काठमाडौं । श्रीमानले घरबाट निकालेको र ज्यादती गरेको भन्दै नेहा चौधरी सामाजिक संजालमा आइन् । सामाजिक संजाल मार्फत उनका कुराहरु सुनेर उनलाई समर्थनमा धेरैले (#justic–for–Neha)भन्दै न्यायको माग गरिरहेका थिए । हामीले पनि सामाजिक संजालमा उनले न्यायको माग गर्दै कुटपिट गरेका तस्बिरहरु राखेको देखेपछि उनीसँग सम्पर्क गर्ने प्रयास गर्यौं । दियोपोष्टको सम्पर्कमा आएकी चौधरीलाई उनको घर बर्दिबासमा नै पुगेर भेट्ने योजना बन्यो ।
पहिलो दिन …
मिति – २८, कात्तिक
समय – दिउँसो २ बजे ।
योजना बने लगत्तै हामी काठमाडौंको अनामनगरबाट निस्कियौं । त्यहाँबाट साझा यातायात चढेर हामी कोटेश्वर पुग्यौं । कोटेश्वरबाट बर्दिबासको गाडी लाग्ने ठाँउ पुग्न नपाँउदै एकजनाले गाडीतर्फ देखाँउदै भने,“हाम्रो गाडीमा हिड्नुस, हामी ७ बजे बर्दिबास पुराउछौं । पहिलोपटक बर्दिबास जान लागेका हामी छिट्टै पुग्ने सोचका साथ उनले भनेको गाडीमा नै जाने निर्णय गर्यौं र उनले देखाएको टिकट काउन्टरतर्फ लाग्यौं । एकजना यात्रुको भाडा १ हजार भएको काउन्टरमा रहेका एक व्यक्तिले बताए । हामी २ जना थियौं र २००० तिरेर हामीले टिकट लियौं । ४–५ घण्टामा नै बर्दिबास पु¥याउने अनि भाडा चाँहि २ हजार । त्यही माथि विधुतिय गाडी । हामी ठगिएको महशुस गरिरहेका थियौं ।
गाडीमा बसेको आधा घण्टा पछि गाडी यात्रुहरुले भरिभराउ भयो । गाडीको रुट कोटेश्वर देखि सिन्धुलीसम्मको मात्रै थियो । तर, यात्रु बर्दिबास, ढल्केवर हुँदै जनकपुरधाम सम्मका । चालकले गाडी जनकपुरधाम सम्म नपुग्ने भनेपछि एकाएक गाडीमा भएका सबै यात्रुहरु आँफूहरु ठगिएको र आफ्नो समय खेर फालिदिएको भनेर हो–हल्ला गर्न थाले । टिकट काट्दा सबैले आ–आफ्नो ठाँउ पुग्ने भनेर चर्को भाडा तिरेर टिकट काटेका थिए । तर, गाडी चालकको कुनै गल्ती थिएन् । सबै यात्रुलाई विचौलियाले ठगेका थिए । यात्रुबाट निर्धारित भाडा भन्दा धेरै लिएर यात्रुलाई मारमा पार्ने र चालकलाई पनि आधा रकम मात्रै दिने गर्दा रहेछन् ।
केही क्षण सँगै आएका साथीसँग कुराकानी गर्दै मैले भनें,“हाम्रो देशको सिङ्गो व्यवस्था प्रणाली यसरी नै चलिरहेको छ । जबसम्म यस्तै सिस्टम रहन्छ तबसम्म हामी सबै मारमा पर्छौं र विचौलिया बिना श्रम नै लुटिरहन्छ ।” एकै छिनको मौनता पछि साथीले थपे,“यहाँ सिधासाधा जनतालाई जीविकोपार्जन गर्न निकै मुश्किल छ । हामीले यस्ताहरुको विरुद्ध पनि बोल्न र लेख्न जरुरी छ ।” गाडी चालक र विचौलियाबीच फोनमा चर्काचर्की परिरहेको थियो ।
गाडी चालकले ३ हजारमा ७ जना यात्रु जनकपुर लैजान नसक्ने भनिरहेका थिए । फोनमा बोलिरहेका व्यक्तिले भने, “आजलाई लैजाऊ यात्रुले ५ हजार दिएका छन्, तिमी ३ हजार राख, हामीले पनि केही राख्नु त पर्यो नि यार ।” एकैछिनको बहसपछि उनीहरु अश्लिल रुपमा गाली–गलौज गर्न लागे । गाडी चालकले हामीलाई कोटेश्वर देखि केही परसम्म पुर्याएका थिए । पैसामा कुरा नमिलेपछि चालकले फेरि रिसाँउदै गाडी घुमाएर कोटेश्वरको काउन्टर अगाडि नै ल्याएर रोकिदिए ।
