टेलिभिजन तथा सिनेमाहलहरु हाँस्य टेलीशृङ्खला र सिनेमाहरुले भरिएका छन् । साना तथा ठूला पर्दामा मानिसलाई हँसाएर मनोरञ्जन दिने एक किसिमको होड नै चलिरहेको छ । हाँस्नु हँसाउनु तथा सबैलाई मनोरञ्जन दिनु निकै राम्रो हो । मानसिक तथा शारीरिक स्वास्थ्यको लागि पनि हाँसो निकै फाईदाजनक छ ।
तर हामी के कुरामा हाँसिरहेका छौँ त ? सिनेमा तथा टेलिशृङ्खलाहरुले हँसाउनको लागि कस्ता विषयवस्तु, संवाद, पात्र आदिको प्रयोग गर्दै छन् ? के हामी हाँसेको कुरामा सबै वर्ग, लिङ्ग, जात, समुदाय तथा भाषाभाषीका मान्छे हाँस्न सकिरहेका छन् त ?
हामीले दिनहुँ जस्तो हेर्दै आएका फिल्म तथा टेलिशृङ्खलाहरुमा हँसाउनका लागि मानिसको जात, वर्ण, लिङ्ग, शारीरिक अशक्तता, वर्ग, भाषाभाषिका, पहिरन तथा संस्कृति आदि पक्षमाथि प्रहार गरिएको पाइन्छ । शक्तिशाली पक्ष मनोरञ्जन गर्दै हाँसिरहँदा कमजोर पक्ष जसलाई अशक्तता, अभाव, कमजोरी तथा पहिचान माथि नै पनि प्रहार गरिरहेको हुन्छ , तिनले धेरै पीडा बोध गरिरहेका हुन्छन् । श्यामवर्ण, गरिबी, महिला, रोगी तथा औपचारिक शिक्षाबाट बञ्चित मानिसहरुलाई तिनले प्रहार गरिरहेका हुन्छन् ।
रङ्गभेद !
हामीले हेर्दै आइरहेका हाँस्य कार्यक्रमहरुमा हँसाउनको लागि भनेर रङ्गभेदको प्रयोग अत्याधिक रुपमा गरिएको पाइन्छ । गोरो छाला हुने मानिस राम्रो र कालो छाला हुने मानिस नराम्रो भन्ने विभेदकारी धारणालाई समर्थन गर्न यी कार्यक्रमहरुले निकै सहयोगी भूमिका खेलिरहेका छन् ।
कलाकारहरु हँसाउन तथा मधेशी समुदायको नक्कल गर्न परे असामान्य ढङ्गले मुखमा कालो पोतेर आइपुग्छन् । सेतो छालालाई सामान्य मानेर हाँस्दैनन् र कालो छालालाई असामान्य मानेर हाँस्छन् भन्ने धारणा नै यसमा हाबी भएको पाइन्छ ।
मेरिबास्सैको भुनिया, मुस्कानपासा, जोगिन्दर बोले प्रणाम जी को जोगिन्दर, मिठाइलाल बनेर आउने सन्दिप क्षेत्री आदिले मुखमा कालो पोतेर अभिनयलाई सार्थकता दिने र हँसाउने नाममा प्रत्यक्ष रुपमा रंगभेदलाई बढवा दिइरहेका छन् ।
यी कार्यक्रमहरुले विशेषगरि मधेशी समुदाय लगायत अन्य समुदायका मानिसले कालो हुनु परेकैले तिरस्कार वा हाँसोको पात्र बन्नुपरेको सामाजको तीता पक्षलाई बढाउन र मलजल गर्न टेवा दिइरहेका छन् ।
वर्गीय विभेद
निम्नवर्गका मानिसको बाध्यतालाई पनि यी कार्यक्रमहरुमा हाँसोको विषयवस्तु बनाइएको पाइन्छ । फाटेको कपडा, खान लगाउन नपुग्ने दयनीय अवस्था पनि हाँसोमा उडाउन सक्नु मानवताकै खिल्ली उडाउनु हो ।
मेरी बास्सैमा माग्ने बुढाको भूमिकामा रेहेका केदार घिमिरेले प्रयोग गरेका कपडा, उनको नाम माग्ने राख्नु, साथै भद्रगोलमा पाडे बुढाको भूमिकामा रहेका अर्जुन घिमिरेको गरिबी झल्काउन हाँस्यास्पद रुपमा देखाइएको झुप्रो घर आदिले निम्नवर्गका मानिसको समस्यामा प्रहार गरेको पाईन्छ ।
