काभ्रे-२ : हुमागाईको चुनावी मसला ‘७० करोड’, बास्कोटालाई प्रतिष्ठा जोगाउन मुस्किल !

- खुमा ओली  

काभ्रे । काभ्रेको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि पुनः उम्मेदवारी दिएका नेकपा एमालेका नेता गोकुल बास्कोटा चर्को स्वभावका कारण बेला–बेला चर्चामा आइरहन्छन् ।

अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बास्कोटा यस पटक सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता शिव हुमागाईसँग प्रतिस्पर्धामा छन् ।

यस पटक बलियो सङ्गठन भएको दाबी गर्दै आएको नेकपा एमालेसँग पाँच दलीय गठबन्धनको भिडन्त रोचक हुने अनुमान गरिएको छ । काभ्रेको क्षेत्र नं २ लाई एमालेको प्रभाव क्षेत्र मानिन्छ, तर पछिल्लो परिस्थिति भने बदलिएको छ ।

२०६४ सालमा माओवादीको दबदबा रहेको अवस्थामा समेत नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद सापकोटाले जित हासिल गरेका थिए । त्यस्तै २०७० सालमा समेत तत्कालीन क्षेत्र नं ४ बाट (अहिलेको क्षेत्र नं २) मा एमालेका उम्मेदवार विदुर सापकोटा निर्वाचित भएका थिए, भने अघिल्लो २०७४ सालको आम निर्वाचनमा बास्कोटा सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य बने ।

अहिलेको परिस्थिति हेर्दा बास्कोटालाई त्यति सजिलो छैन । उनका मुख्य सहकर्मी बनेका कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा दुवै एमालेमा छैनन् । नेकपा विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा छन् । त्यसैले पनि आगामी निर्वाचनमा आफू निर्वाचित हुने दाबी गरे पनि उनलाई हम्मे हम्मे पर्न सक्ने देखिन्छ । साथै बास्कोटाको व्यक्तिगत आनीबानी र मन्त्री हुँदा लागेको ७० करोड काण्डको राप अझै सेलाएको छैन ।

गत ७ फागुन ०७६ मा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हाल्दा बास्कोटाले विजयप्रकाश मिश्रसँग प्रिन्टिङ प्रेस खरिदका क्रममा गरेको भनिएको “घुस डिल”को अडियो बाहिरिएको थियो । संवादमा उनीहरूबिच ७० करोड रुपैयाँ लेनदेनको कुराकानी भएको थियो ।

घटना बाहिरिए पछि ततकालिन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रकै एउटा खेमाको दबावका कारण बास्कोटाले नैतिकताका आधारमा भोलिपल्ट राजीनामा दिन बाध्य भए । यो घटनामा संसद्को सार्वजनिक लेखा समितिले समेत हात हाल्यो, तर टुङ्गोमा पुर्‍याउन भने सकेन । यद्यपि बास्कोटाले औपचारिक कार्यक्रममा नै आफूले ७० करोडको डिल गरेको स्विकारेका छन् ।

यता सोही क्षेत्रबाट उम्मेदवारी दिएका हुमागाइलाई गठबन्धनको साथ छ । त्यसमाथि भ्रष्ट्राचारमा मुछिएका पूर्व सञ्चार मन्त्री बास्कोटालाई अघिल्लो निर्वाचनको जस्तो महोल छैन । दियोपोस्टसँग हुमागाइले भने, “काभ्रेली जनताको गुम्न लागेको साहसलाई बचाउन र संस्थागत विकासका साथै काभ्रेली मतदातामा लागेको दाग मेटाउनका लागि मेरो उम्मेदवारी हो । यहाँका जनताको शिर र यहाँको माटोको निष्ठा झुक्न दिने छैन भन्ने मेरो प्रतिबद्धता समेत छ ।”

उनले अघि भने, “सञ्चारमन्त्री हुँदा उहाँमाथिको आरोप के हो भन्ने कुरा , काभ्रेली मतदातामा घाम जतिकै छल्लङग छ । यति मात्रै होइन ७० करोड प्रकरण देशका हरेक सचेत नागरिकले समेत राम्ररी बुझेका छन् । यसलाई नै राजनीतिक एजेन्डामा उठाउनु पर्छ भन्ने म देख्दिनँ । यो त मुलुकै एजेन्डाका रूपमा सवत्र सबैलाई सर्व विदितै छ । यस घटनाका कारण काभ्रेली मतदाताको शिर झुकेको छ ।”

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेर गोकुल विजयी भएका थिए। गोकुलले ५४ हजार ४ सय २७ मत पाउँदा प्रतिद्वन्द्वी कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरेका थिए। दुई उम्मेदवारबीचको मतान्तर १७ हजार ८ सय ४८ थियो।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको वडा तहको मतमा पनि एमाले अगाडि छ। एमालेको ४५ हजार ५ सय १४ मत छ भने कांग्रेसको ४५ हजार ४ सय ५६ मत छ। काभ्रे-२ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता छन्। काभ्रे–२ अन्तर्गत ४ वटा पालिकाको पूर्ण क्षेत्र र २ पालिकाको केही वडा पर्दछन् । सो क्षेत्रमा काभ्रेको बेथानचोक गाउँपालिका, मण्डन देउपुर नगरपालिका, पाँचखाल नगरपालिकाको पूरा भाग तथा धुलिखेल नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ र पनौती नगरपालिकाको १, २, ३, ११ र १२ वडा पर्दछन् ।

सम्बन्धित खबर