मुटुलाई हाम्रो शरीरको ‘राजा’ मानिन्छ । मानव शरीरमा मुटु सबैभन्दा महत्वपूर्ण अंग हो । मुटु स्वस्थ हुँदा मानव शरीरका अन्य अंगसमेत स्वस्थ्य हुन्छ भन्ने बुझाई छ । मुटु बन्द भए मानवशरीरको स्वभाविक मृत्यु हुन्छ । राजधानीको बयोधा अस्पतालमा कार्यरत डा. कुनाल विक्रम शाह मुटु बचाउन आफ्नो दिनचर्यालाई ध्यान दिनुपर्ने बताउँछन् । हाम्रो शरीरको मुटु के हो ? मुटु स्वस्थ हुन के गर्नु पर्छ ? लगायत मुटुसम्बन्धी विभिन्न विषयमा डा. शाहसँग दियोपोस्टका लागि सृजना सुवेदीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
मटु भनेको के हो ?
मुटु भनेको हाम्रो शरीरको महत्वपूर्ण अङ्ग हो । यसले शरीरका अन्य अङ्गहरूमा रक्तसञ्चार गर्ने काम गर्छ । हाम्रो शरीरमा अशुद्ध र शुद्ध दुई किसिमका रगत हुन्छन् । कोषिकाहरूले प्रयोग गरिसकेको रगत अशुद्ध रगत हो । प्रयोग गरेको रगत फेरि फर्केर मुटुमा नैं जान्छ । मुटुले त्यही अशुद्ध रगत फोक्सोमा पठाउँदछ र शुद्ध रगत फोक्सोबाट ग्रहण गरेर शरीरमा भएको विभिन्न कोषिकाहरूलाई पम्प गरि पठाउँछ ।
शरीरमा भएका कोषिकाहरुलाई खाना चाहिन्छ । रगतको काम भनेको शरीरमा भएका हरेक कोषिकाहरूलाई खाना पु¥याउनु हो । यसले अक्सिजन अथवा विभिन्न खनिज पदार्थहरूलाई शरीरमा भएका कोषिकाहरुमा पठाउँछ । त्यही रगतबाट मुटुले लगातार रुपमा पठाएको अक्सिजन लगायतका खनिज पदार्थहरूले गर्दा हाम्रो शरीरमा भएका सबै कोषिकाहरू लामो समयसम्म बाँच्छन् । मुटु बन्द भएपछि कुनै पनि शरीरको अङ्गमा रक्तसञ्चार हुँदैन । रक्तसञ्चार नभएपछि ती कोषहरू मर्दै जाने हुन्छन् र मानवको स्वभाविक मृत्यु हुन्छ । यसरी हेर्दा मुटुलाई मानव शरीरको एक महत्वपूर्ण अङ्ग हो भनेर चिनाउन सकिन्छ ।
मुटु स्वस्थ्य राख्नलाई के–के गर्नुपर्छ ?
मुटु स्वस्थ राख्न विभिन्न उपाय अपनाउनु पर्छ । मानवको दिनचर्याले यसलाई निकै असर पार्छ । हामीले आफ्नो दिनचर्यामा व्यायाम वा अभ्यासलाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ । कम्तिमा दैनिक ३० मिनेट लम्किएर हिँड्नुपर्छ । अथवा सकिएन भने पनि कम्तिमा हप्तामा पाँच दिन त ३० मिनेट लम्किएरै हिँड्नुपर्ने हुन्छ । यसले गर्दा शरीरमा भएका सबै अङ्गहरूमा समान रूपमा रक्तसञ्चार हुन्छ । कोषिकाहरु स्वस्थ हुन्छन् । कालान्तरमा गएर मुटुसम्बन्धी रोग लाग्ने सम्भावना नै कम हुन्छ ।
अर्को हामीले खानपिनमा एकदमै ध्यान दिनुपर्छ । कोलस्टोल हाम्रो शरीरको लागि हानिकारक र फाइदा गर्ने दुवै प्रकृतिको हुन्छ । हाम्रो शरीरले विभिन्न खानाबाट कोलस्टोल प्राप्त गर्छ र प्राप्त गरेको कोलस्टोललाई प्रशोधन गरेर शरीरका विभिन्न अङ्गहरूमा थिग्रिनबाट बचाउँछ ।