निम्न वर्गका मानिसले अभावका कारणले लगाउने च्यातिएर धुजाधुजा भएका पहिरनकाे प्रयोग गरेर अभाव र उनीहरुको पीडा देखाउनु अभिनय हुनसक्छ तर त्यही च्यातिएको कपडा देखाएर हँसाउन खोज्नु निम्न वर्गका मानिसलाई चोटिलो झटारो हान्नु हो ।
शारीरिक कमजोरी तथा रोगप्रति प्रहार
मनोरञ्जनलाई प्रधानता दिन बनेका हाँस्य कार्यक्रमहरुमा शरीरमा लागेका रोग, मोटोपन, दुब्लोपन, उचाइ, फरक क्षमता आदि पक्षमा पनि प्रहार गरिएको पाइन्छ । मानिसको शारीरिक पक्षलाई प्रहार गरेर हाँसो सिर्जना गर्नु सामान्य जस्तै बनिसकेको छ ।
राज्जारानी फिल्ममा अभिनय गरेका कामेश्वर चौरसियालाई हाइड्रोशिल भएको देखाएर नै हाँसोको पात्र बनाइएको छ । उसलाई लागेको रोगकै आधारमा ‘हाइड्रो’ नामले बोलाइन्छ र जिस्काइन्छ । चौरसियाले नै सोही फिल्ममा घाँटी बसेको आवाजमा बोल्छन् ।
इकुको अभिनयमा रहेका सुलेमान शंकरले अति पातलो मानिसको अभिनय गरेर हँसाउन खोज्नु, तीतो सत्यको गैँडाको भूमिकामा रहेका निर्मल शर्माको मोटोपनलाई हाँसोको विषय बनाउनु आदिले गर्दा मोटो हुनु वा दुब्लो हुनु भनेको हाँसोको पात्र हुनु हो भन्ने भावना जागृत गरिदिन्छ ।
तीतोसत्यकै राजारामको भूमिकामा रहेका स्वर्गीय आर.पी. भट्टराईले बनाएको तोते बोलीले बोलीमा समस्या भएका मानिसलाई प्रहार गरेको छ ।
त्यस्तै मेरी बास्सैमा माग्ने बुढाले अगाडि दुई दाँत झरेको देखाउन कालो लगाएर दाँत नभएको देखाउँदै हँसाउन खोज्नु, हरिबहादुर र मदनबहादुरमा हरिवंशले भक्भकाएर बोल्नु, मदबहादुरको आँखाको छेउमा ठूलो मासु पलाएको देखाएर हँसाउन खोज्नुले मानिसको शारीरिक अवस्थाप्रति प्रहार गरेको छ ।
यस्ता कार्यक्रमहरुमा सुस्त मनस्थिति भएका मानिसहरु तथा फरक क्षमता भएका मानिसहरुलाई पनि हाँसोको पात्र बनाइएको पाइन्छ ।
शारीरिक कमजोरीमा हसाउँदा जो ती समस्याबाट गुज्रिरहेका छन् तिनलाई पर्ने चोटको हिसाब निर्माता तथा कलाकार कसैले गरिरहेका छैनन् ।
शैक्षिक अवस्थामा प्रहार
औपचारिक शिक्षा प्राप्त गरेका मानिसहरुमात्र सबै कुराहरु जान्ने बुझ्ने हुन्छन् भन्नु गलत धारणा हो । विभिन्न कारणले पढ्न नपाएका मानिसहरु वा पढेर पास हुन नसकेका, थोरै नम्बर ल्याएर पास गरेका मानिसहरुलाई सधैँ हाँसोको पात्र बनाइएको हुन्छ ।
राज्जारानी फिल्ममा राज्जा (नाजिर हुसैन)ले रानी पात्रको आँखामा लेखिएको प्रेम पढ्न नसकेको भन्दा उसको साथीले, ‘मेरो दोस्त ५ कलास फेल, कागजमा लेखेको त पढ्न जान्दैन, अरु कसरी पढ्छ ?’ भन्छ । यसमा कम पढेको मानिसले अरु व्यवहारिक कुराहरु पनि बुझ्न सक्दैनन् भन्ने जस्तो भद्दा मजाक गरिएको छ ।
