उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक न्यौपानेको आतंक : कर्मचारीलाई धम्की दिएको खुलाशा

दियो पोस्ट  

काठमाडौं । नेतृत्वको असक्षमताका कारण कोइला अभाव हुँदा उद्योग नै बन्द भएको उदयपुर सिमेन्ट उद्योग भित्रको विवाद अझै बढेको छ । महाप्रबन्धक गोपीकृष्ण न्यौपानेका कारण चरम आर्थिक संकट र कोइला अभावले थलिएको सिमेन्ट उद्योग भित्र न्यौपानेकै कारण कर्मचारी आतंकित बनेका छन् ।

केहीदिन अघि उद्योगको सिसाको टेबल नै फूटाएर चर्चामा आएका न्यौपानेले कर्मचारीलाई धम्की दिने गरेको घटना बाहिर आएको छ । उदयपुर सिमेन्ट उद्योग भित्रको विवाद अन्त्य गर्ने विषयमा समझदारी भएपछि उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले आफ्नो नाता समेत पर्ने स्थानिय त्रियुगा नगरपालिका ५ का वडाध्यक्ष उद्धव थापालाई लगाएर केही कर्मचारीका नेतामाथि धम्की दिने गरेको खुलेको छ ।

 

उनको धम्कीलाई लिएर कर्मचारीहरुले विज्ञप्ति नै निकालेका छन् । आइतबार नै उद्योगका महाप्रबन्धक न्यौपाने सहितका अधिकारीले उद्योग संचालन गर्ने विषयमा सझदारी गरेका थिए । तर, समझदारी पत्र बारिएको केहीबेरमै न्यौपानेले आफ्ना नाता पर्ने उद्धवलाई परिचालन गरेर धम्की दिएको एक कर्मचारीले बताए ।

उनीहरुबीच मंसिर ४ को निर्वाचनपछि उद्योग सञ्चालनमा ल्याउने र सरकारलाई सहयोगका लागि याचना गर्ने सहमति गरेको थियो । तर, सहमति भएको केहीबेरमै न्यौपानेले अनैतिक काम गरेपछि कर्मचारीहरुले विरोध गर्न थालेका छन् ।
महाप्रबन्धक न्यौपानेलाई नै सम्बोधन गरेर उनीहरुले शान्ति सुरक्षाको व्यवस्था मिलाउन ध्यानाकर्षण दिएका छन् । स्रोतका अनुसार न्यौपानेले निर्वाचन आचार संहिता जारी भएपछि गैरकानुनी रुपमा केही कर्मचारी सरुवा समेत गरेका छन् ।