कस्तो छ प्रधानमन्त्रीलाई ?

दियो पोस्ट  

शरीर दुई दिनदेखि सुन्निएको छ, अनुहार र छाती रातो भएको छ :

छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओली स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उनलाई स्वासनलीको संक्रमण (रेस्पिरेटोरी ट्य्राक्ट इन्फेक्सन) भएको छ ।

दसैँको टीकाको दिनदेखि बिरामी भएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार नदेखिएपछि सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । सुरुमा सामान्य रुघाखोकी लागेका उनलाई छाती दुखाइ र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको हो । एक दशकअघि मिर्गौला प्रत्यारोपण गरेकाले उनलाई चाँडै संक्रमण हुने समस्या छ ।

सेन्टरका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म पुग्न नदिन चिकित्सकहरूले प्रयास गरिरहेको बताए ।

सिसियूमा राखिएका प्रधानमन्त्रीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह र डा. प्रकाश काफ्ले, छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास र एनेस्थेसिया डा. सुवास आचार्य खटिएका छन् । केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।

दसैँको टीकापछि संक्रमण
ओलीले आमसर्वसाधारणलाई दसैँको टीका लगाइदिए । प्रधानमन्त्रीले टीका लगाइदिने सार्वजनिक घोषणा नै गरेपछि पार्टी कार्यकर्ता, सर्वासाधारण र शुभचिन्तकको बालुवाटारमा टीका थाप्न भिड लाग्यो । भिडभाडमा लामो समय रहँदा नै संक्रमण भएको प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले बताइन् । मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति भिडभाडमा ५ मिटरको दूरीमा बस्दासमेत श्वासप्रश्वासको माध्यमबाट संक्रमण फैलन्छ ।

दसैँको भिडभाडकै कारण मौसमी फ्लु (रुघाखोकी)को संक्रमण भएका प्रधानमन्त्रीलाई निजी चिकित्सक डा. दिलीप शर्माले घरमै उपचार गराएका थिए । गत शुक्रबार शिक्षण अस्पतालमा छातीको एक्सरे पनि गरिएको थियो । तर, कुनै समस्या नदेखिएपछि आत्तिनु नपर्ने सल्लाह चिकित्सकले दिएका थिए । तर, रगतमा सुगरको मात्रा पनि बढ्यो । घरमै नियन्त्रणको प्रयास सफल भएन । आइतबार निरन्तर खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल ल्याइएको निजी चिकित्कसले बताए । ‘घरमै सुगरलगायत समस्या कन्ट्रोल गर्न खोजेका थियौँ, तर नसकेपछि अस्पताल ल्याएका हौँ,’ डा. सिंहले बताइन् ।

यस्तो छ स्वास्थ्य रिपोर्ट
प्रधानमन्त्रीको शरीर दुई दिनदेखि सुन्निएको छ । गाला, अनुहार र छाती रातो भएको छ । रगतमा चिनीको मात्रा असन्तुलित छ । तर, मौसमी फ्लु भनेर चिनिने एच वन एन वन (स्वाइनफ्लु) भने नेगेटिभ छ । ज्वरो भने आएको छैन । चिकित्सकका अनुसार स्वासनलीमा संक्रमण देखिएपनि फोक्सो, मुटु र मिर्गौलासम्म पुगेको छैन । प्रधानमन्त्रीको स्वास्थ्यको नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको हो ।

नेकपा शीर्ष नेताले भेटे
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई पार्टीका शीर्ष नेताहरूले अस्पताल गएर भेटेका छन् । अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सचिवालय सदस्यद्वय एवं पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल र माधवकुमार नेपालले अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । यसैगरी गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव ईश्वर पोखरेल, उद्योगमन्त्री मातृका यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत पनि अस्पताल पुगेका थिए । तर, भिडभाडले थप जोखिम बढाउने भन्दै चिकित्सकले भेटघाटलाई कम गराएका छन् ।

उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. अरुण सायमी भन्छन्, ‘अहिले मुटु र मिर्गौलाको समस्या छैन’

डा. अरुण सायमी
प्रधानमन्त्रीको उपचारमा तपाईंहरु जुटिरहनुभएको छ, उहाँको अवस्था कस्तो छ ?
राति २ बजेदेखि उहाँकै उपचारमा खटिएका छौँ । म भर्खरै (सोमबार साँझ ७ बजे) घर आएँ । दुई–तीन दिन अगाडिदेखि नै उहाँलाई भाइरल ज्वरो आएको थियो । शुक्रबारै पनि बालुवाटार गएर हामीले हेरेका हौँ । छातीको एक्सरे गरेका थियौँ, अप्ठेरो केही थिएन । त्यही दिन हस्पिटल भर्ना हुने कि भनेको उहाँले मान्नुभएन । एक–दुई दिन हेरौँ न भनेर औषधि चलायौँ । त्यतिखेरसम्म ज्वरो पनि थिएन । अस्तिको पार्टीको चियापानमा हामीले नै नजान भनेका हौँ । उता चियापान चलिरहेको वेला म प्रधानमन्त्रीसँगै बालुवाटारमा थिएँ । तर, हिजो राति श्वास फेर्न धेरै गाह्रो भयो भन्ने खबर आयो, त्यसैले राति नै अस्पताल भर्ना गरियो । पहिले भाइरल ज्वरो आयो, पछि छातीमा संक्रमण पनि भयो । त्यसैले श्वास फेर्न गाह्रो भएको हो । तर, अहिले चलाएको औषधिले दुई–तीन दिनमा क्लियर हुन्छ ।

प्रधानमन्त्रीलाई अहिले मुटु अस्पतालमा भर्ना गरिएको छ, खासमा उहाँलाई मुटुकै समस्या हो ?

होइन भने त्यहाँ किन लगिएको होला ?
हुन त उहाँलाई मुटुको धड्कन बढ्ने समस्या छ, त्यसैले हामीकहाँ आइराख्नुहुन्छ । २५ वर्षदेखि नै उहाँलाई मैले हेर्दै आएको छु । डा. दिव्या सिंह शाहले उहाँको मिर्गौलाको ‘केयर’ गरिरहनुभएको छ । अंग प्रत्यारोपण गरेका व्यक्तिलाई संक्रमणको जोखिम बढी हुन्छ । त्यसैले हेरविचार पनि बढी गर्नुपर्छ । टिचिङमा राख्नुभन्दा केही इमर्जेन्सी प-यो भने सजिलो हुन्छ भनेर यता मुटुको अस्पतालमा राखिएको हो । सुविधाका हिसाबले पनि यता सजिलो छ । पहिले पनि हामीले त्यहीँ राखेका हौँ । तर, अहिले मुटु र मिर्गौलाको समस्या होइन । औषधिका कारणले मुटुको धड्कन घट्ने/बढ्ने अहिले पनि छ, तर मुटुको आफ्नै समस्याले होइन ।

उहाँको स्वास्थ्यमा पछिल्लो समस्या के कारणले भयो भन्ने छ ?
धेरै धपेडी भयो । टीकाको वेला धपेडी भयो । राजनीतिक भेटघाट पनि जारी राख्नुभयो । अन्तर्वार्ता दिनुभयो । सचिवालय बैठकमा बस्नुभयो । राष्ट्रपति कतार जाने भनिएकाले आइतबार मन्त्रिपरिषद्को बैठक पनि बस्नुप-यो । भाइरल रुघाखोकी लागेपछि पनि टोटल रेस्ट भएन ।

डा. सन्तकुमार दास छातीरोग विभाग प्रमुख, शिक्षण अस्पताल

‘घ्यारघ्यार घटाउने स्टेरोयड औषधिले सुगर बढाउँछ, त्यसैले निगरानीमा राख्न अस्पताल ल्याइयो’

मुख्य दुईवटा विषयले हामीले अस्पताल ल्याएका हौँ । काठमाडौंमा अहिले सिजनल रुघाखोकी छ । उहाँलाई पनि त्यही लागेको हो ।

पछि इन्फेक्सन पनि भयो । यसलाई हामी सुपरएडेड निमोनिया भन्छौँ । त्यसैले उहाँलाई घ्यारघ्यार हुने समस्या भयो । खासगरी आइतबार दिउँसो ३ बजेदेखि अलि बढेको हो । राति अलि अप्ठेरो भयो ।

सामान्य औषधिले घ्यारघ्यार नियन्त्रण नभएमा स्टेरोयड औषधि दिनुपर्छ । तर, त्यो औषधिले सुगर बढाउँछ । यसरी घ्यारघ्यार र सुगर दुवै नियन्त्रणमा राख्न निवासमा भन्दा अस्पतालमा सहज हुन्छ ।

अस्पतालमा हामीले स्टेरोयड चलायौँ । अन्य आवश्यक निगरानी पनि राखिराखेका छौँ । त्यसैले घ्यारघ्यारको सिकायत घटेको छ, सुगर पनि नियन्त्रणमा छ । दुई दिनदेखि खाना खानुभएको थिएन, अहिले खाना पनि खानुभएको छ । तैपनि ७२ घन्टा अब्जरभेसनमा राख्छौँ । स्थिति सुधारोन्मुख छ ।

TATA ADD