ठेलागाडा चलाउनेदेखि पूर्व जर्नेलसम्म इच्छाराजबाट ठगिए : यस्तो छ ठगिनेहरुको विवरण

diyopost.com
दियो पोस्ट  बिहिबार, कार्तिक ११, २०७८ | १३:२७:५२

काठमाडौं । बचतकर्ताको ८ अर्बभन्दा बढी रकम हिनामिना गरि ठगी गरेको आरोपमा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना उच्च अधिकारी २६ दिनदेखि सिआइबीको हिरासतमा छन् । बुधबारसम्म सिआइबीमा उजुरी दिनेको संख्या १३ सय ३३ जना पुगेका छन् । ५ अर्ब २७ करोड भन्दा बढी विगो रकम पुगेको छ ।

 

नेकपा एमालेका पूर्व सांसद समेत रहेका तामाङले शुरुवात गरेको सिभिल सेभिङ एण्ड को–अपरेटिभमा सर्वसाधरणदेखि ठूला बडाको अर्बौं रुपैयाँ फसेको पाइएको छ ।

दियोपोस्टले फेला पारेको विवरण अनुसार एक करोडभन्दा बढी रकम फसाउनेहरुमा १ सय २९ जना छन् । त्यस्ता नगारिक १० प्रतिशत रहेको विवरणमा उल्लेख छ । एक करोड भन्दा बढी रकम सिभिलमा जम्माहरुको मात्रै ३ अर्ब ३१ करोड ८० लाख ९ हजार २ सय ३१ रुपैयाँ रहेको देखिएको छ ।

त्यस्तै ५० लाखदेखि १ करोडसम्म जम्मा गर्नेहरुको संख्या २ सय १५ जना छ । उनीहरुले एक अर्ब ४६ करोड ७६ लाख ८६ लाख २ सय २७ रुपैयाँ सिभिल सहकारीमा फसाएका छन् । त्यस्ता व्यक्तिको संख्या २० प्रतिशत रहेको देखिएको छ । नेपाली सेनाका एक जर्नेलले ८३ लाख रुपैयाँ जम्मा गरेर सहकारीमा फसेका छन् । ती जर्नेल पनि केही दिनअघि उजुरी लिएर सिआइबीमा पुगेका थिए ।
यो समुहमा युएनमा काम गर्ने कर्मचारीसम्म छन् ।
२५ लाख देखि ५० लाख रुपैयाँ जम्मा गर्नेहरुको संख्या ३ सय १४ जना छ । संख्याको हिसाबले यो समुहको संख्या सबैभन्दा धेरै हो । उनीहरुले १ अर्ब १८ करोड ८७ लाख १ हजार ८ सय १६ रुपैयाँ सिभिल सहकारीमा फसाएका छन् ।
त्यस्तै २० लाख देखि २५ लाख रुपैयाँ जम्मा गर्नेहरुको संख्या १ सय ३२ जना रहेका छन् । उनीहरुले पनि सिभिल सहकारीमा २९ करोड १५ लाख ६६ हजार ६ सय ७२ रुपैयाँ फसाएका छन् ।

त्यस्तै २ सय ८० जनाले १५ लाख देखि २० लाख रुपैयाँ जम्मा गरेर ४७ करोड ३३ लाख ६७ हजार २ सय ६७ रुपयाँ फसाएका छन् । १० लाख देखि १५ लाख रुपैयाँ जम्मा गर्नेको संख्या २ सय २५ जना छ । उनीहरुबाट पनि सिभिल समुहका अध्यक्षसहित सहकारी सञ्चालकहरुले २७ करोड २२ लाख ७५ हजार ९ सय ५९ रुपैयाँ बचत ठगि गरेका छन् ।

५ लाख देखि १० लाख रुपैयाँसम्म जम्मा गर्नेहरुको संख्या ३ सय १९ जना छ । उनीहरुले सिभिल सहकारीमा २२ करोड ८७ लाख १८ हजार ६ सय ५७ रुपैयाँ फसाएका छन् । १ लाख रुपैयाँदेखि ५ लाखसम्म जम्मा गर्नेहरुको संख्या ३ सय १० जना छन् । उनीहरुले पनि सिभिल सहकारीमा १२ करोड ५० लाख ९२ हजार ७ सय ३५ रुपैयाँ फसाएका छन् । १ लाख भन्दा कम रकम जम्मा गर्नेहरुको संख्या १ सय १२ जना छ । उनीहरुले पनि ५५ लाख ९४ हजार २ सय ८० रुपैयाँ सिभिल सहकारीमा फसाएका छन् । १ लाख भन्दा कम जम्मा गर्ने नागरिकको पैसा तिर्न इच्छाराजले तयारी गरेका थिए । ‘आर्थिक अवस्था कमजोर भएका सामान्य नागरिकहरुको विशिष्टिकरण गर्दा १ लाख भन्दा कम रकम जम्मा गर्नेहरुलाई फिर्ता गर्ने इच्छाराजको तयारी थियो । किन भने त्यस्ता नागरिकबाट सुरक्षा थ्रेट हुने भएका कारण उनले यस्तो गरेको थियो,’ एक ऋणीले भने,‘सिआइबीले पक्राउ गरेपछि पनि उनले श्रीमती मार्फत कोशिस गरेका हुन् । तर, सम्भव हुन सकेन ।’

१ लाखभन्दा कम जम्मा गर्नेहरुमा ठेलागाडा चलाउनेदेखि फूटपाथमा व्यापार गर्नेसम्मका नागरिक छन् । त्यस्ता नागरिकबाट उनको सुरक्षामा असर गर्ने उनीहरुको विश्लेषण थियो ।

तामाङले धेरै रकम जम्मा गर्नेहरुलाई भने सम्पत्ति सुद्धिकरणको धम्की दिने गर्थे । पूर्व मन्त्री अम्बिरबाबु गुरुङको मात्रै ३४ करोड भन्दा बढी रकम ठगि भएको उनको दाबी छ ।

हाल सिआइबीको हिरासतमा रहेका तामाङ, मामा ससुरा पर्ने सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई संगठित अपराध अभियोगमा अनुसन्धान जारी छ ।

सम्बन्धित खबर