काठमाडौं, २ कार्तिक । त्रिभुवन विश्वविद्यालय परिसर भित्रै समाजशास्त्र विभागका उपप्रध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको घटनाको विषमाय दियोपोस्ट डटकममा प्रकाशित समाचारलाई लिएर त्रिविकै प्रध्यापकहरुले खण्डन गरेका छन् ।
विहिबार प्रकाशित ‘उपप्रध्यापक चलाउनेमाथि आक्रमण गर्ने मुख्य योजनाकार हरिलाई पक्राउ गर्न प्रहरी असफल’ शिर्षकको समाचारमा आफ्नो नाम पनि जोडिएको भन्दै समाजशास्त्र केन्द्रीय विभागका प्रध्यापकहरु टिकाराम गौतम र विष्णु बस्यालले समाचारको खण्डन गरेक हुन् ।
‘विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थासँग आवद्ध प्राध्यापकमाथि भएको आपराधिक घटनामा संलग्न दोषीको पहिचान गरी कानून अनुसारको कार्वाहीका लागि प्रकृया अगाडि बढिरहेको सन्दर्भमा सत्यतथ्य आधारविना हाम्रो नाम कुनै खास संगठन र व्यक्तिसँग जोडेर अनर्गल प्रचार गर्नु व्यक्तिको मनोबल गिराउने र बदनाम गर्ने दुरासय भएकोले यस किसिमका समाचार सम्प्रेषण नगर्न र यस किसिमको समाचारबाट भ्रमित नहुन पनि सम्बन्धित सबैलाई अनुरोध गर्दछौं,’ खण्डनमा भनिएको छ ।
उनीहरुले यस सञ्चार प्रतिष्ठानका सम्पादकलाई सम्बोधन गरि प्रेसित गरेको खण्डन हामीले यहाँ जस्ताको तस्तै प्रकाशन गरेका छौँ ।
मिति : २०७७।६।३०
श्री सम्पादकज्यू,
दियोपोष्ट डटकम
अनामनगर, काठमाडौं ।
विषय : खण्डन प्रकाशन गरिदिनुहुन ।
दियोपोष्ट अनलाइनबाट मिति २०७७।०६।२९ गते त्रिभुवन विश्वविद्यालय परिसरमा समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि भएको दुःखद घटनाबारेको समाचार सम्प्रेषण गर्दा हाम्रो नाम पनि जोडिएर आएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचार हामी खण्डन गर्न चाहन्छौं । समाचारप्रतिको हाम्रो खण्डनलाई पत्रकार आचारंसंहिता २०७३ को दफा ६ बमोजिम प्रकाशन गरिदिनुहुन अनुरोध गर्दछौं ।
विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थासँग आवद्ध प्राध्यापकमाथि भएको आपराधिक घटनामा संलग्न दोषीको पहिचान गरी कानून अनुसारको कार्वाहीका लागि प्रकृया अगाडि बढिरहेको सन्दर्भमा सत्यतथ्य आधारविना हाम्रो नाम कुनै खास संगठन र व्यक्तिसँग जोडेर अनर्गल प्रचार गर्नु व्यक्तिको मनोबल गिराउने र बदनाम गर्ने दुरासय भएकोले यस किसिमका समाचार सम्प्रेषण नगर्न र यस किसिमको समाचारबाट भ्रमित नहुन पनि सम्बन्धित सबैलाई अनुरोध गर्दछौं ।
कुनैपनि व्यक्तिको बारेमा समाचार लेख्नु भन्दा पहिले स्वयम व्यक्तिसँगै पनि सत्यतथ्य बुझ्नु पत्रकारिताको न्युनतम आचारसंहिता र नैतिकताप्रति सजग र संवेदनशील रहन पनि हामी अनुरोध गर्दछौं ।
कसैले कुनै नियतवस अनर्गल सूचना दिने वा आफ्नै कपोलकल्पित सूचनाका आधारमा समाचार बनाइँदा व्यक्तिको मानवअधिकार हनन हुनुको साथै सामाजिक रुपमा मानमर्दन हुने र स्वयम पत्रकारिता जगतप्रतिको भरोसा र विश्वास गुम्ने खतरा रहने हुँदा त्यसतर्फपनि ध्यान दिन अनुरोध गर्दछौ । साथै विश्वविद्यालयजस्तो संवेदनशील प्राज्ञिक संस्था र यससँग सम्बन्धित प्राध्यापकहरुको बारेमा प्रकाशन हुने यस किसिमको अनर्गल र असत्य समाचारले विश्वविद्यालयकै मर्यादा र शाख गिर्ने हुँदा यसतर्फ पनि सचेत रहन हामी अनुरोध गर्दछौं ।
साथै समाजशास्त्र केन्द्रीय विभागमा यसभन्दा अगाडिको विभागीय प्रमुखको समयमा भएका सम्पूर्ण शैक्षिक भौतिक कार्यहरु र तिनीहरुमा भएको खर्चको सम्पूर्ण कागजात र आर्थिक विवरण विभागको लेखाशाखामा चुस्तदुरुस्त भएकोले आवश्यक भएमा जुनसुकै वखत प्रत्यक्ष निरीक्षण गर्न सकिन्छ । तसर्थ कपोलकल्पित आरोममा कुनै सत्यता नहुने हुँदा व्यक्तिगत रुपमा कसैको नाम जोडेर भ्रामक समाचार सम्प्रेषण गर्नु व्यक्तिको मानहानी र चरित्रहत्या गर्नु अमानवीय र गैरकानूनी कार्य भएकोले यसप्रति पनि सचेत रहन आग्रह गर्दछौं ।
बोधार्थ :
प्रेस काउन्सिल नेपाल
तिलगंगा, काठमाडौं ।
टीकाराम गौतम
विष्णु वस्याल
समाजशास्त्र केन्द्रीय विभाग
त्रिभुवन विश्व विद्यालय