही हो तर, त्यसरी जोडेको सम्पत्ति एकै झड्कामा स्वाहा भयो,’ कार्कीले दियोपोस्टसँग भने,‘यो समस्या लिएर बैंकको कर्पोरेट अफिसमा गएँ । तर, कुनै सुनुवाई भएन । मैले त तपाईंहरु प्रति नै शंका छ सम्म भनेँ तर, केही जवाफ आएन ।’

रकम चोरी भएको एक वर्षसम्म प्रहरीले समेत अभियुक्तलाई खोजी नगरेको पीडित कार्की बताउँछन् । शेयरको कारोबार समेत गर्ने उद्देश्यले कार्कीले ईन्टरनेट बैंकिङ्ग सक्रिय बनाएको उनको भनाई छ । ‘ईन्टरनेट बैंकिङ्गको पासवर्ड म सँग बाहेक बैंककै कर्मचारीसँग पनि हुने रहेछ । तर हाम्रो रकम सुरक्षण गर्ने बैंकले पैसा चोरी हुँदा भने कुनै सहयोग नै गरेन,’ उनले भने, ‘म धेरै धाएँ । म डिप्रेसनमा जाने गरि धाएँ । तर, बैंकले कुनै सहयोग गरेन सर ।’
पीडित कार्कीले अभियुक्त रायको परिवारलाई समेत प्रहरीको सम्पर्कमा पुर्याएका थिए । तर, प्रहरीले चासो नदिँदा अभियुक्त फरार छ ।

‘त्यो अभियुक्त सुनसरीको हो । म दोलखाको मान्छे । म एक्लै कहाँ खोज्न जाउँ । प्रहरीले पक्राउ पुर्जीको फोटो समेत खिच्न दिएन । प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सर्कुलर समेत गर्यो गरेन मलाई थाहा भएन,’ उनले भने,‘मेरो पावर पहुँचले नपुग्ने । प्रहरीलाई सोध्दा केही जवाफ आउन गाह्रो भो । सरकारी वकिल मार्फत केही हुन्छ की भन्ने आस छ ।’

बैंकबाट आफूलाई कुनै सरसहयोग समेत नभएको उनले बताए ।