जुम्ला । हुम्लामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । समयमै उपचार नपाउँदा जिल्लाको अदानचुली गाउँपालिका–५ काँखे भन्ने गाउँमा किसान शाहीकी श्रीमती रङ्गिता शाहीको मृत्यु भएको हो ।
सोमबार बिहानै बेथा लागेर दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनको लामो समयसम्म साल नझरेको र रक्तश्राव भइरहेको थियो । सोही वडाका वडाअध्यक्ष कमल बहादुर छत्यालका अनुसार गाउँ नजिकै स्वास्थ्य चौकी नभएका कारण उनले उपचार पाउँन नसक्दा अकालमै ज्यान गुमाएकी हुन् ।
छत्यालका अनुसार रङ्गिताको घरदेखि स्वास्थ्य संस्थामा पुग्न एक घण्टा भन्दा बढी समय लाग्छ । त्यो पनि डाँडाकाँडाहरू छलेर स्टेचरमा बोकेर लैजानुपर्ने वाध्यता छ । रङ्गिताको यसअघि पनि ३ वर्षकी छोरी रहेको उनले बताए ।
उनका अनुसार सोही ठाउँमा अघिल्लो वर्ष पनि एक महिलाको समयमा उपचार हुन नसक्दा मृत्यु भएको थियो ।