ओखलढुङ्गाका पूर्व सांसद तथा पूर्व माओवादी नेता बालकृष्ण ढुङ्गेल कुनै समय चर्चाको शिखरमा थिए । सशस्त्र युद्धकालमा स्थानिय भूवन भनिने उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई सर्वोच्च अदालतले जेल हालेको थियो । तर, गत जेठ १५ गते गणतन्त्र दिवसकै दिन राष्ट्रपतिले सजाय माफी दिएपछि उनी जेल मुक्त भए । जेलबाट रिहा भएपछि उनको पक्ष र विपक्षमा मत बाँझीएको थियो । उनै ढुङ्गेल यतिबेला के गरिरहेका होलान् ? वर्तमान राजनीतिलाई हेर्ने दृष्टिकोण कस्तो होला ? यीनै विषयमा दियोपोस्टका लागि प्रयास पराजुलीले उनीसँग अन्तवार्ता लिएका छन् । प्रस्तुत छ ढुङ्गेलसँगको कुराकानीको सम्पादित अंश :
जेलबाट छुटेपछि के गरिरहनुभएको छ ?
– समाजको निम्ति केही गर्न लागेको मान्छे हुँ । अहिले विशुद्ध राजनीति कर्ममै क्रियाशील छु । मेरो पूर्वनिर्धारित योजनासहित अगाडि बढेको छु ।
स्वास्थ्य अवस्था कस्तो छ ?
स्वास्थ्य अवस्था थोरै सुधार भएको देखिएको छ । औषधीको मात्र कम गर्नुपर्ने अवस्था छैन ।
दुईतिहाई बहुमतको सरकार गठन भएको सात महिना बितिसक्दासमेत जनताको न्यूनतम आवश्यकता पनि पूरा गरेन भन्ने गुनासो जताततै सुनिन्छ नि ?
–एकताले प्राप्त गरेको तागतमा झण्डै दुईतिहाईको बुहमत छ । आफ्नो घोषणापत्र र प्रतिबद्धता कार्यान्वय होस् भन्ने कुरा राख्नु जनताले नराम्रो भनेका होइनन् । बेथितिको लामो श्रृङ्खला पार गरेर आएको देशलाई थितिमा ल्याउनको लागि समय लाग्छ । देउवा नेतृत्वको सरकारले देशको ढुकुटी रित्तो बनाएर सरकारको नेतृत्व हस्तान्तरण गर्ने काम गर्यो । ढुकुटीमा केही भए बाँडिदिने होला । नभए संकलन गर्नुपर्ने होला । संकलन गर्नको लागि न्यूनतम एक वर्ष लाग्छ । अहिले नै सरकारको आलोचना गर्ने बेला भएको छैन । तर गतिअनुसारको मति, मतिअनुसारको गति छ त ? सरकारमा रहनुभएकाहरुले जनताको भावनालाई बुझेर काम गर्नुपर्छ । सही बाटोमा डोहो¥याउन नसकेको हो कि भन्ने आशंका छ । योजना निर्माण गर्न एक वर्ष लाग्छ । अज्ञानताबाट ज्ञान खोज्न, असक्षमताबाट सक्षममा प्रवेश गर्न समय लाग्छ । कम्तिमा पाँच वर्ष आयु भएको सरकारलाई पानी वितरण गर्नको लागि मुहान पत्ता लगाउन र पाइप खोज्न समय लाग्छ । मेरो आशा छ, देशलाई रुपान्तरण गर्न सक्ने, समृद्ध देश बनाउन सक्ने, आफ्नो हिसाब आफँैले देखाउन सक्ने, जनताले पनि हिसाब देख्ने गरी सरकारले काम गर्ला ।
विगतमा पनि बलात्कारको घटना हुने गरेको थियो । अहिले दिनप्रतिदिन बलात्कारको घटना बाहिर आउने गरेको छ । यसबाट हाम्रो समाज कतातिर जाँदैछ ?
–मेरो बुझाइएमा जनतामा सूचनाको पहुँच पुगेको कारण बलात्कारको घटना सार्वजनिक भएको हो । विगतमा जनताको बीचमा सूचनाको पहँुच थिएन । अहिले सामाजिक सञ्जालले पनि सूचनाको पहुँच बढाएको छ । कञ्चनपुर घटनाको बारेमा धेरै सूचना बाहिर आएको छ । समाज रुपान्तरणको लागि हरेक किसिमको सूचना र जानकारी राख्न सक्ने हैसियत नागरिकहरुले बनाएका छन् । हरेक कुराको अधिकारमा आवाज उठाउन सक्ने भएका छन् । घटनाक्रम जसरी सार्वजनिक भएका छन् त्यसमा विचार गर्दा अपराधिक घटना सार्वजनिक गर्ने आँट र चेतना जनतामा बढेको कारणले पनि यस्ता घटना बढी बाहिर आएका हुन् ।
अहिले गृहमन्त्री र प्रहरीप्रमुखको राजिनामा पनि माग भइरहेको छ नि ?
