कांग्रेसमा पदाधिकारी नथपिदा युवा नेताको विचल्ली : गगन, विश्वप्रकाश, प्रदीप र गुरुहरुका लागि दुर्भाग्य !

Diyo post  

काठमाडौं, १२ कार्तिक । महासमिति बैठकबाट आफू शक्तिशाली हुने गरी विधान संसोधन नहुने भएपछि सभापति शेरबहादुर देउवा पक्ष आफनो योजनाबाट ‘ब्याक’ भएको छ । सभापतिको मात्रै निर्वाचन गर्ने र ९ अन्य पदाधिकारी आफू अनुकूल मनोनित गरेर शक्तिशाली सभापति हुने महत्वकांक्षा बोकेका सभापति शेरबहादुर देउवाको बाटोमा रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला तगारो बनेर उभिदिएपछि उनको योजना विफल भएको हो ।

देउवाले आफ्नो बहुमत रहेको केन्द्रीय विधान संसोधन मस्यौदा समितिमा पहिलो विकल्पमा सभापतिको मात्र निर्वाचन गरेर अरु पदाधिकारीलाई मनोनित गर्ने महत्वकांक्षी र आफू शक्तिशाली बन्ने विषय ल्याएका थिए । तर, देशभरका कार्यकर्तामा सुझाव संकलन लिनका लागि छापेर नै प्रारम्भिक मस्यौदा बाडिएपछि नेता पौडेल र सिटौला पक्ष एकाएक सशंकित बन्न पुग्यो ।

अब पदाधिकारी नथपिने

पौडेल र सिटौला पक्षको असहमति अनि केन्द्रीय समितिबाट पास भएपछि संसोधित विषय महासमितिको दुई तिहाईबाट पास हुन गाह्रो पर्ने भएपछि पार्टी संस्थापन पक्षले यस अघि कायम भएकै पदाधिकारीलाई मान्ने बुझिएको छ । यस अघि नेपाली कांग्रेसमा सभापति, महामन्त्री र कोषाध्यक्षको मात्र निर्वाचन हुने गर्दथ्यो । तर, एकएक जना उपसभापति, महामन्त्री र सहमहामन्त्रीलाई सभापतिले मनोनित गर्ने वैधानिक व्यवस्था थियो । पूर्णबहादुर खड्का नेतृत्वको समितिले पहिलेकै व्यवस्थालाई नबदल्ने भएको हो ।

किन पछि हट्यो संस्थापन ?

 

संस्थापन पक्षले आफू अनुकूल पदाधिकारी बढाएर मनोनित गर्न सकने अवस्था नभएको र बढेका पदाधिकारीहरु १४ औं महाधिवेशनबाट मात्र लागू गर्नुपर्ने पौडेल र सिटौलाको अडानबाट पुरानो दबाब बदलेको बुझिएको छ । विधान मस्यौदा समितिमैं रहेका नेपाली कांग्रेसका एक सदस्यका अनुसार पदाधिकारी पनि थप्ने, महासमिति लगत्तै बढेका पदहरुमा आफू निकटका नेताहरुलाई नै समेट्ने र १४ औं महाधिवेशनमा पनि आफ्नै नेतृत्व स्थापित गर्ने सोच पूरा नहुने भएपछि संस्थापन पक्ष गलेको हो ।

घाटा गगन, विश्व र प्रदीपहरुलाई

पदाधिकारी नबढ्दाको सबैभन्दा गहिरो मारमा नेपाली कांग्रेसका आशालाग्दा युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरु घिमिरेहरुलाई पर्ने देखिएको छ । तत्कालीन एमालेमा युवा नेतारु पदाधिकारी भइसक्दा कांग्रेसलाई पनि बहुपदमा गएर युवा नेताहरुलाई अवसर दिनुपर्ने दबाब थियो । तर, अब पार्टी संस्थापनले पदाधिकारीहरु नथप्ने नै अन्तिम निर्णय गरेर विधानमा संसोधन नगरे यी नेताहरुलाई १४ औं महाधिवशेनबाट पदाधिकारीमा पुग्न निक्कै गाह्रो हुने देखिएको छ ।

जम्मा ६ वटा पदमा यी प्रभावशाली नेताहरुलाई प्रवेश पाउन निक्कै मुस्किल पर्न सक्ने देखिएको छ । १० पदाधिकारी भए महामन्त्री, उपसभापति, सहमहामन्त्री पनि बढ्छन् । यस्तोमा दुईदेखि तीन युवा नेतालाई पदाधिकारी पुग्ने अवसर आउँने थियो ।

नेपाली कांग्रेसमा उमेमार ६० नाघेका झण्डै दुई दर्जन नेताहरु अहिले पनि केन्द्रीय पदाधिकारी बन्ने लाइनमा छन् । यस्तो हुँदा ४० देखि ५० को हाराहारी उमेर भएका नेताहरुहरुले अवसर पाउँने सम्भावना कमजोर देखिन्छ । युवा नेताहरु कुनै गुटमा लागेर निर्वाचन लड्दा कुनै एकजनाले अवसर पाउँन सक्छन् । तर, एक जनाले अवसर पाए अरु चर्चित युवा नेताहरुले १४ औं महाधिवेशनपछिको चार वर्षसम्म केन्द्रीय सदस्यमैं चित्त बुझाउनुपर्ने अवस्था आउन सक्छ ।

सम्बन्धित खबर