नयाँ शक्तिको विश्लेषणः कांग्रेस र कम्युनिष्ट पतनको बाटोमा, नयाँ शक्ति चाँडै वैकल्पिक शक्तिको रुपमा उदाउने

Diyo post  

काठमाडौं, कात्तिक १४ । नयाँ शक्ति नेपालले सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसप्रति जनताको विश्वास उड्दै गएको बताएको छ । वुधबारबाट काठमाडौँमा शुरु भएको संघिय वैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन सार्वजनिक गर्दै नयाँ शक्तिले नेकपा र कांग्रेसकाे ब्राण्ड पतनशील रहेको बताएको छ । ७ दशकभन्दा लामो कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पटक बहुमत प्राप्त गरेको र राजनीतिक सहजताको अवस्थामा भएपनि जनमुखी काम गर्न नसकेकोले जनताप्रति कम्युनिष्ट पार्टीको दृष्टिकोण दिनानुदिन नकारात्मक बन्दै गइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

“नेकपा सरकार जनअपेक्षा अनुरुप कार्य गर्न असफल भएको मात्र हैन, उल्टो आफै अकर्मण्यता, भ्रष्टता र यथास्थितिवादको दलदलमा फस्दै गएको छ । दुईतिहाईको दंभमा भएका अबान्छित प्रयत्नहरु बारम्बार असफल भएपछि सरकार आफ्नै नेता–कार्यकर्ताबाट आलोचित हुन थालेको छ । नेकपाभित्रको गुटबन्दी र स्वार्थसमूहहरुको टक्कर झनझन नाङ्गो हुँदैछ । उनीहरु सत्तास्वार्थका लागि जेपनि गर्न सक्ने राजनीतिक दलालको रुपमा प्रस्तुत हुन थालेका छन् । लोकतन्त्रका सामान्य मूल्यमान्यता र मर्यादालाई समेत ख्याल नगरीकन नेकपा सरकार पतनको बाटो उदत्त भएको छ,” प्रतिवेदनमा उल्लेख छ ।

“प्रारम्भमा यो सरकारप्रति जनताको केही आशा–अपेक्षा थियो । आफूलाई कम्युनिष्ट, सर्वहारावादी, जनवादी,गरिबमुखी, समाजवादी, साम्यवादी आदिइत्यादि भन्न रुचाउनेहरुको पहिलो बहुमतको सरकार बन्दा साँच्चै केही हुन्छ कि भन्ने आशा सर्वसाधारणमा जाग्रित हुनु अस्वभाविक थिएन । हाम्रो पार्टीलाई राम्रोसंग थाहा थियो कि यिनीहरु भित्रैभित्रै कुहिएको फर्सी बाहिरबाट सगल्तो देखिएका मात्र हुन् । यिनीहरुले जनसमुदायमा भ्रम छर्न र भोट प्राप्त गर्न सके पनि देशको दीर्घकालीन हित र भविष्यका लागि कुनै सार्थक योगदान गर्न सक्ने छैनन् । हाम्रो पार्टीको आकलन निरन्तर सही सावित हुँदैछ । जनसमुदायमा नेकपाप्रतिको भ्रम निरन्तर टुट्दै गइरहेको छ,” प्रतिवेदनमा भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव नै फुर्के, गफाडी र अनुत्तरदायी भएकोले जनताले उनिबाट धेरै आशा राख्न नसक्नेसमेत ठोकुवा गरेको छ । अनेक बिंगा र उखानटुक्का भनेर जनतालाई भ्रमित गर्न सक्नु नै राजनीति हो भन्ने मनोबैज्ञानिक भ्रमबाट नै वर्तमान प्रधानमन्त्री ग्रसित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेकपा चाँडै नै पतनको बाटोतर्फ उन्मुख भएको र नेपाली कांग्रेसले प्रतिपक्षीको धर्म निर्वाह गर्न नसकेकोले वैकल्पिक शक्तिको रुपमा नयाँ शक्ति चाँडै नै अगाडी आउने विश्वास प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनको पुर्णपाठ

 

सम्बन्धित खबर