काठमाडौँ, कात्तिक ९ । निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणको ९२ दिन पुगिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । गत साउन १० मा वेपत्ता भएकी निर्मलाको शव भोलिपल्ट ११ साउनमा उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले खटाएको टोलीले अनुसन्धान गर्दा उल्टै प्रमाणहरु नष्ट गरेको भन्दै चौतर्फी विरोध भयो । इन्सपेक्टर एकेन्द्र खड्काले डेढ सयभन्दा बढी व्यक्तिलाई जिप्रकामै बोलाएर सोधपुछ गरे । जीवन घर्ती, दिपक नेगी, चक्र बडु र हेमन्ती भट्टलाई पक्राउ गरि शारीरिक यातना सम्म दिने काम गरे । हाल खड्का निलम्वित छन् ।
शुक्रबारको नयाँ पत्रिकामा खबर छ –चौतर्फी विरोध र आन्दोलनको कारण सरकारले सिआईवि इन्सपेक्टर अंगुर जिसीको नेतृत्वमा टोली खटायो । तर, मानसिक सन्तुलन ठिक नभएका भनिएको वाँगाफाटाका ४१ बर्षिय दिलिपसिंह विष्टलाई अभियुक्त ठहर गरि हिरासतमा लिईयो । विभिन्न खालका शारीरिक तथा मानसिक यातना दिँदा समेत अपराध कबोल नगरेपछि डिएनए परिक्षणपश्चात विष्ट निर्दोष ठहरिए । निर्दोष व्यक्तिलाई दोषी प्रमाणित गर्नकै लागि शारीरिक तथा मानसिक यातना दिएको कारण जिसी हाल निलम्बित छन् ।
दोषी पत्ता लगाउन नसकेपछि एसएसपी उत्तम सुवेदीको नेतृत्वमा टोली गठन भयो । तर, सुवेदी विदेशमा भएको कारण एआइजी धिरु बस्नेतको नेतृत्वमा छानविन समिती गठन भयो । सो समितिले एसएसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई सेवाबाट हटाउन सिफारिस गरेअनुसार गृह मन्त्रालयले दुवै अधिकारीहरुलाई विहीबार निलम्वन गर्यो । बस्नेत नेतृत्वको समिति छानविनकै क्रममा रहेको बताउँछ ।
सिआइविका पहिलो टोली विवादमा फसेपछि तत्कालीन एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा अर्को टोली गठन भयो । हाल ज्ञवाली बढुवा भएर अख्तियारमा सरुवा भएका छन् । सो टोलीका डिएसपी कमल थापाको नेतृत्वमा सिआइवि टोली अहिले पनि अनुसन्धानको क्रममै छ ।
महिला प्रहरीलाई स्थानियले सुचना दिन सक्ने आकलन गरी एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाईयो तर उनी पनि अनुसन्धानकै क्रममा रहेको बताउँछिन ।
दिलिपसिंह विष्टलाई पक्राउ गरेको भोलिपल्टदेखी स्थानियले आन्दोलन चर्काए । चरम हुँदै गएपछि प्रहरीले गोली चलायो जसबाट १४ बर्षिय किशोर शनि खुनाको मृत्यु भयो भने दर्जन घाइते भए । गृहमन्त्रालयले हरिप्रसाद मैनालीको संयोजकत्वमा पुनः छानविन समिति बनायो जसमा नेपाल प्रहरी , शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १–१ जना डिआइजी तथा प्रदेश ७ का उपसचिव समेत सदस्य थिए । सोही समयमा ७ जना प्रहरीलाई निलम्वन गर्यो । तर अभियुक्तको बारेमा केही सुइको समेत दिन सकेन ।
अनुसन्धान लथालिंग हुन थालेपछि प्रहरीमाथि समेत विश्वासको वातावरण रहेन । त्यसपछि प्रहरी प्रधान कार्यलयले एक गोप्य टोली कञ्चनपुर पठायो । एक सातासम्म कञ्चनपुर बसेर सुचना संकलन गर्यो तर उक्त टोलीले पनि अनुसन्धानमा प्रहरीकै लापरवाही भएको भन्ने वाहेक अभियुक्त पत्ता लगाउन सकेन ।