काठमाडौं । ललितपुर महानगरपालिकाले निर्माण गर्न लागेको विद्युतिय शवदाह गृह मानव वस्ती तथा आवास क्षेत्रमा परेको भन्दै स्थानियबासीले विरोध गरेका छन् ।
बुधबार उनीहरुले ललितपुरमा पत्रकार सम्मेलन गरेरै महानगरको यस्तो कार्यको विरोध गरेका हुन् ।
गत वर्ष महानगरपालिकाले वडा नम्बर ११ स्थित शंखमुल आवाश क्षेत्र भित्र एभरेष्ट बैंकको सहयोगमा एक रोपनी भन्दा बढी निजी जग्गा खरिद गरि शवदाह गृह निर्माण कार्यको थालनी गरेको थियो ।
मणिडोल सुधार समितिले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरपालिकाले मनोमानी हिसाबले शवदाह गृह निर्माण गर्न खोजेको र सम्पदा मास्न खोजेको आरोप उनीहरुले लगाएका छन् । उनीहरुले पटक पटक महानगरपालिकाका प्रमुख समक्ष ज्ञापनपत्र बुझाएर शान्तिपूर्ण विरोध गरेपनि महानगरले कुनै सुनुवाई नगरेको उनीहरुको आरोप छ ।
उक्त कार्यक्रममा सुधार समितीका अध्यक्ष राजेन्द्र ताण्डुकारले उपाध्यक्ष दिपेश ताण्डुकर र सचिव नारायण ताण्डुकरले सो स्थानमा शवदाह गृह निर्माण गरेमा चर्को विरोध गर्ने बताए ।
स्थानीय बासिन्दा बद्री ताण्डुकर , स्वयम्भू धाख्या , सपना श्रेष्ठ र शिवराम ताण्डुकारले आफूहरुले प्रविधिको नभई आवाश क्षेत्रमा निर्माण गर्न लागिएको शवदाहको विरोध गरेको बताए ।
शवदाह गृहको लागि लिन खोजिएको जग्गाको क्षेत्रफल पर्याप्त नभएको र आवास क्षेत्रमा प्रदुषण हुने भन्दै मणिडोल सुधार समितिले विरोध गरेको हो ।