काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पक्राउ परेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
कुशवाहाले सांसद विकास कोषको रकमबाट ३७ प्रतिशत कमिसन लिएको आरोप छ । यही मुद्धामा यसअघि पनि उनी पक्राउ परेर तारेखमा छुटेका थिए ।
विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम नीजि सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
सिंह यसअघि काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए । उनी जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(२) बाट निर्वाचित भएका थिए । उनी मधेश प्रदेशको पूर्वगृहराज्यमन्त्री समेत रहेका थिए ।