
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ११ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कमल थापाका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तेह्रथुम अठराई गाउँपालिका–५ ठेगाना भएका ५४ वर्षीय केदारनाथ मिश्रलाई सोमबार पक्राउ गरिएको हो ।
थापाका अनुसार उच्च अदालत पाटनको २०७९ साउन ३१ गतेको फैसलाले उक्त मुद्दामा चार दिन कैद र ११ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका मिश्रलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको हो । मिश्रले २०७७ भदौ २२ गते कामना सेवा विकास बैंक लिमिटेडमा रहेको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।
प्रवक्ता थापाका अनुसार पक्राउ परेका मिश्रलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिकोमा सोही दिन अदालतबाट कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ ।