काठमाडौँ, २७ असोज । शनिबार साँझ घुससहित पक्राउ परेका बौद्ध वृत्तका डिएसपी श्यामकुमार राईले सामान्य भट्टीदेखि बालुवा कारोबारीसँग नियमित पैसा उठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एक बालुवा व्यापारीसँग उनले वृत्तमा गएको केही हप्तामै २ लाख ५० हजार रुपैयाँ लिएका थिए । बालुवा ओसार–पसारमा अनावश्यक दुःख नदिने सर्तमा व्यापारीले उनलाई पैसा दिएका थिए ।
शनिबारको नयाँ पत्रिकामा खबर छ , पछि फेरि डिएसपीले टिभी किनिदिन आग्रह गरे । पहिले नै धेरै पैसा बुझाएकाले ती व्यापारी टिभी किनिदिन तयार भएनन् । पछि डिएसपी राईले सोनी ब्रान्डको ७० इन्चको टिभी आफैँले किनेको र त्यसको बिल तिरिदिन भन्दै १ लाख ४० हजार रुपैयाँ मागे । पटक–पटक मागेपछि ती व्यापारीले अख्तियारलाई खबर गरेर शनिबार पैसा दिएका थिए । पैसा लिएलगत्तै उनी कार्यकक्षबाटै पक्राउ गरे ।
३ वर्षअघिदेखि अख्तियारले उनलाई पिछा गरेको थियो । चापागाउँ वृत्तमा हुँदा उनलाई पक्राउ गर्न आयोगबाट प्रहरी टोली खटिएको थियो । तर, उनले आयोगको टोलीलाई नै छक्याएर घुस लिएका थिए । बौद्धमा पनि उनीविरुद्ध धेरै उजुरी आएको आयोगका एक अधिकारीले बताए । चतुर तरिकाले घुस लिने भएकाले उनी पक्राउ परेका थिएनन् । अख्तियारले पिछा गरेको ३ वर्षपछि उनी पक्राउ परेका छन् ।
प्रहरी पक्राउका शृंखला
३१ भदौमा एकैपटक कोटेश्वर, काँडाघारी तथा नयाँठिमी प्रभागका ९ प्रहरी घुससहित पक्राउ परे । उनीहरूमाथि अनुसन्धान गर्दा थप २ प्रहरीले ‘लाइन मिलाएर’ पैसा लिने गरेको खुल्यो । सइ गोविन्द खरेल, ज्योति विष्ट, असइहरू गोपाल श्रेष्ठ र सुवास ढुंगाना, प्रहरी हवल्दारहरू उमेशलाल यादव, अमन चौधरी र दीपक भारती तथा प्रहरी जवानहरू मुकेशकुमार पटेल, दीपेन्द्र कुँवर, मानसिंह रोका र रत्नप्रसाद रिजाल पक्राउ परेका थिए । उनीहरूले पनि बालुवा व्यापारीसँग मासिक पैसा लिने गरेका थिए ।
५ मंसिरमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्र्कका प्रमुख इन्स्पेक्टर हरिहर सुनुवार ५० हजार घुससहित पक्राउ परे । उनी ठूलै नेताको सोर्सफोर्स लगाएर त्यहाँ सरुवा भएका थिए । नयाँबसपार्क क्षेत्रका होटेल तथा लजसँग मासिक लिने दररेट उनले बढाएका थिए । असन्तुष्ट बनेका स्थानीय एक लजका सञ्चालकले अख्तियारलाई खबर गरेर उनलाई पक्राउ गराएका थिए ।
गतवर्ष असोजमा बालाजु वृत्तका डिएसपी नवीनकृष्ण भण्डारी तथा असइ चन्द्रसिंह भाट पक्राउ परेका थिए । उनले नक्कली कागजपत्र बनाएको आरोपमा पक्राउ परेका व्यक्तिलाई ५ लाख रुपैयाँ घुस लिएर छाडेको अनुसन्धानमा खुल्यो ।
त्यस्तै, बानेश्वर वृत्तका डिएसपी रमेश तामाङ जग्गा विवादमा सहयोग गरिदिने भन्दै घुस लिँदा पक्राउ परे । ८ माघ ०७१ मा उनी ५० हजार रुपैयाँ घुससहित पक्राउ परे । १२ साउन ०६९ मा थानकोट वृत्तका डिएसपी तेजेन्द्र पौडेल ३५ हजार घुससहित पक्राउ परेका थिए ।