चिल्लो बढी भएका खाना, रातो मासु, डिप फ्राइ गरेका खाना, जंक फुड आदिमा कोलस्टोलको मात्रा प्रचुर हुन्छ । धेरै कोलस्टोलजन्य खाना खाँदा त्यसलाई शरीरले प्रशोधन नगरेको खण्डमा मुटुका नशाहरूमा गएर जम्छ । नशाहरूमा कोलस्टोल जम्यो भने रक्तसञ्चारमा अवरोध आउँछ । मुटुलगायत विभिन्न अङ्गका नशाहरूमा पनि ब्लकेज (अवरोध) देखिन सक्छ । त्यसले दीर्घकालीन रुपमा गएर हेर्दा पक्षघात हुने अथवा हार्ट अट्याक (हृदयघात), मृगौला खराब हुने आदि हुन सक्छ । त्यसैले अनावश्यक चिल्लो पदार्थ, फ्राइ गरेका खाना, जंक फुड सकेसम्म खानु हुँदैन । स्वस्थ खाना खान जोड दिनुपर्छ । जति सक्दो धेरै हरियो सागसब्जी खाने, फलफूल दैनिक एकपटक खाने गर्नुपर्छ ।
किनभने हरियो सागसब्जी र फलफूलमा पोटासियम (राम्रो नुन)को मात्रा प्रचुर हुन्छ । पोटासियमले हाम्रो शरीरमा ब्लडप्रेसर सन्तुलन राख्न सहयोग गर्छ । फलफूलमा एन्टिअक्सिडेन्ट मात्रा हुन्छ । जसले कोषिकाको उमेर बढाउन मद्धत गर्छ । यसले कोषिकालाई बुढो हुनबाट पनि जोगाउँछ । कोषिकाको उमेर बढाउनका साथै समग्र रुपमा मुटुलाई स्वस्थ राख्ने काम गर्छ ।
त्यस्तै हाम्रो शरीरको लागि मुख्य शत्रु भनेको अम्मलहरू हो । आजकल धेरै युवाहरूलाई हार्टअट्याक भएको सुन्छौँ । यसको मुख्य कारण भनेकै हिजोआज युवाहरूमा बढेको लागुपदार्थप्रतिको चर्को मोह हो ।
चुरोटले हाम्रो मुटुको नशामा भएको भित्री परतलाई पातलो बनाइदिन्छ । यसले त्यो परत पातलो भएर फुट्ने सम्भावना बढी हुन्छ । जसको कारणले त्यहाँ गएर रगत जमेर हार्ट अट्याक हुने हुन्छ । यही कारणले हामीले चुरोट पिउन छोड्ने सक्दो प्रयास गर्नुपर्छ । चुरोट लगायतका अन्य कुनै पनि सुर्तीजन्य पदार्थकोे प्रयोग गर्नु मुटुको लागि घातक मानिन्छ ।
मदिराको अत्याधिक सेवनले पनि कालान्तरमा गएर मुटु सुन्निने हुन सक्छ । साथै यसले ब्लड प्रेसरलाई तलमाथि पार्ने गर्छ । कोलस्टोल बढाउँछ । यी सबै कारणले फेरि हार्ट अट्याक हुने सम्भावना बढ्छ ।
त्यसैले सुर्तीजन्य पदार्थ तथा मदिराहरू सकेसम्म सेवन नगर्ने र गरिहालेमा पनि आफूले सेवन गरेको मात्रालाई घटाउँदै लानुपर्छ । दैनिक खानेले हप्तामा एकपटक, तीन महिनामा खानेले छ महिनामा एकपटक गरेर कम गर्दै लानुपर्छ ।
दैनिक पुरुषले मदिरा ३० देखि ४० एमएल्भन्दा कम प्रयोग गर्नुपर्छ । मदिराको पुरुषको लागि लिमिट यति हो । महिलामा भने यो मात्रा अझै कम छ । उनीहरुले दैनिक १५ देखि २० एमएलसम्म मात्र प्रयोग गर्नुपर्छ । पुरुषको तुलनामा महिलाको शरीरलाई मदिराले धेरै असर गर्ने हुनाले महिलाले कम प्रयोग गर्नुपर्ने भएको हो ।
पछिल्लो समय मुटुसम्बन्धी रोगका मानिसहरु बढिरहेका छन् । कुन उमेर समूहका मानिसहरु मुटुका समस्या देखिएका छन् ?