जिरे खुर्सानीमा मुन्द्रेको भूमिकामा रहेका जितु नेपालले एस्. एल्. सी. मा ‘थर्डथर्ड डिभिजन ल्याएर पास भएको मान्छे’ भन्दै हँसाउन खोज्छन् । कम नम्बर ल्याएर पास हुने वा पढाइ कमजोर हुने मानिसहरु हाँसोको पात्र हुन् भनेर समाजमा गलत धारणा फैलाउन यस्ता कुराहरुले धेरै नै सहयोग गरिरहेको छ ।
फरक भाषा भाषिका तथा पहिरनमाथि व्यङ्ग्य
नेपाली खस भाषा तथा तिनका पहिरनलाई मात्र मान्यता दिने प्रचलनले हाँस्यव्यङ्ग्य कार्यक्रमहरुमा पनि स्थान पाइरहेको छ । अन्य भाषाभाषीका मानिसले नेपाली बोल्दा आउने उनीहरुको भाषिक लवजलाई विषय बनाएर हँसाउने काम धेरै भएको पाइन्छ ।
सन्दिप क्षत्रीले अभिनय गरेको मिठाइलाल पात्र, नाजिर हुुसैन, कामेश्वर चौरसियाद्वारा अभिनय गरिएका विभिन्न पात्रको बोली, भुनियाको भूमिकामा रहेकी हरिसा बानिया तथा जोगिन्दर आदि पात्रहरुको बोलीले मधेशी लवजप्रति तथा उनीहरुको पहिरनले मधेशी समाजको पहिरनप्रति नराम्ररी व्यङ्ग्य गरेको छ ।
मेरीबास्सै तथा खासखुसमा भएका तक्मे बुढाको अभिनयमा रहेका विल्सिनविक्रम राईको बोलीले राई भाषीलाई, तथा हर्के हल्दारमा रहेकी बुनु मैचा तथा मेरी बास्सैका मुस्कान पासाको बोलीले नेवारी लवजलाई व्यङ्ग्य गरेको छ ।
उनीहरुको कपडालाई पनि हाँसो उठ्दो पाराले प्रस्तुत गर्न खोजेको हुनाले यसमा नेवारी पहिरनलाई पनि प्रहार गरिएको पाइन्छ । चार जात छत्तिस वर्णको साझा फूलबारी भनेर भनिएको देशमा नै यस्तो विरुप अवस्था देखा पर्नु लाजमर्दो कुरा हो ।
यीबाहेक पुरुषलाई महिलाका कपडा लगाउन लगाएर, महिलाको जस्तो आवाज निकालेर तथा केटीजस्तो डराउने, लजाउने आदि संवादहरु भनेर पनि महिलालाई कमजोर देखाइ उनीहरुको विशेषतामाथि प्रहार गरिन्छ ।
कसैलाई खलनायकको भूमिकामा देखाउनु छ भने लामोलामो कपाल पालेको, मुखमा विभिन्न दागहरु लागेको, शरीर मोटो भएको आदि देखाइन्छ । यसले गर्दा यी विशेषता भएका मानिसहरुको आचरण गलत हुन्छ भन्ने सन्देश समाजमा फैलिन्छ ।
हँसाउन कुनै रंग, वर्ग, वर्ण, लिङ्ग, शारीरिक अवस्था, रोग, पहिरन, भाषा र जातमाथि प्रहार नगरि सम्भव नभएझैँ गरिन्छ । कार्यक्रमहरुले समाजमा हाल भएका विभेदहरुलाई हटाउनुपर्नेमा झन बढवा दिइरहेझैँ लाग्छ ।
कमेडी फिल्म, टेलिफल्म तथा अन्य कार्यक्रमहरु बनाउने लहर बढेको छ । समाजका विविधतालाई बेवास्ता गरेर निर्माण गरिएका यी कार्यक्रमहरुले समाज तथा निर्माता दुवै पक्षलाई घाटा नै छ ।
काठमाडौंमा बनेका अधिकांश फिल्म तथा टेलिफिल्महरु मधेशमा हेरिँदैन । यसलाई सबैले भाषिक समस्याको कारणको रुपमा मात्र औंल्याउँछन् । तर वास्तवमा हरेक हाँस्य कार्यक्रमहरुमा मधेशको भाषा र पहिरनलाई प्रहार नगरेको कमै पाइन्छ । आफ्नो पहिरन, भाषा, वर्ग, संस्कृति आदिमाथि नमिठो तरिकाले व्यङ्ग्य गरिएको भएर पनि उनीहरुले यसलाई रुचाउँदैनन् ।
हँसाउने र कमाउने बाहानामा भइरहेको अत्याचारलाई कम गर्न सबै पक्षले ध्यान दिन आवश्यक छ ।