फेरि कोटेश्वर पुगेका हामी समयमा नै बर्दिबास पुग्न नसक्ने अनुमान लगायौं । हामीले गाडीका एक यात्रुलाई भाडा कति तिर्नु भयो भनेर प्रश्न गर्यौं । उनले आँफूले बर्दिबासको ९ सय रुपैयाँ तिरेको बताए । उनीसँगको हाम्रो कुराकानी अरु यात्रुले पनि सुनिरहेका थिए । केहीले ७ सय, केहीले ६ सय त केहीले १२ सय सम्म तिरेको बताए । त्यसपछि हामी सबै यात्रुहरु ठगिएछौं भनेर कुराकानी गर्याैं ।
पहिलोपटक बर्दिबास जान लागेका हामी, हाम्रो पहिलो यात्रा नै नराम्रो भयो । तर, हामीलाई नेहाको अवस्था बुझ्नका लागि सकेसम्म चाँडै पुग्नुपर्ने थियो । गाडी चालक र २–३ जना एकआपसमा झगडा गरिरहेका थिए । त्यहीबेला एकजना बिरामी यात्रु कराउन थाले । उनले भने,“म दिउँसो एक बजे आइपुगेको थिएँ । ४ वटा गाडी फेर्दै यसमा बस्नु भन्छन् । फेरि यो गाडी पनि जाँदैन भन्छन् । गाडी नै नजाने भए किन टिकट काट्न लगाको त ? किन गाडी जान्छ भनेको त ? यदि मेरो पैसा पूरा र्फिता भएन भने म गाडी नै फोरिदिन्छु । यात्रुहरुलाई झुक्काउने ।” उनी निकै आक्रोशका साथ प्लेनको टिकट लिएर जानुपर्ने बाध्यता भयो भन्दै गाडीबाट झरे ।
हामी साढे २ बजे गाडीमा बसेका थियौं तर, ४ बज्दा पनि गाडी जाने कुनै सुरसार थिएन । गाडीमा बिरामी, सुत्केरी र भर्खरै जन्मेको बच्चा पनि थियो । गाडीमा रहेका सबै यात्रुको अनुहारमा निराशा र आक्रोश देखिन्थ्यो । हामीलाई पनि त्यहाँको स्थितिले गर्दा निकै दुःख लागिरहेको थियो । एकैछिन्मा गाडी चालकले हामीलाई अर्को गाडीमा सहज तरिकाले जान आग्रह गरे । हामीसंग अरु कुनै विकल्प नभएकाले हामी अर्को गाडीमा चढ्यौं । अर्को गाडीमा बसेको केही क्षणमा गाडी कुदयो । गाडी हिँडेपछि भने केही राहत महशुस भयो ।
गाडी साढे ४ बजे कोटेश्वरबाट हिँडेको थियो । गाडीमा चालकसहित हामी १४ जना थियौं । सबैजना एकअर्कासँग कुराकानी गर्दै यात्रा गरिरहेका थियौं । चुनावको मुखैमा भएर होला, हरेक ठाँउमा कडा चेकिङ थियो । हामीले यात्रा गरिरहेको गाडीमा एकजना सई पनि यात्रा गरिरहेका थिए । जहाँजहाँ चेकिङ हुन्छ त्यहाँत्यहाँ उनी झर्दै कुरा गर्थे र गाडी फेरि आफ्नै रफ्तारमा दौडिन्थ्यो । सँगै आएका साथीले पनि यो दृश्यलाई निकै गम्भिर भएर हेरिरहेका थिए ।
यस्तो दृश्य देखेपछि उनलाई सिधासाधा जनताले केही काम सहजै गर्न नसक्ने बताए । उनले भने,“ साँच्चिकै यो देश सर्वसाधारण र सोझा जनताहरुका लागि होइन् रहेछ । जसको पहुँच छ त्यसले मात्रै आनन्दसँग बाँच्न सक्छ ।” उनको यो कुराले मलाई पनि गम्भिर हुन बाध्य बनाइरहेको थियो ।
उनी धाराप्रवाह आफ्ना कुराहरु भनिरहेका थिए । मनमनै लाग्दै थियो,“चुनाव मुखैमा आएको छ । सबै जनताले समयमा नै यस्ता कुराहरु सोच्ने हो भने परिवर्तन सम्भव थियो । तर, धेरै जनताहरु नेताका लम्बेतान विचारविहिन भाषणहरुमा मोहित हुन पुग्छन् ।” मन भित्र कुराकानीहरुको द्धन्द चलिरहेको थियो । त्यतिकै बेला जे.बी. टुहुरेको “लाखौंका लागि उजाड छ यो देश मुठ्ठी भरलाई त स्वर्ग छ” भन्ने गीत याद आयो । साँच्चिकै यो देश पहुँचवालाका लागि मात्रै स्वर्ग छ । नत्रभने हरेक क्षण सर्वसाधारणहरु लुटिन्छन् ठगिनछन् ।
