भाकपा नेता यचुरी भन्छन- ‘कम्युनिष्ट सिद्धान्त गल्ती होईंन, लागु गर्न नसक्नु कमजोरी हो’

दियो पोस्ट  

काठमाडौँ, ९ कात्तिक । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम येचुरीले लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेपालमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन भएबाट विश्वका कम्युनिष्टलाई प्रोत्साहन मिलेको बताएका छन् ।
शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित भारतीय कम्युनिष्ट आन्दोलनको अनुभवसम्बन्धी अन्तरक्रियामा उनले अन्तरर्विरोधलाई सही ढङ्गले बुझेर अघि बढेमा मात्र सकारात्मक परिणाम हासिल गर्न सकिने बताए ।

सिद्धान्तमा गल्ती नभई समाजवाद लागू गर्न नसकेकामा सोभियत सङ्घको अवसान भएको बताउँदै महासचिव येचुरीले गल्तीलाई नस्वीकार्नु र सुधार गर्न नचाहनु चाहिँ गल्ती हुने स्पष्ट पारे । राजनीतिक, साङ्गठनिक र अन्य कारणले भारतीय कम्युनिष्ट पार्टीको आन्दोलन र कार्यसूचीलाई प्रभावकारी तुल्याउन नसकिएको उल्लेख गरे । बङ्गालमा आफ्ना २०० कार्यकर्ताको हत्या भएकाले सङ्गठन कमजोर भएको जानकारी दिए ।

देशको परिस्थितिलाई बुझेर ठीक समयमा ठोस निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने पाटोलाई सबैले मनन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै उनले नेपालमा देखिएको कम्युनिष्ट पार्टीको आन्दोलन निकै प्रभावकारी बनेको विचार प्रकट गरे ।
अभ्यास र सिद्धान्तबीच एकार्कालाई तालमेल मिलाएर लैजान आवश्यक रहेको सुझाव दिँदै महासचिव येचुरीले सङ्गठनलाई अघि बढाउने सिलसिलामा आउने चुनौतीको समयमै सम्बोधन गर्न सक्नुपर्छ बताए ।
भारतीय र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै घनिष्ठ र सुमधुर रहेको बताउँदै महासचिव येचुरीले नेपाल र भारतबीच ठूलो र सानो नभई जुम्ल्याहा भाइको जस्तो सुमधुर र घनिष्ठ सम्बन्ध रहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पुष्पलाल प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले भारतीय कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच धेरै पुरानो र घनिष्ठ सम्बन्ध रहेको बताए ।

TATA ADD