काठमाडौं । समाजमा हुने अपराध नियन्त्रण गरि शान्ति स्थापना र कानुन कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ । यही कार्य गरेबापत प्रहरीले विभिन्न अन्तर्राष्ट्रिय पदक समेत हात पारेको छ । तर, प्रहरी भित्रैका केही पात्र र प्रवृत्तिका कारण सिंगो संगठनकै बद्नाम हुने गरेको छ । त्यसैले होला ३० औँ प्रहरी महानिरिक्षक नियुक्त भएपछि बसन्त कुँवरले भनेका थिए,‘आन्तरिक सुद्धिकरण गर्छु ।’
प्रहरी भित्रका भ्रष्ट पात्रका गलत आचरण सुधारका लागि कुँवरले कुनै ठोस कदम अघि सार्न सकेका छैनन् । आफूले पठाएको दरबन्दीमा समेत प्रहरी हाकिमहरु खट्न छाडेपछि उनले केही महिनाअघि कठोर कदम चाल्नु परेको थियो । दरबन्दीमा नजाने तर काजमा खटाइएकाहरुले गरेको कतुर्तका कारण आजित भएका आइजीपीलाई बद्नाम गर्ने गरि अर्का एक पात्रले कास्कीमा आतंक मच्चाएका छन् । त्यसरी प्रहरीको बर्दीको आडमा असुली धन्दामा लागेका व्यक्ति हुन्– वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख राजेन्द्र कुमार श्रेष्ठ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ निकट केही विचौलियालाई मोटो रकम खर्चिएर बैदामको प्रमुख हुन पुगेका उनको ध्यान समाजमा शान्ति सुरक्षा कायम गर्नुमा भन्दा असुली धन्दामा छ । उनले बैदामस्थित व्यावसायीहरुलाई आतंक मच्चाएर उठन पुठन शुरु गरेका छन् । उनले केही व्यापारीलाई कार्यालयमै बोलाएर आफू मोटो रकम खर्च गरेर यहाँ आएको भन्दै घुमाउरो शैलीमा चन्दा मागिरहेका छन् । त्यतिमात्रै होइन वडा प्रहरी कार्यालय बैदामलाई रकम उठाउने अखडा बनाएका छन् । श्रेष्ठले पोखरास्थित सिजि हार्डवेयर एण्ड सप्लायर्सको पैसा उठाउने ठेक्का लिएको स्रोत बताउँछ । चौधरी थरका व्यक्तिले त्यहाँस्थित डिएसपी श्रेष्ठलाई भेटेर कमिशनको डिल भएपछि बजारमा फसेको सबै पैसा उठाउने जिम्मा लिएका छन् । जबकी लेनदेनको मुद्दा प्रहरीले हेर्न मिल्दैन । व्यावसायीहरुलाई तपाईं विरुद्ध उजुरी परेको छ भन्दै धम्की दिएर सिजि हार्डवेयरको पैसा तिर्न दबाव दिने गरेका छन् । कसैको पनि लेनदेन भए अदालत वा कानुनी प्रक्रिया पुरा गरेर मात्रै लिन वा दिन सकिन्छ । प्रहरीका कर्मचारीले बर्दिको दुरुपयोग गरेर लेनदेनको मुद्दामा सक्रियता देखाउनु आफैमा भ्रष्टाचार हो ।
