पर्सा । १५ हजार थान नक्कली मतपत्रसहित एक जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।
मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका–२ दसौतास्थितबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जनाएका छन् ।
भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन्। भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र बोकेका थिए।
उनलाई अहिले इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ। पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेका छन्।