काठमाडौं, कार्तिक ६ । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । मानवअधिकार उंलघन कर्ता वा निकायलाई कारवाहीका लागि सिफारिस गरेपनि कार्यान्वयन नभएपछि आयोग स्वयमले सिफारिस कार्यान्वयन नगर्ने निकाय वा व्यक्तिको नाम सार्वजनिक गर्ने तयारी गरेको हो ।
मानवअधिकारको उंल्लघन जस्तो गम्भीर अपराधमा संलग्नलाई कारवाही गर्न सिफारिस गर्ने तर कारवाहीको प्रक्रिया अघि बढ्न नसक्दा आयोग सिफारिसको अंग मात्रै भएको भन्ने जनगुनासो बढेपछि आयोगले आफ्नो अधिकार प्रयोग गरि सिफारिस कार्यान्वयन नगर्ने मन्त्रालय वा सम्बन्धीत अधिकारीको नाम सार्वजनिक गर्ने तयारी गरेको हो ।
सिफारिस कार्यान्वयन नगर्नेलाई कारवाही गर्ने तयारी गरेको आयोगले ६ महिना वितिसक्दा पनि सो सम्बन्धी कार्यविधिलाई अन्तिम टुंगो लगाउन सकेको छैन । संविधान अनुसार सिफारिस कार्यान्वय नगर्ने निकाय वा पदाधिकारीको नाम सार्वजनिक गर्न आयोगले कार्यविधि बनाउनुपर्ने हुन्छ ।
६ महिना सम्म कार्यविधि टुंगो लगाउन आफै असक्षम बनेको आयोग÷कानुनी शासन कायम गर्न नसकेको, मानव अधिकार रक्षाका लागि अपनाउनुपर्ने प्रक्रियामा ध्यान नपुराएको तथा सिफारिस कार्यान्वयनमा उदासिन बनेको भन्दै सरकार प्रति असन्तुष्ठ छ ।
सदस्य पाठकले सरकारले आयोगको अनुसन्धान चित्त नबुझे पुन अनुसन्धानका लागि सिफारिस गर्नुपर्ने बताउनुभयो । उहाँले पुनः अनुसन्धानका लागि पनि सिफारिस पनि नगर्ने र अनि दोषिमाथि कारवाही पनि अघि नबढाउने काम सरकारबाट हुनु दुखद भएको टिप्पणी गर्नुभयो ।
आयोगले स्थापनाको १८ बर्षमा मानवअधिकार उलंघनका विभिन्न घटनाको अनुसन्धान गरि सरकारलाई ८ सय ५३ बढी सिफारिस गरेको छ । सरकारले परिपुरण र क्षतिपुर्तिको सिफारिस कार्यान्वय गरेपछि एउटा पनि कारवाहीको प्रक्रिया अघि बढाएको छैन । मानवअधिकार उंलघनका दोषिमाथि कारवाही प्रक्रिया अघि बढ्न नसक्दा पछिल्लो समय आयोग सिफारिस गर्ने निकायको रुपमा चित्रित हुदै आएको छ ।