सीमारक्षक काठमाडौंमा : यस अघि धर्नामा नै मरे, यसपटक ६० जनालाई न खाना, न नाना, न छाना !

सीमारक्षक काठमाडौंमा : यस अघि  धर्नामा नै मरे, यसपटक ६० जनालाई न खाना, न नाना, न छाना !


सिर्जना सुवेदी

८० वर्षीय वृद्ध आफूले लगाएको बाली हेर्न खेतमा गएका बेला भारतीय प्रहरीले समातेर उनलाई भारतको जेलमा १ वर्षसम्म थुनिदिए । वृद्ध शरीरले जेलको चिसो सहन सकेन र विभिन्न रोगको सिकार हुनुपर्यो । स्वाशप्रश्वाससम्बन्धी समस्याले उनलाई समात्यो । जेलबाट छुटेपछि त्यही रोगको कारणले उनको मृत्यु भयो ।

आफ्नै खेतमा काम गर्न जाँदा जेलमा थुनिनुपर्ने अवस्था कुनै काल्पनिक कथाको जस्तो लाग्छ तर यो कुनै कथा होइन । सुस्तामा बसोबास गर्दै आएका मानिसहरुको यथार्थता हो । अहिले विवादित क्षेत्रमा राखिएको जग्गामा २०६२ सालमा बाली हेर्न जाँदा घटेको यथार्थ घटना हो यो ।

सुस्तामा बसेर नेपालको सिमाना जोगाउन संघर्षरत सुस्ताबासीहरु भारतीय ज्यादती तथा सीमा अतिक्रमणको विषयमा सरकारको ध्यानाकर्षण गराउन इतिहासमा जस्तै फेरि एकपटक त्रिपुरेश्वरको कालमोचन घाटमा आइपुगेका छन् । असोज ९ गतेदेखि २५ महिलासहित ६० जना धर्नारत छन् । नवलरासीको सुस्तादेखि मानिसहरु काठमाडौँस्थित सिंहदबारबाट दुई किलोमिटको आसपास पीडा पोखिरहेका छन् । तर, सरकार न त सुस्ताबासीले सीमा रक्षार्थ आफ्नो घरखेत तथा ज्यान गुमाउनु परेको व्यथा सुन्छ न त देशले सिमानामा गुमाइरहेको भू–भागको हिसाव किताब गरेर फिर्ता ल्याउने हिम्मत गर्छ ।

२०६२ सालमा भारतीय ज्याजतीविरुद्ध आवाज उठाएर सुस्ताको रक्षा गर्न स्थानीयबासीले सुस्ता बचाऊ अभियान थालनी गरे । त्यसपछि सुस्ताका जनताहरुले सरकारको ध्यानाकर्षण गराउन हालसम्म पटक–पटक काठमाडाँैमा धर्ना दिंदै आएका छन् । तर सरकारले उनीहरुको समस्याप्रति चासो दिएको छैन ।

के हो त सुस्ताको समस्या ?

सन् १८७२ भएको सुगौली सन्धी भयो । सन्धीमा नारायणी नदीलाई नेपाल र भारतको सीमाना निर्धारण गरियो । वि.सं. २०२५ सम्म सुस्ताको सीमाना ४० हजार ९ सय ८० हेक्टर थियो । २०३४ सालमा नारायणी नदीमा बाढी आयो र नदी नेपालतर्फ १० कि.मि स¥यो । सुस्ता गाउँको पूर्व, उत्तर र दक्षिण तीनतिर भारतको बिहार र एकातिर नारायणी नदीको सीमाना भयो । तीनतिरबाट भारतले घेरेको सुस्तामा भारतीयहरुको अतिक्रमण बढाए । जम्मा १४ हजार ५ सय हेक्टरमा अहिले भारतले जोतभोग गरिरहेको छ । १९ हजार ४ सय ८० हेक्टर विवादित क्षेत्र भनेर रोकिएको छ । हाल सुस्ता गाउँको जोतभोग गर्ने ७ हजार हेक्टर जग्गा मात्र बाँकी छ । त्यो क्षेत्रमा पनि अहिले भारतीयहरुले विकासको कार्य गर्न हस्तक्षेप गरिरहेका छन् । विवादित जग्गा र नेपाल पक्षको बाँकी भएको जग्गामा भारतीयहरुको बढ्दो अतिक्रमणको समस्या नै सुस्ताको प्रमुख समस्या हो ।

 

