शान्तिसुरक्षाको निम्ति प्रहरीलाई थप शसक्त बनाएर लैजान प्रधानमन्त्री ओलीको निर्देशन

Diyo post  

 

काठमाडौँ, २५ असोज ।प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्तिसुरक्षाको सुनिश्चित गर्नको लागि प्रहरीलाई थप शसक्त भएर अगाडी बढ्न निर्देशन दिएका छन् समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताउदै प्रधानमन्त्री ओलीले वर्तमान समयमा देखिएको गतिविधिको निराकरण गर्न र आगामि दिनहरुमा देखिने सम्भावित अपराधलाई नियन्त्रण गर्न प्रहरी थप शक्तिशाली रहन आवश्यक रहेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकार प्रमुखका रुपमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई उत्तरदायित्व बहन गर्नसक्ने वातावरण निर्माण गर्न आफू कटिबद्ध रहेको समेत बताएका छन्र ।
राज्यको आन्तरिक सुरक्षाको मेरुदण्डका रुपमा आफूलाई स्थापित गर्दै संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना गर्नका लागि सञ्चालित मिसनहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तराष्ट्रिय स्तरमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको प्रधानमन्त्रीले बताए । “सीमित स्रोत र साधनका बीच नेपाल प्रहरीले मुलुकको आन्तरिक सुरक्षामा खेलेको भूमिका प्रशंसायोग्य रहेको भन्दै स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री ओलीले प्रहरीलाई थप व्यावसायिक बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले तथ्याङ्कअनुसार प्रहरीले ९० प्रतिशत घटनाको सफलतापूर्वक ढङ्गले अनुसन्धान गरेर अभियुक्त पत्ता लगाए पनि यसलाई पर्याप्त मान्न नसकिने बताए “तथ्याङ्कले राम्रो अनुसन्धान गरेको देखाए पनि एउटा संवेदनशील मुद्दामा तपाईहरु यदि असफल हुनुभयो भने यसले पु¥याउने चोटलाई सजिलै भरपुर गर्न सकिँदैन”, उनले भने।

उहाँले प्रहरीलाई व्यावसायिक र सुदृढ सङ्गठन बनाई विदेशस्थित नेपालका विभिन्न दूतावासमा राख्ने जनशक्ति व्यवस्थापनमा नेपाल सरकार गम्भीर रहेको बताएका छन्। सङ्घीयता कार्यान्वयनमा नेपाल प्रहरीले खेलेको भूमिका मुलुक र जनताका लागि महत्वपूर्ण भएको बताए ।

मुलुक सङ्घीयतामा गएसँगै प्रहरी सङ्गठनलाई पनि सङ्घीय ढाँचाको रुपान्तरणमा लैजानका लागि आवश्यक सङ्घीय प्रहरी ऐन निर्माणमा नेपाल सरकार लागिरहेको प्रधानमन्त्री ओलीले बताए । प्रहरी आम नागरिकभन्दा पृथक र उदाहरणीय हुनु जरुरी रहेको उहाँको भनाइ थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई नमूना सङ्गठनका रुपमा विकास गर्न आफू लागिरहेको बताए । “हरेक प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सक्षम छ, घटनाको अनुसन्धानका लागि समय र धैर्यता आवश्यक छ”, उहाँले भन्नुभयो ।

महानिरीक्षक खनालले मुलुकको शान्ति सुरक्षाका लागि सबैले आआफ्नो क्षेत्रबाट प्रहरीलाई सहयोग गर्नुपर्ने बताउनुभयो । सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले दैनिक १८ घण्टा मुलुक र जनताको सेवा गरेको उल्लेख गर्नुभयो । रासस

सम्बन्धित खबर