खासै लोकदोहोरी गीतहरु नसुन्ने हामी यात्रामा बजिरहेका गीतहरु सुन्न भने बाध्य थियौं । कतिबेला गीतले महिलाहरुलाई न्याय नगरेको र गीतहरुले पनि समाजमा प्रभाव पार्ने भन्दै नेपाली गीतसंगित र कला साहित्यको विषयमा गफगाफ गरिरहेका थियौं भने कतिबेला अरु यात्रुहरुसंगै हाँसीमजाक गरिरहेका थियौं । जेहोस यात्राको गफगाफ विशेष बन्दै गइरहेको थियो । गाडी चालकले खाना खाने ठाँउ आएको जानकारी गराए । खाना खाने ठाँउ खुरकोटमा नै गाडी चार्ज गर्ने स्टेशन रहेछ । गाडी चार्ज गर्न लगभग एक घण्टा लाग्ने भयो । एकघण्टा समय लाग्ने भएपछि हामीलाई बर्दिबास पुग्न ११–१२ बज्ने पक्का भन्ने लाग्यो । एकघन्टा पछि फेरि हामी गाडीमा चढयौं । र, गाडी आफ्नो रफतारमा दौडिरह्यो ।
दोस्रो दिन…
गाडीमा कुराकानी गर्दागर्दै कतिबेला निन्द्रा लाग्यो याद छैन । तर, आँखा खुल्दा भने हामी बर्दिबास पुगिसकेका थियौं । त्यहाँपुग्दा रातको ठीक १२ः३० भएको रहेछ । हामीले बर्दिबासकै एकजना साथीको घरमा बस्ने योजना बनाएका थियौं । तर, बर्दिबासबाट साथीकोमा पुग्न ८ किलोमिटर टाढा थियो बर्दिबासबाट किसाननगर पुग्न कुनै गाडी नपाइने भएपछि हामी त्यही गाडीका चालकलाई पुराइदिन अनुरोध गर्न थाल्यौं । तर, गाडी चालकलाई पनि सबै ठाँउ थाहा नभएका कारण उनले सबै यात्रुलाई गन्तव्यमा छाडेपछि मात्रै हामीलाई छाडिदिने भए । त्यसपछि हामी जनकपुरधाम पुग्यौं । त्यहाँ पुग्दा एक बजिसकेको थियो । हामी भने दिनभर रिर्पोटिङ गर्न गाह्रो हुने भयो भनेर आत्तिएका थियौं ।
गाडी चालकले सबै यात्रुलाई घर–घरमा पुराए । उनले भने,“विचौलियाका कारण मलाई तनाव भयो । बर्दिबाससम्म जाने गाडी सबैको घरघरमा पुराउनुपर्ने भयो । फेरि रातिको बेला बीच बाटोमा के छाडिदिनु ? मनले मानेन् ।” चालकले सबैलाई पुराएर फेरि दिउँसो यात्रु बोकेर काठमाडौं जानुपर्ने थियो । उनलाई धेरै दुःख भएको छ भन्ने हामीलाई लागिरहेको थियो । तर पनि उनले हामी पुग्ने ठाँउसम्म सोधपुछ गर्दै प¥याए । हामीले उनलाई धेरै दुःख भएको कारण उज्यालो हुने बेलासम्म हाम्रो साथीको घरमा नै बस्न अनुरोध गर्यौं । तर, गाडी चार्ज गर्नुपर्ने भएकाले उनले फर्कने बताए । हामी तोकेको भन्दा बडी भाडा दिएर ठगिएका थियौं तर चालकको पनि केही गल्ती थिएन । त्यसैले साथीले उनको दुःखलाई बुझेर फेरि खुशीका साथ केही रकम दिए । चालक खुशी भए ।
हामी साथीको घरमा पुग्दा तीन बजिसकेको थियो । धेरै कुराकानी नगरी हामी आ–आफ्नो आराम गर्ने कोठामा पुगेर आराम गर्यौं । लगभग तीन घण्टाको बेडरेष्ट पछि फेरि हाम्रो कामको लागि हामी तयार भयौं । किसान नगरदेखि नेहा चौधरीको घर औरही १३ किलोमिटर पर थियो । उनको मोबाइल बन्द भएको कारण हामी उनको गाँउसम्म सोधपुछ गर्दै पुग्यौं । हामी उनको घरमा पुग्दा उनी भुइँमा एैया–आत्था भन्दै पल्टिरहेकी थिइन् । ज्वरो र स्वास्थ्य अवस्था निकै कमजोर भएका कारण उनलाई उठ्न निकै गाह्रो भएको रहेछ । हामीले नेहासम्म पुग्दा पाएका केही दुःखहरु त्यहाँ पुगेपछि हराए । र, हामीले उनीसंग कुराकानी गर्न थाल्यौं ।
उनीसँगको कुराकानी र रिपोर्टको लागि खोल्नुहोस् यो लिंकः
शरिरभरी डाक्टर श्रीमानले ‘टोकेको घाउको खत लिएर नेहाको बयानः ‘प्रहरीकै कार्यालयमै ममाथि कुटपीट भयो’