–यहाँ जसले जसलाई जे भन्न पनि छुट छ । अहिले आइजिपीले राजिनामा दिएपछि अपराध नघटने, निष्पाप समाज बन्ने, छानबिन गर्दा निष्पक्ष हुने हो ? विगतदेखि नै कुनै पनि घटना छानबिन गर्ने र पीडितले न्याय पाउनु हुँदैन भन्ने मेरो मत होइन । प्रमुख एजेण्डालाई प्रमुख बन्न नदिने र सहायक एजेण्डालाई प्रमुख बनाएर उठाउने प्रवृत्ति छ । नेपालमा एउटा त्यस्तो तप्का छ जसको काम नै अस्थिरता बनाइरहने हो ।
न्याय पाउनु पर्छ कुरा त ठिक होला नि अनि तपाईले एनजिओवादीले बढी उचाले भन्न खोज्नु भएको हो ?
एनजिओवादीहरुको मुख्य काम भनेको देशलाई अस्थिरतातिर लैजाने, आफ्नो कार्यक्रमबाट कुम्लो बोक्न नसक्ने गरी पैसा बोक्ने खेतीमा लाग्नु हो । उनीहरुको अभियानप्रति मैले भन्दै आएको छु । नेपालमा उनीहरुलाई प्रतिबन्ध लगाउनु पर्छ । सरकार आफैँले न्यायिक समाज निर्माण गर्ने कदम चाल्नु पर्छ ।
घटना घटाउनु हुँदैन्थ्यो । घटना दबाउनको लागि यत्रो प्रपञ्च रच्नु हुँदैनथ्यो । रचेपछि तत्काल आयोगले निष्पक्ष छानबिन गरेर दोषीमाथि तकाल कारवाही गर्नु पथ्र्यो । मृत्यु दण्ड दे भनेर सडकमा चिच्याउन थाल्छन् । नेपालमा मृत्यु दण्डको संवैधानिक अधिकार नै छैन । संविधानमा नै नभएको र अधिकार नभएको कुरामा ब्यानर बोकेर जाने मानिसहरुलाई पनि यो सरकारले कारवाही गर्न सक्दैन । यो सरकारको निरिहता हो ।
कतै निरिहतातिर त सरकार गइरहेको छैन ? यस्ता घटनापछि कसैले राजिनामा दिने बित्तिकै आजको भोलि सबै हुने गरेका कुनै घटना छैन । पीडितले न्याय पाउनु पर्छ । यसमा कुनै दुविधा छैन । तर आइजिपिले राजिनामा गर्नुपर्ने तहसम्म बेथिति भइसको छैन । घटनाको निष्पक्ष छानबिन गर्न सक्नु भएन भने उहाँको असक्षमता बजार, समाज, दुनियाँका मनमस्ष्तिमा स्थापित हुन्छ । यस्तो अवस्था सृजना भएको अवस्थामा नैतिकवान् व्यक्ति आफैँले राजिनामा गर्छन् । तर काम नै गर्न नदिने आधार तयार गर्दै राजिनामा माग्नु बेठिक हुन्छ ।
पार्टी एकता भएको लामो समय बितिसक्दा पनि सांगठनिक एकता अगाडि बढन सकेन नि ?
नेपालमा घोषणा भएका थुप्रै विषयहरु बन्दैनन् । मेरो आशा छ एकतामा परिणत होस् । केही ढिला भए पनि भावनात्मक वैचारिक र राजनीतिक रुपमा एकता होस् । सांगठानिक एकता होस् । एकले अर्कोलाई सम्मान गर्ने एकता होस् ।
तर एकता नहुँदै शीर्ष तहमा विवाद देखियो नि ?