प्रलोभन दिनेदेखि बेइज्जती गर्नेसम्म

नेपालको सीमाना अतिक्रमण गर्न भारतीय पक्षले आफूहरुलाई बेइज्जत गर्नेदेखि विभिन्न प्रलोभनसम्म देखाउने गरेको बताउँछिन् सुस्ता बचाऊ अभियानकी महिला नेत्री तथा अभियानकी पूर्व कोषाध्यक्ष लैला बेगम ।

उनी भन्छिन्, ‘म सुस्ता बचाऊ अभियानमा सक्रिय भएर लागेको हुनाले उनीहरुले बाघको छाला तस्कर, रक्तचन्दन तस्कर, लैला बेगमको लिलाबाट चकित चम्पारन जस्ता अपमानजनक कुराहरु भनेर अपमानित गर्ने गरेका छन् ।’

उनीहरुको धम्कीबाट नडराउने जनतालाई उनीहरु विभिन्न प्रलोभनसमेत दिन पछि नपर्ने उनको भनाई छ । ‘हामीले सुस्तामा विकास निर्माणका काम गर्न लाग्दा विभिन्न खालका धम्की दिन्छन् । गोली हान्ने धम्कीसमेत हामीलाई दिने गरेका छन् ।’ उनी भन्छिन्, ‘निडर भएर हामी उनीहरुको अघि झुक्न मानेनौँ भने घर जग्गा दिने, गाडी उपलब्ध गराउनेसम्मका प्रलोभन देखाउँछन् ।’

सीमा रक्षक जो नागरिकताविहीन छन्

आफूहरु भारतबाटभन्दा नेपालबाट बढी पीडित भएको बताउँछिन् लैला । उनी भन्छिन्, ‘नेपाल सरकारले हामीलाई भारतले भन्दा बढी हेपेको छ । सुस्तामा २२५ घरधुरीमा बसोबास गर्ने, ३१३३ जनसंख्या छन् । त्यहाँ रहेका, २९५ जनाले मात्र नागरिकता पाएका छन् ।’

नेपालको सरकारले आफूहरुलाई शिक्षा, स्वास्थ्य आदिबाट वञ्चित राखेको दुखेसो पोख्दै उनी भन्छिन्, ‘विकास निर्माणका काममा पनि सुस्तालाई सरकारले ध्यान दिएको छैन । सुस्तामा ६ कक्षाभन्दा धेरै पढ्ने विद्यालय छैन । विद्यालय निर्माण गरिदिए हाम्रो बालबच्चाले पढ्न भारतको सीमाना भएर जानुपर्ने थिएन ।’
नारायणी नदीमा पक्की पुल बनाइदिए आफूहरुले भारतको बाटोको आशमा बस्नु नपर्ने र उनको हेपाई सहनु नपर्ने उनको भनाई छ ।

१० दिन गाउँमा आउजाउ गर्ने बाटो भएन

सुस्तामा हिन्दु, मुस्लिम सबैसँगै मिलेर चाडपर्व मनाउने गर्छन् । सुस्ताबासीहरु पर्व वा कुनै अन्य काममा व्यस्त भएको बेला पारेर भारतीयहरुले आक्रमण गर्ने गरेको बताउँछन् धर्नारत सुस्ताबासी अफताब आलम । उनी भन्छन्, ‘बकरईदको बेलामा हामी सम्पूर्ण गाउँ बकरईद मनाउनमा व्यस्त थियौँ । त्यही दिन १२ बजे विवादित क्षेत्रको बीचबाट भारतीय पक्षले बाटो निकाल्न लागे । त्यसै समयमा अभियानको उपाध्यक्ष आदम खान प्रहरीसहित गएर विवादित जग्गामा जानकारीबिना बाटो निकाल्न नपाइने भन्दा उनीहरुले हाम्रो आउने जाने बाटोमा खाल्डै खाल्डा खनिदिए । बाटो नै १० दिन बन्द गरिदिए ।’

भारत भएर नै नेपालको विद्यालयमा पढ्न विद्यार्थीहरु आउने तथा अन्यत्र जाने बाटो भएकोले बाटो नै बन्द गरिदिएपछि आफूहरुले दुःख पाएको गुनासो उनी गर्छन् । नाकाबन्दी नै सहेर आफूहरु बाँचिरहेको उनको भनाई छ ।

भारतले बन्द गरेको १० दिनपछि बुटवल गएर त्यहाँको मुख्यमन्त्रीलाई भन्दा उनीहरुले खासै चासो नदेखाएको उनी बताउँछन् ।

