देशमा एउटा हाम्रो गठबन्धन छ, अर्को राजावादीहरूकोः प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा दुइटा गठबन्धन बनेको बताएका छन्। आफूसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू रहेको गठबन्धन र अर्को केपी शर्मा ओली नेतृत्वमा गरी दुइटा गठबन्धन रहेको उनले बताए।

शुक्रबार गोरखाको देउरालीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान, लोकतन्त्र र समावेशी समानुपातिकको रक्षा गर्न आफूहरूले गठबन्धन गरेको बताए।

‘१२ बुँदे समझदारीको नयाँ कडी नै अहिलेको गठबन्धन हो,’ प्रचण्डले भने, ‘तर अहिले देशमा अर्को पनि गठबन्धन छ, राजावादीहरूको गठबन्धन। सामान्तवादीहरूको गठबन्धन। दलालहरूको गठबन्धन। यो देश टुक्याउनुपर्छ भन्ने अलगाववादीहरूसमेत भएको गठबन्धन।’

प्रधानमन्त्री शेरबहादुर देउवासहित आफूसमेत रहेका नेताहरू भएको एउटा गठबन्धन र एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अर्को गठबन्धन रहेको पनि उनले बताए।

‘एउटा गठबन्धन संविधान र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध भएर लडेको छ भने अर्को गठबन्धन यसलाई कसरी भत्काउने भनेर लागेको छ, कसरी संविधान मिच्ने भनेर लागेको छ,’ उनले भने।

सम्बन्धित खबर