सरकारी खर्चमा निक्षेप तथा कर्जा सुरक्षण कोषका उच्च अधिकारीको कोरियामा ‘हनिमुन ट्रिप’

दियो पोस्ट  

काठमाडौं । निक्षप तथा कर्जा सुरक्षण कोषका उच्च अधिकारी कोरिया भ्रमणमा गएको खुलाशा भएको छ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी गरेपछि गत शुक्रबार कोषको रकममा उच्च अधिकारी एउटा तालिमको निहुँ पारेर कोरिया घुम्न गएका हुन् । भ्रमणमा अर्थमन्त्रालयका राजश्वसचिव रामेश्वर दंगालसहित ५ जनाको सरकारी टोली छ । तर, ५ जनाको सरकारी टोली मध्ये केहीले आफ्नो श्रीमान र श्रीमतीलाई समेत लिएर गएका छन् । ‘कोषको रकममा यो हनिमुन ट्रिप भन्दा पनि हुन्छ,’ एक अधिकारीले दियोपोस्टसँग भने,‘नत्र अनावश्यक मानिसहरु लिएर निर्वाचन आचार संहिता लागेपछि उच्च अधिकारीहरु भ्रमणमा जानुको खास अर्थ छैन ।’

केही महिना अघि मात्रै कोषको सिइओ नियुक्त भएका रमेश घिमिरेले सरकारी खर्चमा आफ्नी पत्निलाई समेत कोरिया भ्रमणमा लगेका छन् । उनले केहीदिन अघि श्रीमतीसहित कोरियाको बुसन सहरमा घुमघाम गरिरहेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

एसीएसआइसी भन्ने अन्तर्राष्ट्रिय संगठनको सदस्य हैसियतमा नेपाली टोलीको प्रतिनिधित्व गर्दै राजश्व सचिव दंगाल कोरिया प्रस्थान गरेका थिए । उक्त संगठनमा एसियन मुलुक जापान, कोरिया, मलेशिया भारत लगायत मुलुक छन् । उनीहरु ८ दिनका लागि कोरिया भ्रमणमा गएका हुन् । उनीहरुको यो भ्रमणका कारण कोषको बेइज्जत भएको कोषकै शुभचिन्तकले दियोपोस्टलाई बताए ।

सरकारी खर्चमा कोरिया भ्रमणमा गएकाहरुले राज्यको ५० प्रतिशत खर्चको भार बढाएको भएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कानमा तेल हालेर बसेको छ । लघुबित्त तथा विपन्न वर्ग, साना तथा मझौला उद्यम, कृषि र पशुधन जस्ता कर्जाले रोजगारी आय आर्जन, समावेशी र दिगो आर्थिक वृद्धि गराउन मद्दत पुर्याउने उद्देश्यले सरकारले निक्षप तथा कर्जा सुरक्षणकोष स्थापना गरेको थियो । तर, कोष स्थापनाको उद्देश्य विपरित कोषका पदाधिकारीले भने मोजमस्ती र भ्रष्टाचारको अखडा बनाएका छन् ।

यसअघि कोषको सिइओ बनेर आएका अर्जुन भण्डारीले कोषको करोडौँ रकम कमिशनको लोभमा एक बैंकमा जम्मा गराएका थिए । करिब ६० करोड रुपैयाँ डिपोजिट गरेबापत सेन्चुरी बैंकका उच्च अधिकारीबाट उनले कमिशन दिएको आरोप लागेपछि उनी अर्थमन्त्रालय तानिएका थिए ।

 

सिफारिस