प्रचण्ड लक्षित ओलीको टिप्पणीः चोक्टा खान गएकी बुढी, झोलमा डुबेर मरी

दियो पोस्ट  

फाइल

अत्तरिया । नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले चुनावमा लडेका आधा सिट पनि नजित्ने दाबी गरेका छन् । नेकपा एमाले कैलाली क्षेत्र नम्बर – ४ ले शनिवार अत्तरियामा आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘अघिल्लो निर्वाचनमा नेकपा माओवादीले ५४ सिट जितेको थियो ।

अहिले ठूलो भाग खान खोजेर अहिले चोक्टा खान गएकी बुढी, झोलमा डुबेर मरी भनेको जस्तो अवस्था हुँदै छ’ उनले भने ‘अहिले माओवादीले चुनावमा लडेका आधा सिट पनि जित्दैन् । बेहाल छ ।’

उनले अहिले नेकपा एमाले बाहेक बहुमतको सरकार बनाउन सक्ने अरु कुनै पनि शक्ति नेपालमा नभएको बताए । उनले गठबन्धनले जितेपछि कसको कार्यक्रम लागु गर्ने भन्नेमै अन्योल रहेको बताए । ‘गठबन्धनले चुनाव जितेपछि कसको घोषणा पत्र लागु गर्छ ?’ उनले भने ‘उनीहरुले गठबन्धनको प्रधानमन्त्री कोलाई बनाउने भन्ने र मान्छे देखाउनै सकेका छैनन् । उनीहरुसंग प्रधानमन्त्री बनाउने मान्छे नै छैन् ।’
उनले नेपाललाई गठबन्धन भन्दा पनि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताए । उनले त्यो शक्ति नेकपा एमाले नै भएको बताए ।