मद्यपान, धुम्रपानको अम्मली धेरै नै भए सानै उमेरमा पनि मुटु रोग लाग्न सक्छ । ३०÷३५ वर्षमा पनि मानिसहरु हार्ट अट्याक भएर मर्ने गरेका छन् । कसैलाई ९० वर्षको हुँदासम्म पनि हार्टअट्याक हुँदैन । खानपान ख्याल नगर्ने, धेरै हिडडुल नगर्ने, शारिरीक अभ्यास हुने गतिविधि नगर्दा पनि मुटुमा समस्या देखिन सक्छ ।
यसकारण आफ्नो स्वास्थ्य परीक्षण वर्षको एकपटक गराउने, कोलस्टोल, ब्लडप्रेसर आदि नियमित चेक गराउनुपर्छ । ४५ वर्ष कटेपछि आफ्नो स्वास्थ्य नियमित परीक्षण गराए समस्या देखिए पनि समयमै निराकरण गर्न सकिन्छ । यसले गर्दा मुटुसम्बन्धी कुनै पनि रोग लाग्नबाट बच्न सकिन्छ । मुटुमा लाग्ने विभिन्न रोग उमेरको कारणले भन्दा पनि मान्छेको जीवनशैली र खानपानले गर्दा लाग्ने हुन्छ । ध्यान नपु¥याए यो जुनसुकै उमेरमा पनि लाग्न सक्छ ।
‘कार्डिएक्ट एरेस्ट’ पछिल्लो समय बढिरहेको देखिन्छ । यसको मुख्य कारण के होला ?
मुटु अचानक बन्द भएर बिरामीको मृत्यु हुने रोगलाई कार्डिएक्ट एरेस्ट भनिन्छ । मुटुको चाल गडबड भएर, हार्ट अट्याक भएर, मुटु एकदम कम चलेर वा मुटु चल्न बन्द भएर काडिक्ट एरेस्ट हुन्छ । कहिलेकहिले अरु अंगमा गडबडी भएर ती अंग चल्न छाडे मुटु पनि चल्न छाड्न सक्छ । समग्रमा भन्दा मुटु बन्द भएपछि हुने मृत्युलाई कार्डिक्ट एरेस्ट भनिन्छ । अपोरक्ष रुपमा अहिले भएको मानिसको असन्तुलित जीवनशैली तथा सडकमा बढ्दो धुलो धुवा तथा मानिसमा भएको बढ्दो अम्मलको प्रयोगले यो रोग बढेको हो । स्थायी मुटु रोग लागेकाहरुले नियमित रुपमा उपचार गरेमा र नलागेकाले मुटु रोग सम्बन्धि लक्षण देखेमा मुटु रोग विशेषक्ष्लाई भेटेर कार्डिएक एरेस्ट न्युनिकरण गर्न सकिन्छ ।
कार्डिएक्ट एरेस्ट र हार्ट अट्याकमा के फरक छ ?
सामान्यतया यी दुवै रोगलाई मानिसहरूले एकै जस्तो बुझे पनि दुवै फरक कुरा हुन् । हाम्रो मुटुमा एक विद्युतीय प्रणाली हुन्छ । यसले गर्दा मुटु चल्ने हुन्छ । त्यसमा गडबडी आयो भने मुटु अचानक छिटो चलेर एक्कासी बन्द हुन सक्छ । अथवा मुटु धेरै समयसम्म नचलेर वा बिस्तारै चल्ने हुँदा पनि हार्ट ब्लक हुन्छ । त्यस्तो बेलामा पनि कार्डिएक्ट एरेस्ट हुन सक्छ ।
हार्ट अट्याक भएर पनि कार्डिक्ट एरेस्ट हुन सक्छ । हार्ट अट्याक्ट कार्डिक्ट एरेस्टको एउटा कारण बन्न सक्छ तर कार्डिक्ट अरेस्ट नै भने होइन । हर्ट अट्याकमा मुटुको धमनी अचानक बन्द हुन्छ । बोसो फुटेर त्यहाँ रगत जमेर रक्तसञ्चार बन्द हुने गर्छ ।
कार्डिएक्ट एरेस्ट भइहाले तत्काल बचाउनको लागि के गर्न सकिन्छ ?