–नयाँ ठाउँमा पुगेपछि नयाँ वातावरणमा घुलमिल गर्न गाह्रो हुन्छ । पहाडको मानिस मधेस र मधेसको मान्छे पहाड चढेपछि जस्तो असहजता हुन्छ,त्यस्तै असहजता हो यो । अर्को अन्तर्यमा भएको कुरा नभनिदिने र देशको कुरा गरिदिने । माधव नेपाल पनि यो देशमा लामो समय प्रधानमन्त्री हुनुभयो । १५ वर्षसम्म पार्टीको नेतृत्व गर्नुभयो । देश डुब्न नै नसक्ने गरी बनाइदिएको भए आज देश डुब्न लाग्यो भनेर भन्न नै पर्ने थिएन नि । आज संसदमा गीत गाउनु पर्ने अवस्था थिएन । उहाँ अवसर नपाएको व्यक्ति होइन । लामो समय कम्युनिष्ट पार्टीको नेतृत्व सम्हालेपछि यो काम हुने र यो गर्न नहुने भनेर विधि विकास गरिदिएको भए आज उहाँले रोष्टममा उभिएर रुन्चे स्वरमा त्यो गीत आउनु पर्ने थिएन । आफू भएको बेलामा सिन्को नभाच्ने अरु भएको बेलामा भएन भनेर पहाड फुटाउने खालेको प्रवृत्ति यो प्रतिपक्षीय माक्सवाद प्रवृत्ति हो । त्यसले देशमा विवाद, फुट र विर्सजन ल्याउँछ । माधव नेपाल सत्ता सञ्चालनको जिम्मेवारभित्र रहेर पार्टीको बैठकमा ओली र प्रचण्डसँग यहाँनिर गलत भयो भनेर भन्न सक्ने औकात भएको व्यक्तिले सस्तो लोकप्रियताको लागि कोकोहोलो गरेर रुने अवस्था पटक्कै चित्त बुझेको छैन । त्यो लेबलको नेताले गरेको कामलाई अनुशरण गरेर सडक–सडकमा पार्टी र सरकारलाई थुक्दै हिँडयौँ भने पार्टीको हालत के होला ?
पछिल्लो समयमा अवकाश प्राप्त भएपछि पूर्व प्रशासकहरुद्वारा आत्मवृत्तान्त लेख्ने र मनको बह पोख्ने काम हुँदै आएको छ । पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको पनि आत्मवृत्तान्त आएको छ ?
–नेपालमा एउटा तप्का छ कहिल्यै पनि प्रमुख विषयमा जान नदिने । नेपालमा जे घोषणा गरिन्छ त्यो नगर्ने, जे सपथ खाइन्छ त्यसअनुसार आचरण नगर्ने चलन छ । सुशीला कार्कीले आफू प्रधानन्यायधीश हुने बेलामा के सपथ खानुभएको बिर्सनुभयो ? उहाँले नेपालको पहिलो र अन्तिम प्रधानन्यायधीश मै हुँ जस्तो गर्नु भयो । असक्ष मान्छेको हातमा कलम दिनु र मुर्खको हातमा दरवार दिनु केही पनि अन्तर रहेनछ ।
सुशीला कार्की प्रधानन्यायाधीश भएकै बेलामा मैले भनेको थिएँ, कार्य सम्पादनको तौर तरिका ठिक थिएन । अहिले त उहाँ सडकमा बिजात्रा आउनुभयो । तर नेपाल कस्तो देश बन्यो भने न यहाँ न्यायको निम्ति न्यायिक आवाजहरु उठ्दैन कमाउनको लागि न्यायिक आवाज उठछन् । त्यो न्यायिक आवाज उठाउँदा मैले कसैमाथि अन्याय त गरिरहेको छैन भनेर कोही समिक्षा गर्न तयार छैन । न न्यायधीश तयार छ । न मानवअधिकारवादी तयार छन् । यति बेला जसले जसको आलोचना गर्छ ऊ लोकप्रिय बन्ने चरणमा पुग्यो । लेखनकलामा विज्ञता हासिल गरेका साथीहरु जसले किताब लेखिदिनुहुन्छ । सुशीला कार्कीजीले पनि आफैँले लेखेको किताब होइन । रुक्माङगत कटुवाले पनि आफैँले लेखेको किताब होइन । विनोद चौधरीले पनि आफैँ किताब लेखेको होइनन् । मलाई पनि दर्जनौ साथीहरुले फोन गरेर दाइ तपार्इँको किताब लेखौँ न तपार्इँसँग भेटेर केही कुरा गर्छाँै किताब त हामी तयार गरिहाल्छाँै भन्नुहुन्छ । उहाँहरुसँग जसरी किताब लेख्न जानुभयो मसँग पनि त्यसरी नै आइरनुभएको छ ।
