काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नेतृत्व चयनको विषयलाई लिएर माओवादीका दुई नेताबीच हात हालाहालको अवस्था श्रजना भएको पाइएको छ ।
शनिबार सम्पन्न स्थायी समिति बैठकमा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख जनार्दन शर्माबीच हात हालाहालको अवस्था श्रजना भएको हो ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो विचार समुहको तर्फबाट अहिले सम्म कुनै पनि भातृ संगठनको नेतृत्व गर्ने अवसर नपाएको गुनासो गरेका थिए ।
उनले आफ्नो तर्फबाट उपाध्यक्ष रहेका सुरेन्द्र बस्नेतलाई अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।
उनले यस्तो प्रस्ताव गरे लगत्तै प्रतिवादमा उत्रिएका जनार्दन शर्माले पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको नेतृत्व दिनुपर्ने माग गरेका थिए । पञ्चाको पक्षमा बहुमत स्थायी समिति सदस्यले समर्थन जनाएपछि श्रेष्ठ विचलित भएका थिए ।
श्रेष्ठले नेतृत्वमा नल्याएकै कारण जागृत रायमाझीले पार्टी छाड्नुपरेको समेत बताएका थिए ।
हाल वैज्ञानिक समाजवादी पार्टीमा कार्यरत रहेका रायमाझी यसअघि अखिल क्रान्तिकरीको उपाध्यक्ष दिए ।
स्थायी समिति बैठक अघि वर्षमान पुनको प्रतिनिधित्व गर्ने नेताको रुपमा हेरिएका शक्ति बस्नेतले सुरेन्द्र बस्नेतलाई नै प्रस्ताव गर्ने आंकलन गरिएको थियो ।
तर, अन्तिममा शक्तिली समेत गुट बदलेको आरोप लगाइएको छ ।
अधिकांश स्थायी समिति सदस्यले महिलालाई नेतृत्वमा ल्याउँदा इतिहास बन्ने भन्दै पञ्चाको नाम लिएका थिए ।
स्थायी समिति सदस्यहरुकै प्रस्तावका कारण पार्टी अध्यक्ष प्रचण्डले पञ्चालाई नै अखिल क्रान्तिकारीको नयाँ अध्यक्ष छान्ने निर्णय गरिसकेका छन् ।