कोरोना महामारीबीच दशैं कसरी मनाउने ? मनोविद ढकालको लेख : ‘यसरी मनाऔँ !’

दियो पोस्ट  

गोपाल ढकाल, मनोविद

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर शारीरिक तथा मानसिक स्वास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका क्षेत्रमा समेत परेको छ ।


कोरोना संक्रमणका कारण यस वर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अवस्थामा हामी छैनौँ ।
तर जस्तो सुकै विषम अवस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु हँुदैन । यसको संरक्षणमा जोड दिनुपर्छ । यो वर्ष भने कोरोनाको संक्रमणलाई ध्यान दिँदै भौतिक दुरी कायम गरेर सुरक्षाका उपायहरु अपनाउँदै जो–जो जहाँ छौँ त्यहिँबाट दशै मनाउनु नै उतम हुन्छ ।
दशैको सबैभन्दा महत्वपूर्ण पक्ष आशिर्वाद लिने दिने र शुभकामनाको आदन – प्रदान गर्ने कार्य भएकाले भौतिक रुपमा भेटघाट हुन नसकेपनि बैकल्पिक रुपमा फोन वा सामाजिक सञ्जाल प्रयोग गर्न सकिन्छ ।

चाडपर्वहरुको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठूलो महत्व रहेको हुन्छ । दशैँ तिहार जस्ता महत्वका चाडपर्वहरुलाई कुनै जात , जाति र धर्म सम्प्रदायसँग मात्र सिमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ । यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छन् ।
किम्बदन्तीअनुसार पनि बिजया दशमी असत्यमाथी सत्यको जितको उत्सव रुपमा बुझिन्छ । बिजयको उत्सवले आत्मबल , आत्मविश्वास, जोश जागर, हौसला बढाउने तथा नैरस्यतालाई हटाउनेगर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक चारै तवरबाट स्वस्थ हुनु हो । दशैँजस्ता चाडपर्वहरुले मानिसलाई यी चारै किसिमबाट स्वास्थ्य रहनका लागि मद्दत पुर्याइरहेको हुन्छन् ।

दशैँ यस्तो मौसममा पर्छ जुनबेला खेती किसानी गर्ने व्यक्तिलाई कामको कुनै बोझ हुँदैन । कामको चपेटाबाट मुक्त भएर आराम गर्ने अवसर पनि हो–दशैँ । चाडपर्वमा प्रायः सबैले सधैको भन्दा फरक मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । दशैँमा विशेष रूपमा खाइने दही, चिउरा, घ्यु, फलफूल, मिठाई, माछामासु जस्ता खानेकुराले शरिरलाई शक्ति प्रदान गर्छ जसले शारीरिक रूपमा स्वस्थ्य रहन मद्दत पुर्याउँछ । दशैँमा पिङ्ग खेल्दा शारीरिक व्यायम हुनुका साथै खाएको गरिष्ठ भोजन पचाउन मद्दत गर्छ । पिङ्ग खेल्दा मनोरञ्जन पनि भैरहेको हुन्छ ।

दशैँको बेला ठूलाले सानालाई टिका लगाएर दिइने आर्शिवाद र एकअर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ । आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकरात्मक सोचको विकास हुन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रवद्र्धनमा मद्दत गर्दछ ।


कोरोनाले धेरैलाई निराश बनाएको अहिलेको अबस्थामा आत्मबल, प्रेरणा र सकारात्मक सोचको संञ्चार हुनु अति आबस्यक छ ।

दशैको रमझमले खुसियाली र उमङ्ग लिएर आउँछ । अझ केटाकेटीहरू त दशैँ कहिलेआउँला भनेर दुई चार महिना अगाडिदेखि नै औँला भाँच्न थाल्छन् । दशैंको अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदान–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउछ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने चाड हो–दशैँ । विदेशिएका धेरै नेपालीहरू दशैँको अवसरमा स्वदेश फर्किने समय कुरेर बसेका हुन्छन् ।
तर भलै यो पटक भने धेरै नेपालीहरु दशैमा पनि घर फर्कन पाएनन् ।

नाति नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दशैँले बढ्दै गएको जेनेरेशन ग्यापलाई कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ ।
दशैँको बेला विभिन्न शक्तिपिठहरूमा गएर गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा पनि सवल बनाउँछ ।


आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।

मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । चाडपपर्वको मनोबैज्ञानिक पक्षलाई बुझि यसलाई धर्मको रुपमा नहेरी चाडपर्वको रूपमा स्विकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ ।