आजभोलि सिपिआर (कार्डियो पल्मोनरी रिसक्सिटेसन) भनेको कृत्रिम रुपमा मुखले श्वास दिने, मुटुलाई थिचेर मुटु लगायत शरीरका अन्य अंगहरुलाई चाहिने रक्त संचार प्रवाह गराई शरीरका मुटु लगायत अन्य कोषहरुलाई काम गर्तबाट जोगाउने हो । समयमै यस यन्त्रको प्रयोगले मुटुको चालको विद्युतिय गढबडीलाई ‘सक’ दिएर सच्याउने काम गरी विरामीको ज्यान बचाउन सकिन्छ । विमानस्थल जस्तै कुनैकुनै ठाउँहरूमा राखिएका हुन्छन् । समयमै यस प्रयोगले मुटुमा आएको विद्युतीय गडबडीलार्ई फेरि सामान्य बनाएर बिरामीको ज्यान बचाउन सकिन्छ ।
यी यन्त्रहरू उपलब्ध नहुने स्थानमा भए कार्डिक्ट एरेस्ट हुनेबित्तिकै मान्छेलाई बचाउन त्यही समयमा कृत्रिम रुपबाट मुखले श्वास दिने, मुटुलाई थिचेर मुटु लगायत शरीरका अन्य अंगहरुलाई चाहिने रक्तसञ्चार दिने गर्नुपर्छ ।
उच्च रक्तचापसँग मुटुको कस्तो सम्बन्ध छ ?
उच्च रक्तचापको मुटुसँग प्रत्यक्ष सम्बन्ध छ । म त उच्च रक्तचापलाई भगवानको बरदान नै भन्छु । यो सुन्दा अचम्म पनि लाग्छ तर यो एक किसिमको अर्लाम (पूर्वसङ्केत) हो । उच्च रक्तचाप हुनु भनेको अबचाहिँ तिम्रो शरीरको सिस्टमले राम्ररी काम गर्न छाडेको छ है, समयमै सजक हुन प¥यो भनेर आफ्नै शरीरले चेतावनी र संकेत दिएको हो ।
उच्च रक्तचापका बिरामीमा हार्टअट्याक बढ्ने जोखिम बढ्छ । मुटु, किड्नी फेल हुन सक्छ । दिमागमा रगत जमेर पक्षघात हुन सक्छ । यसरी हेर्दा उच्च रक्तचापको खाली मुटुसँग मात्र हैन शरीरका सबै महत्वपूर्ण अंगसँग सम्बन्ध हुन्छ ।
उच्च रक्तचाप ढोकामात्र हो । त्यो ढोका खुले त्यहाँबाट विभिन्न रोगहरू शरीरमा सजिलै भित्र जान सक्छन् । सुरुमै त्यो ढोका बन्द गर्दिन सके ती जटिल प्रकृतिका रोगहरु शरीरसम्म पुग्ने बाटो नै बन्द हुन्छ ।
मानसिक कारणले पनि मुटुमा केही असर पर्न सक्छ ?
मानसिक कारणले पनि मुटुमा असर पर्न नसक्ने होइन । तनावको कारणले मुटुको समस्या निम्त्याउन सक्छ । जीवनमा धेरै तनाव भयो भने शरीरमा विभिन्न किसिमका तत्वहरू बढ्न सक्छन् । तनावले गर्दा त्यस्तै किसिमका असर गर्ने हर्मनहरू शरीरमा बढ्ने हुन्छ । त्यही हर्मनले गर्दा रक्तनलीहरूमा बोसो जमेर फुट्ने हुन्छ । मानसिक तनाव मुटुमा समस्या आउने एउटा कारण हुन सक्छ ।
मुटुले हाम्रो शरीरमा गर्ने महत्वपूर्ण चार काम भनिदिनुस् न ।
मुटुका काम सबै महत्वपूर्ण नै छन् । चारवटा हैन कयौँ महत्वपूर्ण काम मुटुले गर्छ । यसले शरीरमा भएका सम्पूर्ण कोषिकामा रगत पु¥याउने काम गर्छ । हाम्रो शरीरका कोषिकालाई चाहिने विभिन्न किसिमका खनिज पदार्थहरु कोषिकासम्म पु¥याउँछ । त्यसरी नै हाम्रो शरीरका सबै कोषिका बाँच्छन् । स्वस्थ्य कोषिका मिलेर हाम्रो स्वस्थ शरीर बन्ने भएकोले चार कामभन्दा पनि यसले एकै काममा सबैथोक गर्छ ।
मुटु रोग लागेको केके संकेतहरूले थाहा पाउन सकिन्छ ?