मैले किताब नै बनाउनु पर्ने केही पनि गरेको छैन । आत्मवृत्तान्त गान्धीले लेख्नुभयो विपीले पनि लेख्नुभयो । अनि त्यसैको सिको गर्दै आउँदा रुक्माङ्गत कटुवालाई आफ्नो किताबको शीर्षक नै के नाममा आउँदै छ भनेर थाहा थिएन । बजारमा किताब आएपछि थाहा पाउनुभयो ।
अच्युतकृष्ण खरेलले नेताहरुको आलोचना गर्दै लेख्नुभएको किताब आएको छ । उहाँले सपथ गर्ने बेलामा के भनेर आएँ भनेर अहिले किताबमा लेख्नुभयो ? आइजिपी हुनको लागि कुन–कुन नेताको ढोकामा गइ र के–के भने ? रातबिरात म कहाँ कहाँ धाउथँे ? भनेर लेख्नु भएन नि ? सुशीला कार्कीले कति पटक प्रचण्डलाई भेटेर मलाई प्रधानन्यायाधीश बनाइदिनुपर्छ भनेर सडकमा जुत्ता चढेर हिँडिरहेको अवस्थामा न्यायधीशको गाडी चलाउनको निम्ति कति पटक प्रचण्डकोमा धाउनुभयो ? त्यो त आत्म वृत्तान्तमा लेख्नुभएन नि । त्यो हामीले लेखिदिनु पर्ने हो । उहाँले को–को मान्छे लिएर जानुभयो न्यायधीश हुनको लागि ? म दुर्गा सुवेदीको श्रीमती हुँ, मैले देशको लागि अरु केही गर्न नसके पनि विद्रोह गर्ने आँट भएको मान्छेलाई श्रीमान् बनाएको छु भनेर प्रचण्ड भएको ठाउँमा न्यायधीश माग्दै गएको होइन न्यायधीशदेखि प्रधानन्यायधीशसम्म बन्नको लागि प्रचण्डको ढोकामा कति पटक जानु भयो, त्यो किताबमा किन लेख्नुभएन ? जे पायो त्यही लेख्दै जाने ? नैतिकता यही हो ?
आत्मकथामा सत्य कुरा लेख्नु पर्छ भन्ने मान्यता छ नी होइन ?
अब कलम चलाउने पत्रकारहरुले शल्यक्रिया नगर्ने हो भने यहाँ वन प्रकृति सिध्याएबापत यिनीहरुलाई मुद्दा हालिदिए हुन्छ । त्यो कागज नष्ट गरिदिएपछि त प्रकृति पनि नष्ट हुन्छ । रुक्माङ्गत कटुवालले प्रचण्डलाई मैले जीवनमा नै सलाम गरिनँ भनिएको छ, सलाम गरेको फोटो सुरक्षित छ । अब उनलाई मुद्दा हाल्न परेन । जे पायो त्यही लेख्दै हिँड्ने यो एउटा विकृति हो । यो विषयान्तर गर्न खोजिएको हो । नेतृत्वलाई आक्रमण गर्ने, विस्थापित गर्ने खेलअन्तर्गत काम भइरहेको छ । देशमा धेरै पटक आन्दोलन भयो । त्यसको जगमा देशमा गणतन्त्र पनि आयो । अहिले संघीयता कार्यान्वयनको चरणमा छ । यसलाई डाइभर्ट गरेर राजनीतिक रुपमा प्राप्त अधिकार संस्थागत हुन नदिने चलखेल भएको छ । वीरेन्द्रको वंश नाशको कथा किन लेखिँदैन । मैले देखेको दरवार चाहीँ लेख्छन् तर दरवारभित्र के भएको थियो भनेर किन लेखिँदैन ? बजारमा जे जे बिक्री हुन्छ त्यही लेखिन्छ ।
सपथ खाएर पनि किन आफू पदमा भएको कुरा लेखिन्छ त ? यसमा सरकारले केही गर्न सक्दैन ?
–अब राज्यले टुलुटुलु हेरे बस्न हुँदैन । गलत काम गर्नेलाई कारवाही गर्नुपर्छ । पेन्सन पकाएर बाहिर जाने बित्तिकै निवृतिृभरणको बेला पैसाको कुम्लो बोकेर हिँड्ने अनि सडकमा गएर सरकारको मन्त्री प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्ध तथानाम बोल्दै हिँड्न पाइन्छ ? यदी छाडा बोल्ने हो भने सरकारबाट लिने सेवा सुविधा फिर्ता गरिदिनु पर्छ । सपथ खाने चाहीँ ‘म पदमा रहँदा वा बाहिर रहँदा गोप्यनियता भंग गर्ने छैन ।’ भनेर अनि बाहिर निस्किएपछि खुइँका खुइँ आत्मवृत्तान्त लेख्न आफूलाई जे–जे लेख्न मन लाग्यो त्यही लेख्ने ? यो बेथिति कहाँबाट सुरु भयो ?