दशैँ नेपालीहरूको मौलिक पर्व पनि हो । नेपालमा मगर, गुरुङ, राई, लिम्बु, थारु, नेवार, क्षेत्री, बाहुन आदि जातिमा जस्तो चामलको टिका र जमरा लगाउने चलन संसारका अन्य कुनै पनि जाति वा हिन्दुहरूमा पाइँदैन । दशैमा चामलको टीका लगाएर अन्नको नाश भयो भन्ने गरेको पनि सुनिन्छ । तर
चामलको टिका लगाउनु अन्नको सम्मान गर्नु हो । यसको महत्वलाई बुुझ्नु हो । यसले नेपाल कृषि प्रधान देश हो भन्ने कुरा पनि झल्किन्छ ।
दशैमा लगाईने रातो रंग मिश्रित चामलको टिकाले मानिसमा उर्जा , जोश–जागर , उत्साह, साहस बढाउछ । रातो रंग शक्ति, उत्साह , सौभाग्य र बिजयको प्रतिक हो ।
दशैँमा टिकासँगै जमरा लगाउनुको पनि अर्थ छ । जमराको जुस जसलाई अमृतरस भनिन्छ । जमराको जुस दैनिक सेवनले धेरै किसिमका रोगहरू लाग्नबाट हामीलाई बचाउँछ र दीर्घ जीवन दिन्छ । दशैँमा जमरा लगाउनुको अर्थ जमराको औषधि गुण र महत्वलाई झल्काउने प्रतिकको रूपमा लिनु्पर्छ ।

दशैँमा टीका लगाएर दक्षिणा दिनु पनि आफैमा नराम्रो होइन । चाडपर्वको बेला किनमेल गर्दा पैसा खर्च हुने, ऋण समेत लाग्न सक्ने हुँदा सक्नेले गच्छे अनुसार टिका लगाएर पैसा दिंदा यसले थोरबहुत ऋणबाट मुक्त हुन र आर्थिक अवस्था सुधार गर्न मद्दत गर्दछ ।
यस बर्ष त कोरोनाको कारण अर्थतन्त्र नै तहस नहस भएको छ । धेरैको आर्थिक अबस्था कमजोर भएको छ । हामी नेपाली हरुमा एउटा उक्ती छ–‘घाँटी हेरी हाड निल्नु पर्दछ’ ।
यस उक्तीलाई पनि हामीले आफ्नो जीवनमा लागु गर्नु उचित हुन्छ ।
‘दशैँ आयो, खाउँला पिउँला के खाउँला, चोरी ल्याउँला’ अर्थात जसरी पनि मिठोमसिना खानैपर्छ, जसरी पनि राम्रो लगाउनै पर्छ भन्ने सोचले दशैँलाई बोझिलो र तनावपूर्ण बनाउनु हुदैन । चाडपर्वलाई फजुल खर्च गर्ने बाहनाको रूपमा होइन , आफूलाई उत्साहित गर्ने , आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ ।
साथै चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झै झगडा गर्ने जस्ता नकारात्मक पाटोलाई हटाउनुपर्छ ।

दशैँको बेला देवीदेवताको नाममा चढाइने बली भने एक किसिमको अन्धविश्वास नै हो । प्राणी हत्या महापाप हो । तर पेटको लागि मानिसहरु जस्तोसुकै पाप गर्न र बाहना बनाउन पछि पर्दैनन् । मान्छेले आफ्नो पापलाई छल्न देवीदेवतालाई बली चढाएको प्रसाद भन्दै खाने निहुँ र बाहना बाहेक अरु केही होइन बली प्रथा । यदि सबै प्राणी देवीदेवताको सृष्टि हुन् भने आफैले सृष्टि गरेको आफ्नै सन्तानलाई आफ्नै आमाले भोग कहिल्यै माग्दिनन् । बली प्रथाले स्वयम् व्यक्तिलाई हिंस्रक, मानसिक रूपमा कमजोर, चिटचिटाहाट, अस्थिर र रिसाहा बनाउने गर्दछ ।
शाकाहारी व्यक्तिहरूलाई दशैँको बेला हुने मारकाटले अत्यन्तै धेरै तनाव पुर्याउछ । खसीबोकाको क्रन्दन, रगत र काटमारको दृश्यले उनीहरूलाई दुखी र मानसिक रूपमा अस्थिर बनाउने गर्दछ । वास्तवमा बली चढाउनु भनेको आफ्ना कमिकमजोरी, खराब आचरण, असुरी र दुर्बल पक्षहरू, पासाविक मनोवृत्ति, काम, क्रोध, लोभ र मोहजस्ता कुरा छोड्ने संकल्प देवीदेवताका सामु राख्नु हो । आफ्नो गलत कार्यको प्रायश्चित गर्नु हो ।
दशैमा विशेष गरि शक्तिपिठहरूमा दुर्गा भवानीको पूजा गरिन्छ । दुर्गा माता अर्थात् महिला वा स्त्रीलाई शक्तिको रूपमा पुजा गर्नु, शक्तिको प्रतीकको रूपमा लिनु हाम्रोजस्तो पुरुषप्रधान समाजका लागि अर्थ पुर्ण र महत्वपुर्ण रहेको छ ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् )

TATA ADD