काठमाडौं । सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङलाई छुटाउन दबाव दिएको आरोप लागेका नेकपा एमालेका प्रदेश १ का सांसद तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङले आफूसमेत ठगिएको बताएका छन् ।
यद्धपी उनले प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीको हिरासतमा रहेका सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई भने हिरासतमै गएर भेटेको स्विकार गरे । ‘यो सहकारीबाट म पनि ठगिएको छु । मैले उहाँलाई हिरासतमै भेटेर मेरो ३४ करोड रुपैयाँ फिर्ता मागेको हुँ ।
सो क्रममा उहाँले मलाई यहाँबाट निकालेपछि मात्रै पैसा फिर्ता गर्छु भन्नु भएको थियो । तर, मेरो बसको कुरा थिएन । मैले सिआइबीको डिआइजी धिरज प्रताप सिंहलाई पनि भेटेको हुँ,’ उनले दियोपोस्टसँग भने,‘तर मैले उहाँलाई रिहा गर्न कुनै दबाव दिएको छैन । शत प्रतिशत झूटो समाचार सार्वजनिक भयो ।’
केहीदिन अघि सिआइबी कार्यालयमा गएर उनले तामाङलाई रिहा गर्न दबाव दिएको भन्दै दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेको थियो । उक्त समाचारको खण्डन गर्दै उनले आफू समेत पीडित भएपछि प्रहरी कार्यालयमा गएको बताए ।
गुरुङका अनुसार इच्छाराजले उनलाई दिएको करोडौँको चेक समेत बाउन्स भएको छ ।
चेक बाउन्स भएपछि उनकी श्रीमती रेनुका गुरुङको जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौंले इच्छाराजको सम्पत्ति समेत रोक्का गरिदिएको उनको दाबी छ । प्रदेश नम्बर १ का पूर्व भौतिक पूर्वाधार मन्त्री समेत रहेका उनले आफूमाथि लागेको व्यक्तिगत आरोप समेत झूटो भएको दाबी गरे ।