काठमाडौंमा खतरनाक लुटेरा ग्याङ पक्राउ : घरमै बन्धक बनाएर सुनका गिलाससहित लाखौँ लुटपाट

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको बसुन्धारास्थित मधुकर बिक्रम खनालको घरमा लुटपाट गर्ने १० जनाको गिरोह पक्राउ परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो । गत कार्तिक २८ गते बेलुका ६ बजेर ३० मिनेटमा हतियारसहित आएका उनीहरुले खनालकी श्रीमती नन्दा मल्ल लगायतलाई घरमै बन्धक बनाएर लुटपाट गरेका थिए । घटना लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहरासहित प्रहरी टोली परिचालन गरिएको थियो ।

पक्राउ पर्नेहरुमा जुम्लाको हिमा गाउँपालिका १ घर भएका २० वर्षिय बिशाल शाही, कालिकोट तिलागुफा ११ घर भएका तिलक बहादुर शाही, रामेछाप दोरम्बा ६ घर भएका सुवर्ण मगर, कालिकोटको खाणाचक्र वडा नम्बर १ घर भएका २९ वर्षिय धन बहादुर शाही, कालिकोट महावै गाउँपालिका २ घर भएका ३२ वर्षिय पर्वराज सिंह, कालिकोट तिलागुफा ११ घर भएका गंग बहादुर शाही, कालिकोट खाडाचक्र ११ घर भएका २६ वर्षिय नेत्र बहादुर शाही, सुर्खेत विरेन्द्रनगर नगरपालिका ९ घर भएका कविता बुढा, कालिकोट महाबै नगरपालिका २ घर भएका २७ वर्षिय पवन भन्ने पन्च बहादुर सिंह र सुर्खेत विरेन्द्र नगर ९ घर भएका २१ वर्षिय दिपिका मल्ल शाही रहेका छन् ।
उनीहरुले खनालको घरबाट उनीहरुले सुनको गिलास सहित बहुमुल्य गहना र पैसा लुटपाट गरेका थिए । प्रहरीले उनीहरुबाट ३८ तोलाको सुनको गिलास, सुनको तिलहरी, सुनको नौगेडी, हिरा जस्तो देखिने धातु जडित ३ थान हार, विभिन्न दरको २ लाख रुपैयाँ नेपाली रकम बरामद गरेको छ । उनीहरुको साथबाट तोडफोडका लागि प्रयोग गरिएको हथौडा, २ थान चक्कु, पर्खाल चढ्न बनाइएको सिढी र हात बाध्न प्रयोग भएको हत्कडी समेत बरामद गरेको छ ।
उनीहरुलाई डाँका चोरी मुद्दामा १० दिन म्याद थप गरेर अनुसन्धान गरिएको छ । महानगरीय बृत महाराजगन्जबाट उनीहरुमाथि थप अनुसन्धान जारी छ ।

सिफारिस