गाउँमा आउने बाटो भारतबाटै भएर आउने भएकोले उनीहरु मनलाग्दी बाटो बन्द गरेर आफूहरुलाई दुःख दिने गरेको उनको भनाई छ । भारतमा समान तथा औषधी लिन जाने मानिसहरुलाई भारतीय प्रहरीको भनाइमा गाउँलेहरुले कुटपिट गरेर दुःख दिने उनले बताए ।

नारायणी नदी वर्षामा ३ किमीसम्म चौडा हुन्छ । त्यताबाट डुङ्गामा जान पनि धेरै खतरा हुन्छ । सुस्तामा नै पर्ने रौवानाला खोलामा गाउँलेहरुले मिलेर पुल बनाउँदा पनि भारतीयहरुले गोली हानिदिएको, धम्की दिएको सम्झँदै उनी भन्छन्, ‘नेपाल भनेको काठमाडौँ मात्र हैन । सीमानामा पनि नेपाल र नेपाली छन् जो दिनरात नेपालको सीमाना बचाउन प्रयासरत छन् । सरकारले त्यता कहिले ध्यान दिने ?’

खोलामा भएको होमपाइप फालिदिएपछि धम्कीले पनि नडराई अस्थायी पुल निर्माण गरेको झम्झँदै महताब हुसेन भन्छन्, ‘पुल बनाउँदा उनीहरुले धम्काए पनि हामीले मानेनौँ । मरे पनि आफूहरु पुल बनाउने भन्दै हामीले अस्थायी पुल निर्माण ग¥यौँ ।’

हेर्दाहेर्दै लगभग १३ बिघा जग्गा अतिक्रमण

आफ्नो नाममा भएको जग्गा हेर्दा हेर्दै आँखाअघि अतिक्रमण भएको सम्झँदै महताब भन्छन्,‘ हामीले हेर्दाहेर्दै हाम्रो १३ बिघा जमिनमा भारतले हजारौँ एसएसबी उता¥यो । ती हतियारधारी सीमा प्रहरी बलका अघि हाम्रो केही लागेन र हामीले आफ्नो जग्गा यसै गुमाउनु प¥यो ।’

हाल विवादित गरिएको जग्गा पनि भारतीयहरु सधैँ वरवर सर्दै अतिक्रमण गरिरहेको उनको भनाई छ ।

भारतका प्रहरीहरु गाडीसहित आएर नेपालका मान्छेहरु बिनाकारण समातेर जेलमा लगरे दुःख दिने गरेको तथा बस्तु ल्याएर लगाएका बालीनाली नस्ट गर्ने गरेको समेत उनले सुनाए ।

अभियानमा सुस्ताबाट आएकाहरुलाई समस्या

देशको सीमा सुरक्षालाई सधैँ लागि पर्ने सुस्ताबासीले काठमाडौँमा धर्नारत हुँदा विभिन्न समस्या भोग्नु परेको छ । सरकारले केही सहयोग नगरेको आक्रोश पोख्दै लैला भन्छिन्, ‘ हामी गाउँबाट यति टाढा छौँ । यहाँ लाग्ने खर्च सुस्ताबाट चन्दा उठाएर ल्याउने गरेका छौँ । सरकारले खर्चको बारेमा कुनै चासो देखाएको छैन ।’

काठमाडौँमा बढ्दो चिसो छिचोल्न आफूहरुसँग पर्याप्त कपडा नभएर धर्नारत मानिसहरु बिरामी परेका छन् । आउने जाने खर्च, कपडा, खानाआदि धेरै खर्च पर्ने ती सबै कुरामा सरकारको ध्यान नगए पनि देशको सीमाना बचाउँन मरिरहेका जनताको अवस्थालाई हेर्न तथा आफ्नो देशको सीमा रक्षा गर्न आह्वान गर्छिन् लैला ।

विगतलाई सम्झँदै उनी भन्छिन्, ‘२०६५ सालमा धर्नामा आएका रामानन्द चमारको काठमाडौँमा नै मृत्यु भएको थियो । यो चिसोमा बस्दा अरु व्यक्तिलाई पनि केही असर नपरोस् भन्ने विचार सरकारले गर्नुपर्छ ।’

गाउँमा धान काट्ने समय आइरहेको, दसैँ लाग्न लागेको, तथा काठमाडौँमा जाडो बढेको, सामान लगायत सबै कुराको अभाव हुन लागेको हुनाले आफूलाई धर्ना गर्न गाह्रो भएको भए पनि सबै कुरा बिर्सिएर देश बचाउन आफूहरु लागेको उनले बताइन् । सरकारलाई आफ्नो समस्या छिट्टै सुन्न आह्वान पनि उनले गरिन् ।

 

Trending News