आमाको क्रुर हत्या गर्ने कडेलको बयान : ‘तैँले केही गर्दैनस् भनि हेला होचो भएपछि हत्या गरेँ’

दियोपोस्ट संवाददाता  

धादिङ । आफूलाई जन्मदिने आमाको हत्या गरेको अभियोगमा पक्राउ परेका धादिङको त्रिपुरासुन्दरी ५ कठेरीका याम बहादुर कँडेलले बाबु आमाले आफूलाई हेलाहोँचो गरेको बयान दिएका छन् ।
सरकारी वकिल कार्यालय धादिङमा उनले दिएको बयानमा आफ्नी आमाको हत्या गरेको स्विकार गरेका छन् । ‘मैले वैदेशिक रोजगारीमा मलेशिया रहँदा बस्दा आय आर्जनको काम गरेको रकम घरमा आमा बुबालाई पठाएकोमा मैले पठाएको रकम बुबा, आमाले घर खर्च गरिदिएको र संचित नगरिदिएको हुनाले बुबा, आमासँग मेरो मनमुटावको अवस्था रहेको थियो,’ कँडेलले बयानमा भनेका छन्,‘हाल म मोटरसाइकलमा काठमाडौं जिल्लाको विभिन्न स्थानहरुमा पठाओ राइैड तथा ट्रेकिङ गाईडको काम गरी आफ्नो जिविको पार्जन गर्दै आएको छु । मैले आय आर्जन गरेको रकमले मलाई नै खान बस्न खर्च हुने र दाजुहरुले विदेशमा बसि धेरै रकम आय आर्जन गर्ने हुनाले मेरो बाबु आमाले मलाई दाईहरुले बिदेशमा पैसा कमाउँछन्, तैँले केही गर्दैनस् भनि पटक पटक हेला होचो गर्ने गरेको हुँदा सो कुराबाट समेत मलाई बाबु, आमाप्रति रिस उठिरहेको थियो ।’

गत असोज १९ गते आफूले आमाको हत्या गरेको दिनको घटना विवरण समेत उनले सुनाएका छन् । ‘मिति २०८२ असोज १३ गते म काठमाडौंबाट धादिङस्थित आफ्नो घरमा आएपछि पुनः मेरो आमा बुबाले मलाई पैसाको विषयलाई लिएर कुरा गरिरहनु हुन्थ्यो । मिति २०८२।०६।१९ साँझ अन्दाजी २०ः३० बजेको समयमा म आफ्नो कोठामा सुत्न लागेकोमा आमाले मलाई तँ अर्को कोठामा गएर सुत भनि मेरो कपडाहरु म सुत्न लागेको कोठाबाठ अर्को कोठामा लगि दिएकाले विगतदेखिनै आमा बुवाले मलाई मानसिक दबाव दिइरहने हुँदा आमालाई खुँडा प्रहार गरि मार्ने योजना बनाई सुत्ने कोठामा रहेको फलामको हतियार खुँडा निकाली एक हातले फलामको खुँडा समातेँ भने अर्को हातले आमाको घाँटीमा प्रहार गरेँ ।’

क्रुर हत्या गरेको अभियोग लागेका उनले आमाको घाँटी नछिन्दासम्म २ पटक खँडा प्रहार गरेको र घाँटीदेखिको माथिल्लो भाग टाउकोलाई केही पर फालिदिएको उनको बयानमा उल्लेख छ । आमाको हत्यापछि कँडेलले बाबु गोप बहादुर कँडेलको गर्धनमा समेत खुँडा राखी विभिन्न अश्लिल शब्द प्रयोग गरी बुवालाई पनि मुक्का प्रहार गरेको बयान दिएका छन् । आमाको हत्यापछि नेपाल फर्किएका यामबहादुरका दाजु नारायण कँडेलका अनुसार हत्या अभियुक्त कँडेल बाल्यकालदेखि नै आक्रमक व्यहोरोका थिए । अभियुक्तका भान्जा नातापर्ने विपिन बस्नेतका अनुसार कँडेलले आमासँग पैसाकै विषयलाई लिएर झगडा गर्ने गरेका थिए । हत्या भएको दिन मृतक आमा राममायाँ कडेल साँझमा टिभि हेरिरहेका थिइन् । साँझ ८ बजेर ३० मिनेटमा खुँडा प्रहार गरेका थिए । प्रत्यक्षदर्शी समेत रहेका बस्नेतका अनुसार हत्या अभिुयक्त कँडेलले खुँडा प्रहार भने बुवा गोप बहादुर कँडेललाई गरेका थिए । तर, आमा राम मायाँले आफ्ना पतिको ज्यान बचाउनका निमित्त केही पर धकेलिदिएकी थिइन् । त्यसलगत्तै याम बहादुरले आमालाई २ पटकसम्म खुँडा प्रहार गरेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय धादिङले क्रुर हत्या अभियुक्त कँडेललाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) र संहिताको दफा ४१ देहाय (क) बमोजिमको कसुर गरेकाले जन्मकैद सजाय माग गरेर अभियोजन गरेको छ ।

जिल्ला अदालत धादिङका न्यायधीश राम प्रसाद शर्माको इजलाशले अभियुक्त कँडेललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जेनजी आन्दोलनका क्रममा प्रहरीसँग विवाद गरेर भाइरल भएका कँडेलका कारण केही संचार माध्यमले जेनजी पुस्तामाथि नै बद्नामी गरेका थिए ।

prabhu bank Add