दोस्रो जनआन्दोलनको सफलतापछि रायमाझी आयोग बन्यो । रायमाझी आयोगको प्रतिवेदन लुकाउनु नेपालमा अझै पनि अपराध संस्थागत रुपमा राखिराख्ने स्टेप त्यहीबाट सुरु भएको छ । रायमाझी आयोगले दोषी ठहर्याएका अपराधीहरुलाई कारवाही गर्न सुरु गर्नुपर्छ । थिति त्यहाँबाट सुरु गर्नुपर्छ । रायमाझी आयोगको प्रतिवेदन गायब बनाइयो । नेपालका बुद्धिजीवि कोही पनि छलफल गर्न तयार छैनन् । विषयान्तर गर्दै गएर मुख्य विषय नै सिध्याइयो । रायमाझी आयोगको प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयन गर्नुपर्छ । त्यो सूचना किन जनतलाई दिइएन । त्यो लुकाउन को–कोसँग केका निम्ति साठगाठ गरियो ? यो कहाँ सम्झौता गरियो ? प्रतिवेदन सार्वजनिक गरेर दोषीमाथि कारवाही गर्न सुरु गर्नुपर्छ ।
तपार्इँको मुद्दामा त तपार्इँले हत्या गरिएका भनिएका व्यक्ति उज्जनकुमार श्रेष्ठको हत्याको पोष्टमार्टमको रिपोर्टबिना नै तपाईँ अपराधी ठहरिनुभयो नि होइन ?
–यो त हाम्रो समाज त्यस्तै छ । गौतम बुद्धको मृत्य भएको २५ सय वर्ष भइसक्यो । अहिले हेरहेर भनेर बोको काटेर गौतम बुद्धलाई देखाइन्छ । यो गौतम बुद्धले न्याय नपाएको देश हो । गान्धीले त गोली खाएको दुनियाँ हो भने बालकृष्ण ढुंगेलले न्याय पाउनुपर्छ भनेर ठूलो अपेक्षा नै गरिएको छैन । दोस्रो कुरा न्यायलय कानुनको शिरान हालेर मलाई बलात्कार गर्छ । अनि मैले अदालतले बलात्कार गर्यो भन्दा मैले अदालतको मानहानी गरे भनेर फेरि मुद्दा दर्ता गर्छ । फेरि मुद्दा चलिरहेको छ । मलाई बलात्कार गरेको चाहीँ एकदम राम्रो भनेर ताली बजाइदिनु पर्ने । म न्यायिक बलात्कृत पात्र हो । जुन न्यायधीशले घटनामा नभेटिएको लाशको नगरिएको पोष्टमार्टम रिपोर्टको आधारमा बालकृष्ण ढुंगेलले मान्छे नमारेको कुरामा शंका नगर्नु । पीडित परिवारले न्याय खोज्ने गलत होइन । न्याय पाउनु पर्छ । उनीहरुले न्याय खोजे । मलाई जेल हालेर उनीहरुले न्याय पाएनन् । बालकृष्ण ढुंगेल जनयुद्धमा हिँडेको नेता भनेर जेल हालिदिएको हो भने त आनन्द भयो मेरो भन्नु केही छैन । वास्तवमा उनीहरुको बाउ, दाइ, भाइ हरायो भन्ने शीर्षकबाट अदालतमा मलाई कारवाही गर्ने हो भने नागरिक वेपत्ता बनाएको कानुनअनुसार मलाई सजाय गर्नु पर्दथ्यो । नभेटिएको लाशको पोष्टमार्टको रिपोर्टबिना नै मलाई ज्यानमारा घोषणा गर्न पाइन्छ ? मेरो प्रश्न यहाँनेर नै हो । परिवारले न्याय खोजेको हो भने म जेल परेर सजाय काटेर निस्किएको भरमा हामीले न्याय पायाँै भनेर मख्ख नपरे हुन्छ ।
तपार्इँलाई छोड्न हुँदैनथियाे भन्ने आवाज पनि उठेको थियो नि ?