पोखराको लेकसाइड रात्रीकालिन व्यावसायमा समेत चर्चित ठाउँ हो । अधिकांश पर्यटकको आकर्षकको केन्द्र रहेको रात्रिकालीन व्यावसायलाई डिएसपी श्रेष्ठले विभिन्न बहानामा बार्गेनिङ्ग गरिरहेको स्रोतको भनाई छ । त्यहाँ रहेका रात्रीकालिन व्यावसायीबाट समेत उनले बार्गेनिङ्ग शुरु गरेका छन् । केहीदिन अघि कार्तिक १ गते पृथ्वी होटल व्यावसायी समितिको कार्यक्रममा पुगेर होटलको कोठालाई अपराध गर्ने ठाउँ नबनाउ भन्दै होटल संचालकलाई आक्षेप लगाएका थिए । बैंक ऋण गरेर होटल व्यावसाय गरिरहेकाहरुले होटललाई अपराधको अखडा बनाएको उनको आरोप थियो । उनको यो भनाईबाट अधिकांश होटल व्यावसायी असन्तुष्ट बनेका छन् । ‘होटल खुलेका कारण समाजमा अपराध भएको र होटल व्यावसायीले समाजमा अपराध जन्माएको भन्ने डिएसपी श्रेष्ठको भनाईले सम्पूर्ण व्यावसायीको भावनामा ठेस पुगेको छ । कोहीपनि होटल व्यावसायी अपराध गरिरहेको छ भने त कानुन अनुसार कारबाही गरे भैहाल्यो नी,’ पृथ्वी होटल व्यवसायी समितिका एक सदस्यले दियोपोस्टसँग भने,‘यो त सरासर व्यावसायीमाथि गलत आक्षेप हो ।’
डिएसपी श्रेष्ठ भन्छन्,‘शान्ति सुरक्षाको निवेदनका आधारमा प्रहरीले बोलाएको हो’
यता वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र कुमार श्रेष्ठले छलफलका लागि बोलाएको स्विकार गरे । ‘शान्ति सुरक्षाको निवेदनका आधारमा छलफलमा बोलाएका हौँ । सिडिओ कार्यालयबाट पत्र आएपछि उजुरी फर्छ्यौट गर्नै परिहाल्यो,’ उनले भने,‘त्यही लेनदेनको कारण शान्ति सुरक्षामा खलल नपुगोस् भनेर हामी सचेत हुनुपर्छ ।’
लेनदेनका विषय प्रहरीले छलफल गराउन मिल्छ भन्ने दियोपोस्टको प्रश्नमा उनले प्रहरीले नभई अदालतले टुंगो लगाउने जवाफ उनको थियो । श्रेष्ठले कमिशनको लोभमा लेनदेन मुद्दामा उनको संग्लनता भने अस्विकार गरे ।
डिएसपी श्रेष्ठको विवादित इतिहास
कुनै समय सिराहको ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रमुख रहेका डिएसपी श्रेष्ठको कार्यसम्पादनबारे त्यतिबेला नै प्रश्न उठेको हो । मिर्चैयास्थित एक महिलामाथि दाइजोको निहुँमा दिनहुँ यातना दिने सन्दिप नाम गरेका व्यक्तिबाट लाखौँ रुपैयाँ खाएर पीडितमाथि थप पिडा दिएको डिएसपी श्रेष्ठमाथि आरोप छ । उनले पीडितको जाहेरी समेत दर्ता नगरी पीडित काजल कुमारी यादवमाथि चरम यातना दिएको आरोप थियो ।
२०७५ फागुन ८ गते सप्तरीको राजबिराज ७ स्थित काजलसँग विवाह गरेका सिराहस्थित कल्याणपुर ९ डुमरीका सन्दिप कुमार यादवसँग मिलेर डिएसपी श्रेष्ठले उल्टै पीडितलाई यातना दिएको आरोप थियो । २०७८ साल जेठमा उनीहरु पटक पटक प्रहरीमा जाहेरी लिएर जाँदा समेत जाहेरी दर्ता नगरी पीडकसँगै मिलेको आरोप उनीमाथि छ । त्यतिबेला डिएसपी श्रेष्ठले पीडितलाई ‘अदालतको परमादेश लिएर आउनुस्’ भन्दै धम्की दिएर पठाउने गरेका थिए । पीडक सन्दिपलाई कारबाही गर्नुको सट्टा डिएसपी श्रेष्ठले भगाएको आरोप पीडित परिवारले लगाएको थियो ।