आज बडादशैं, टिकाको उत्तम साइत १० बजेर २ मिनेटमा

diyopost.com
दियो पोस्ट  शुक्रबार, आश्विन २९, २०७८ | ९:५२:५३

काठमाडौं । आज बडादशैँ । हिन्दु नेपालीहरुको महान चाड । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

टीका लगाउनुअघि आज बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्नुपर्छ । विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।

टीका र जमरा देवीको प्रसाद भएकाले देवी विसर्जनपछिको जुनसुकै समयमा टीका लगाउन सकिन्छ । टीका लगाउने उत्तम समय खोज्नेहरुका लागि मात्र १० बजेर २ मिनेटको साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ ।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।

सम्बन्धित खबर