मुटु रोगमा मटुको धमनी, रक्तनलीहरूमा समस्या, हार्टअट्याक आदि पर्दछन् । मुटुले काम गर्न छाड्न लागेको छ भने सास फेर्न गाह्रो हुन्छ । मुटुमा केही गडबडी हुन लागेको छ भने अचानक बेहोस हुने, खुट्टाहरू सुनिने, मुटुको ढुकढुकी बढ्ने हुन्छ । यी सबै मुटुसम्बन्धी रोग लागेका लक्षण हुन् ।
मुटु रोग लाग्न नदिन कसरी सजक हुन सकिन्छ ?
आफूलाई स्वस्थ्य राख्न दैनिक ३० मिनेट हिँड्ने, खानपिनमा चिल्लो पदार्थको प्रयोग कम गर्ने, जंकफुडहरुको प्रयोग कम गर्ने, खानामा नुनको मात्रा ठिक्क राख्ने, हरियो सागसब्जी दैनिक खाने, दिनमा एकपटक जसरी पनि फलफूल खाने, प्रेसर तथा कोलस्ट्रोलसँग सम्बन्धित रोगहरू भए त्यसलाई समयमा नै उपचार गर्ने, अम्मलहरू सबै छाड्ने वा सुरुमा नै त्यस्तो अम्मलमा नपर्ने गर्नुपर्छ ।
कहिलेकाही रोग लागिसकेपछि मात्र थाहा पाइन्छ, रोग लागिसकेपछिको अवस्थामा यसलाई निको पार्न वा कम गर्न केके गर्न सकिन्छ ?
रोग लागिसकेपछि चिकित्सककहाँ जाने, मुटुरोग विशेषज्ञहरूसँग आवश्यक परामर्श लिने, चिकित्सकले सुझाव दिएअनुसार औषधी लिने, समयसमयमा शारीरिक परीक्षण गराइरहने, लागुपदार्थहरू छाड्ने, खानपानमा ध्यान दिने आदि गरेर आफ्नो जीवन लम्ब्याउन सकिन्छ ।
तपाई मुटुरोग विशेषज्ञ हुनुहुन्छ । आफ्नो कार्यकालभरिको एक त्यस्तो अनुभव सुनाउनुस् न जुन तपाईँको लागि अविस्मरणीय छ ।
मुटुरोगमा पनि मेरो विशेषज्ञता हार्ट अट्याक सम्बन्धी हो । मसँग एउटा हैन धेरै नै त्यस्ता अनुभवहरु छन् । बिरामीहरू एकदम सकस भएर अस्पताल आउँछन् । बाँच्ने आशा नै न्यून भएका बिरामीहरुको उपाचार गर्नु पर्छ । त्यस्तो बेलामा पनि हामीले उहाँहरुको जीवन जोगाउन सफल हुन्छौँ । बिरामी भएर आएका मान्छे हाँसेर घर फर्किएको देख्न पाउनु मेरो लागि सबभन्दा ठूलो उपलब्धी हुन्छ । यस्ता सफल उपचार पाएका हरेक बिरामी नै मेरो लागि अविस्मरणीय रहन्छन् ।
उनीहरु फलोअपमा आएर जुन किसिमको प्रतिक्रिया दिन्छन् त्यो सुन्दा मैले कमसेकम उनीहरूको जीवन केही हदसम्म बचाउन सफल भएँ भन्ने लाग्छ । उनीहरूले बाँचेको स्वस्थ जीवनमा मेरो योगदान छ भन्ने कुराले पनि मलाई एकदमै हौसला प्रदान गर्छ । त्यही नै मेरो लागि निरन्तर काम गर्ने प्रेरणाको स्रोत पनि हो ।