–सस्तो लोकप्रियताको लागि रविन्द्र मिश्रहरु नेपाल नै नयाँ बनाउँछु भनेर हिँडेका छन् । झुसिलो डकार आउन्जेल बेलायती सरकारको जागिर खाने ।, ३५ हजारको टिर्सट लगाएर आएर मेरो विरुद्ध सन्सक्रिम दलेर नाङगो जुलुस निकाल्ने भिखारीलाई मेरो भन्नु के छ भने–रविन्द्रजी तपार्इँ जति घटिया मान्छे त यो दुनियाँमा जन्मिएकै रहेनछ । बालकृष्ण ढुंगेलको बारेमा न फेद न टुप्पो न हाँगो थाहा छ ? मेरो बारेमा अध्ययन गरेर बोल्छु भन्नु पर्ने ठाउँमा पेटी गन्जी खोलेर सन्सक्रिम दलेर बबरमहलमा आउन तपाईँलाई लाज लागेन ? बिवीसीको पत्रकार भएर आउनु भएको अब त कतै लालचा हुँदैन होला । लालचा नभए बेमाइनी हुँदैन । अदालतले समेत बलात्कार गरेको पात्र बालकृष्ण ढंगेललाई अन्याय गर्नको निम्ति उहाँलाई केको आश बढ्यो ? मैले सम्झेँ नकचराको औषधी हुँदैन भन्ने बुढापाकाले रविन्द्र मिश्र भन्ने मान्छे पनि अर्को एउटा नकचरो रहेछ । उसले मलाई मान हानीको मुद्दा हालिदिन सक्छ । रविन्द्र जतिको मान्छेले बालकृष्ण ढुंगेल त्यो घटनामा संलगन छ कि छैन ? बालकृष्णको मिसिल, फैसला कस्तो छ भनेर सोध्नुभयो ? उहाँलाई थाहा नै छैन । अत्तोपत्तो केही छैन । ऊ पनि सडकमा ओर्लिन्छ भनेपछि के गर्ने ? म आफूलाई थाहा छ म ज्यानमारा होइन भनेर । सबै पहिला मलाई थाहा हुनुपर्छ । दुनियाँलाई थाहा नहोस् म ज्यानमारा होइन भन्ने तर मलाई थाहा हुनुपर्छ । अदालतले यति ठूलो अपराध गरेको छ । मेरो कामना हो सुधारोस् ।
बालकृष्ण ढुगेलमाथि अदालतले आगामी दिनमा पनि यस्तो गल्ती नसुर्धाने हो भने अदालतमाथि मसाल झोस्छ दुनियाँले । यही तरिकाले जाने हो भने नेपालको न्यायलय भनेर झुन्ड्याइएको बोर्डभित्र कानुनको बलात्कार यसरी नै गर्दै जाने हो भने बालकृष्ण ढुंगेल त कायर होला, डरछेरुवा होला, अथवा कानुनले मलाई फेरि जेल हाल्छ भनेर लगलग काप्दै रुँदै कराउँदै मन्डिभित्र सुतेर सुरक्षित हुन्छु भनेर घरमै सिरक ओढेर सुत्ला । तर बालकृष्ण सुत्यो भन्दैमा दुनियाँ सुत्दैन । एउटा पुस्ता त निस्किन्छ । सबै पुस्ताका पत्रकार पनि मासु र भातमा मात्र बिक्रि नहोलान् । एउटा यस्तो पुस्ता आउला साग खाएर सत्य समाचार लेख्ने । सोध्ला नि त ? खिलराज रेग्मी, कल्याण श्रेष्ठ, सुशीला कार्की त्रिकालदर्शीहरुलाई यो पोष्ट मार्टम रिपोर्ट कहाँनिर छ त ? नभेटिएको पोष्टमार्टोम रिपोर्ट कुन ब्रह्मज्ञान खोलेर भेटयौ ? सोध्ने र खोज्ने पनि आइपुग्ला । यो अब भावी पुस्तालाई जिम्मा । म त्यो घटनामा असंलग्न व्यक्ति हो ।
तपाईँलाई अहिले पुनः मानहानिको मुद्दा हालेर पक्राउ परिन्छ भन्ने डर छ कि छैन ?
