लासमाथि ग्राण्डी अस्पतालको कमाउधन्दा : कोरोनाको नाममा ४० लाख रुपैयाँ असुलेपछि … !

दियो पोस्ट  

काठमाडौँ, ९ कार्तिक । राजधानीको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले एक मृतकको शवमाथि कमाउ धन्दा चलाएको आरोप लागेको छ ।


आजभन्दा १८ दिनअघि निमोनिया भएको भन्दै ग्राण्डी अस्पताल भर्ना भएका ३७ वर्षिय पुष्प रिसालको रहस्यमयी रुपमा मृत्यु भएपछि अस्पतालमाथि चरम लापरबाहीको आरोप लागेको छ ।
मृतक पुष्पका दाई चित्र बहादुर रसाइलीका अनुसार निमोनियाबाट ग्रस्त बनेका उनका भाई पुष्पलाई अस्पतालले कोरोनाको आशंकामा इमरजेन्सी वाड हुँदै हतारमा आइसियुमा लगिएको थियो । ‘मलाई आइसियुमा नलैजाउ, त्यहाँ लगे भने मलाई मार्छन् भनेर मेरो भाई चिच्याउँदै गर्दा डाक्टरहरुले जबरजस्ती बेहोस् बनाएर आइसियुमा लगे,’ मृतकका दाई रसाइलीले भनेका छन्,‘त्यसपिछ हामी परिवारको सदस्यहरु कसैलाई पनि भेट्न दिएन र दिनको पचास हजार रुपैयाँको दरले पैसा मागियो ।’


उनीहरुले डाक्टरले भने अनुसार नै दैनिक ५० हजार रुपैयाँ बुझाए । चिकित्सकहरुलाई विरामीको अवस्था बुझ्दा कोरोना पोजेटिभ छ भन्ने गरेको उनले बताए ।

एक हप्ता यता भने अस्पतालले विरामीको अवस्था चिन्ताजनक रहेको भन्दै दैनिक ३ लाख रुपैयाँको दरले असुल गरेको पीडित मृतकका आफन्तको भनाई छ ।

पुष्प रिसाल


‘फूलपातीको अघिल्लो दिन डाक्टरले हामीलाई बोलायो र काउन्सेलिङ गरे । त्यो काउन्सेलिङ अनुसार मेरो भाइको मृत्यु भइसकेको मलाई आशंका थियो,’ दाजु चेतको भनाई छ,‘म मेरो भाईलाई भेट्न जान्छु भन्दा डाक्टर एकछिन अल्मलियो र भेट्न सक्नुहुन्छ तर तपाईले आफ्नो रिस्क आफै लिनुहोला भने । मैले ठिक छ मरे म नै मरौला तर भाईको मुख हेर्छु भनेपछि डाक्टरले तपाईंले भाइको मुख हेर्न पाउनु हुन्न हामीले उपचार गर्दै जाँदा घोप्टो पार्नुपर्ने भएर घोप्को पारेर राखेका छौं । तपाईंले पछाडि ढाडपट्टी मात्रै देख्न सक्नुहुन्छ भने ।’


चेतले डाक्तरलाई मृतक भाईलाई फर्काउन त मिल्छ नी भन्दा डाक्टरले भने एक सेकेन्ड पनि दायाँबायाँ गर्नु मिल्दैन भन्दै हेर्न नदिएको उनको भनाई छ ।


दाजु रसाइलीका अनुसार चिकित्सकहरुले अन्तिममा आएर विरामीको अवस्था निकै कमजोर रहेको र २४ घण्टा आफूहरुले बचाउने कोशिस गर्ने तर त्यसको लागि पैसा के छ भन्दै सोधेका थिए ।
मृतककी श्रीमतीले ‘यतिका दिन त धानियो मेरो श्रीमानलाई राम्रो हुन्छ भने आर्थिक जोहो गर्छु’ भनेकी थिइन् ।

उनी घर नपुग्दै अस्पतालले श्रीमानको लागि थप ८ लाख रुपैयाँ माग गरेको थियो । मृतककी श्रीमतीले त्यतिका रकम बुझाउन नसक्ने बताएपछि शुक्रबार राती २ बजे विरामीलाई मृत घोषणा गरिएको थियो । मृतकका आफन्तहरुले लास हेर्नका लागि पटक पटक कोशिस गर्दा पनि अस्पताल प्रशासनले नेपाली सेनाले लासको अन्त्यष्टि गर्ने भन्दै हेर्न समेत नदिएको मृतकका आफन्तको आरोप छ ।


‘तपाईहरुले लास छुन मिल्दैन सेनाहरु आएर लान्छन् तपाईंहरुले टाढाबाट मात्रै हेर्न मिल्छ भनेपछि हामी सेना आउने प्रतिक्षामा बसियो तर मृत्यु घोषणा गरेको चार घन्टा पछि डाक्टर ढोकाबाट बाहिर आएर ल तपाईहरु लाई खुसिको खबर छ तपाईको बिरामीलाई कोरोना नभएको रिपोर्ट आयो तपाईंहरुले बाकी पैसा तिरेर लास लैजान सक्नुहुन्छ,’ मृतकका दाजु रासाइलीले डाक्टरको भनाई उधृत गर्दै भने,‘त्यसपछि हामी धेरै आक्रोशित बन्यौँ । पीडामा पनि आयौँ । यदि मेरो भाईलाई कोरोना रहेनछ भने यति ठुलो रकम कसरी खर्च गराईयो ?’


अस्पताल प्रशासनसँग उनले यस्ता प्रश्न राखेपनि चित्त बुझ्दो जवाफ नआएपछि मृतकका आफन्त आन्दोलित बनेका छन् । उनीहरुले शव नबुझी आन्दोलन समेत गरेका थिए ।

मृतकका अर्का एक आफन्तले भने ग्राण्डी अस्पतालले आफ्नो परिवारिक सदस्यको लासमाथि कमाउ धन्दा चलाएको आरोप लगाए । ‘ओहो यहाँ त कमाउ धन्दा मात्रै हुँदो रहेछ । हाम्रो पुष्पको लास थप एक दिन राखेर ८ लाख रुपैयाँ असुल्न खोजिएको थियो,’ ती आफन्तले भने ।

सम्बन्धित खबर