–मिल्थ्यो भने गगन थापा, रविन्द्र मिश्र लगायतका नेता बनेका साथीहरु हुनुहुन्छ । उहाँहरु बालकृष्ण नियन्त्रण ऐन बनाउने र त्यो ऐन अन्तर्गत बालकृष्णलाई थुन्ने, बालकृष्ण मरेपछि त्यो ऐनको उद्देश्य स्वतः निस्क्रिय हुनेछ भनेर उल्लेख गर्ने तहसम्म हुनुहुन्छ । उहाँहरुलई कहाँको सिखाले त्यस्तो बनाइरहेका छ ? जुन त नेपाल सरकारले बनाएको कानुनअनुसार चालिस घन्टा गनेर छुटेको व्यक्ति हो । गगन थापाजी सांसद भएको बेलामा कांग्रेस नेतृत्वको सरकार बनिरहेको बेला नेपालको संविधानले बर्जित गरेको ऐनले प्रतिबद्धता गरेको, कारागारा व्यवस्थापन विभागमा भएको ऐनमा बर्जित रहेको भ्रष्टचार मुद्दा, प्रदिपजंगा पाण्डेसँग अरु चार जना मानिसहरु छुटाइयो । प्रदिपजंगा पाण्डेलाई पक्राउ गरियो र अस्पताल लगेर राखियो । हिमाल अस्पताल बसेको शीर्षकमा उहाँ गएर घरमा सुत्नु भयो । पछि डिल्लीबजार कारागारमा पत्र गयो प्रदिपजंगा पाण्डेको मुद्दा फिर्ता लिइयो । जुन संविधान, ऐन र नियमअनुसार लिन पाइँदैन । त्यसरी छुटाउने गगनजी र उहाँको पार्टी सबै ज्यान मुद्दामा चालिस प्रतिशत कैद भुक्तान गरेपछि कारागारको सिफारिसमा २४० जना ज्यानमाराको हुलभित्र बालकृष्ण ढुंगेल एक जना छुट्यो । अरु मानिसको मतलब नै छैन । बालकृष्ण ढुंगेल चाहीँ जेलमा नै हुनु पर्यो ।
संविधानसभाको सदस्य, अहिले सांसद युवा पुस्ताले आशा गरेको नेताको बुद्धि यही हो त ? संविधानसभा निर्वाचनमा गगनजीले जसरी निर्वाचन जितेको हो मैले पनि त्यसरी नै जितेको हो । गगनजीले आफँैले भोट हालेर जितेको हो भने मैले पनि आफँै भोट हालेर जितेको हो । उहाँलाई जनताले भोट हालिदिएको भए मलाई पनि जनताले भोट हालेर जिताइदिएका हुन् । काठमाडौंका जनताले भोट हाल्दा चाहीँ जनताले भोट हालेको हुने ? ओखलढुंगाका जनताले भोट हालेको चाहीँ भोट हालेको नहुने ? हामी सभासद थियाैँ । उहाँले मलाई व्यक्तिगत रुपमा दाई तपाईँ परिबन्दको बञ्चरोमा पर्नु भयो भन्ने । अनि बाहिर नाम आउने भो भारत र अमेरिकाले स्याबास दिने भो युरोपिय युनियनको डलर मैले पाए, सुनको पलङ्ग हाल्न नपाए पनि अलि महंगो तन्दा हाल्न पाउने भए भन्ने आशले बोल्नु भएको हो नि ? होइन समाजमा न्याय स्थापित गर्छु भनेर बोल्नु भयो ।
प्रदिपजंग पाण्डे छुट्दा के गगनजी धतुरो खाइरहनुभएको थियो ? बेमाइनीको पनि हद हुन्छ नि ? थाहा पाएको मान्छेले यसरी बोल्न हुन्छ ? रविन्द्र मिश्रले रायमाझी आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर कहिल्यै भनेको सुन्नभएको छ ? आज गगन थापाले रायमाझी आयोगको प्रतिवेदन कहाँ हरायो भनेर बोल्नुभएको छ ? युवा पुस्ता भनिएका कम्युनिष्ट हुन् वा कांग्रेसका, चाहे नयाँ–नयाँ किराभुरा जनताले गोली खाएर गणतन्त्र ल्यादिएपछि पार्टी खोल्नको निम्ति आउने रविन्द्र मिश्रजस्तो हजारौ आउलन् । आउन नपाउने भन्ने त होइन । पार्टी खोल्न पाउँछन् । हिजो प्रजा परिषद् सिध्याएर कांग्रेस भएको जस्तो गणतन्त्रको जननी बन्न मिश्रजस्ता धेरै मानिसहरु आउन सक्छन् ।
तपाईँलाई अहिले कस्तो लागिरहेको छ ?
–जिउँदो मानिसको अन्तिम ठाउँ भनेको जेल हो । मृतकको अन्तिम ठाउँ भनेको घाट हो । निर्दो मानिसलाई जबरजस्ती अपराधी बनाएर जेल हाल्ने चालिस प्रतिशत भुक्तान कटान गरेर जीवनको उर्वर समय जेल बसेर बिताएर आइसकेको मान्छु हुँ । अब डराउनु पर्ने के छ र ? मरेको मुर्दा लैजाने भनेको घाटमा हो । त्यसलाई चिताको किन चिन्ता ? जिउँदो मानिस पुग्ने जेल हो । किन चिन्ता ? मलाई सर्वोच्च अदातलते मानहानीको अभियानमा मुद्दा हालेर हराइदेला । ऐन संशोधन हुने भए मलाई गगन थापाहरुले मृत्युदण्ड देलान् । मैले २०५२ सालमा मेरो जीवन राजिनामा गरेको हुँ । त्यति बेला नै कांग्रेसको सरकारले मलाई जेल हाल्ने बेलामा यो त असल मान्छे रहेछ भनेर हिटरमा पिसाब फेराएको पनि होइन । म त संयोग नमिलेर बाँच्दै आएको मान्छे हुँ । रायमाझी आयोगको प्रतिवेदन सार्वजनिक गरेर जेल हाल्नु पर्ने मान्छेलाई उपप्रधान एवं गृहमन्त्री बनाएपछि बालकृष्ण ढुंगेलहरु जाने कहाँ जेल नै त हो । कमल थापा उप्रधानमन्त्री भएपछि म जेल गए । आयोगको प्रतिवेदन सार्वजनिक गरेको भए कमल थापालाई मैले फलफूल लिएर भेट्न जानु पर्दथ्यो । जेल त ऊ जान्थ्यो । जसले गणतन्त्रको लागि लड्यो । जसले हिटरमा पिसाब फेर्यो, जसले यातनाको निलडाम बोक्यो, तिनिहरु जाने हुन् । हुँदाहुँदा भोलि जिउँदा भए बा आमालाई नभए शहीदको छोराछोरीलाई पनि जेल हाल्नुपर्छ सडकमा आउने अवस्था छ । गणतन्त्र मागेर जनयुद्धमा लागे बापत ।
तपाईँको आगामी योजना के छ ?
–प्रकृतिलाई प्रविधिमा बदल्ने र नेपालको पहरालाई लहराको थाग्राको देश बनाउने, हिजो राजा पञ्चायतका सरकारहरु पनि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्दै हिँडे, अनिकालमुक्त चुल्हाको नारा कसैले पनि लगाएनन् । यो अभियानमा म लाग्नेछु । विषमुक्त भान्सा बनाउने अभियानमा लाग्छु । भान्साबाट विष र चुल्होबाट अनिकाल लखेटाैँ भन्ने अभियानअन्तर्गत मेरो राजनीतिक काम पार्टी संगठनको कामसँगै लिएर जान्छु ।
तपाईँ आत्म वृत्तान्त लेख्दै हुनुुहुन्छ ?
म आत्म वृत्तान्त ल्याउँदिनँ । मैले प्रकृति नष्ट गरेको वन मुद्दा खेप्नु छैन । भोलिको पुस्ताले वन मुद्दा हाल्छ । मलाई थाहा छ । कागज उत्पादन गर्न वनस्पती चाहिन्छ । मेरो आत्मवृत्तान्त किताब बन्न थालेपछि अरुले के लेख्ने ?
विप्लव नेतृत्वको नेकपाले तपाईं जेल पर्दा जुलुश नै निकाले तपाईं उनीहरुलाई के भन्नु हुन्छ ?
उहाँहरुको आँटलाई मेरो सलाम छ । तर अहिले त्यो बाटोमा जाँदाखेरि थितिमा पुग्न सकिँदैन । वैचारिक राजनीतिक रुपमा छलफल गरौँ । दुई तिहाई बहुमतको सरकार छ । यसलाई वैचारिक राजनीतक काममा अगाडि बढाउन सहयोग गर्नुपर्छ । मलाई गिरफ्तार गर्दा मेरो पार्टीले विज्ञप्ती ननिकाल्दा उहाँहरुले राजनीतिक व्यक्ति हो भनेर भन्नुभएको छ । म हृदयबाट धन्यवाद दिन चाहन्छु । सरकारले काम गर्न नसक्ने हो भने जनता आफैँले विकल्प खोजिहाल्छन् ।