सुसुप्त सल्बलाउँदै घर जग्गा कारोबार : असोज महिनामै उठ्यो ४ अर्ब ४३ करोड राजश्व

दियो पोस्ट  

 

काठमाडौं । देशभरी घरजग्गा कारोबार सुसुप्त रुपमा सल्बलाउन थालेको छ । अघिल्लो वर्षको असोजमा खासै कारोबार नभएको घरजग्गाको व्यापार यो वर्षको असोजमा भने उत्साहजनक रुपमा सल्बलाउन थालेको छ ।

अघिल्लो वर्षको असोजमा कुल १९ हजार १७८ कित्ताकाट भएको थियो । यो वर्ष भने उत्साहजनक रुपले बढेर एक लाख ६ हजार ३ सय य४९ कित्ताकाट भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।

कारोबारमा देखिएको पछिल्लो प्रगतिले घरजग्गा व्यवसायीहरु उत्साहित देखिन थालेका छन् । ‘अघिल्लो वर्षदेखि ठप्प बनेको घर जग्गा कारोबार अहिले आएर शुरु भएको छ । मैले केहीदिन अघि मात्रै एउटा प्लट विक्री गरेँ । अन्य स्थानमा पनि विक्रीका लागि डिल भइरहेको छ,’ एक घरजग्गा व्यापारीले भने,‘कित्ताकाट हुने क्रम पनि जारी छ । यसले अब बजार बघि बढ्यो भन्ने संकेत गर्दछ ।’

विभागका अनुसार पछिल्लो तीन महिना साउन, भदौ, असोजमा कारोबार बढ्दै गएको छ । विभागका अनुसार साउनमा २९१ कित्ताबाट ७७ हजार ६८ कित्ताकाट भएको छ ।

भदौमा ३६ हजार २८० कित्ताबाट गत भदौमा ३६ हजार २८० कित्ताबाट ८० हजार ३१७ कित्ताकाट भएको छ भने असोजमा ४७ हजार ३९८ कित्ताबाट एक लाख ६ हजार ३४९ कित्ताकाट भएको विभागले जनाएको छ ।

कित्ताकाटमा वृद्धि हुन थालेसँगै त्यसबाट राज्यले सङ्कलन गर्ने राजस्व पनि बढेको छ ।

गत साउनमा तीन अर्ब २१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको सरकारले भदौमा झन्डै तीन अर्ब ३७ करोड र असोज महिनामा ४ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।

कित्ताकाट रोक्का गरिएको अवधिको तुलनामा अहिले घरजग्जा कारोबारमा क्रमिक सुधारका सङ्केत देखिन थालेका नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनी दाबी छ ।

“असोजमा कारोबार बढेको देखिए पनि चाडबाडका कारण कार्तिकमा केही कम देखिएको छ । मङ्सिरमा फेरि उकालो लाग्ने देखिन्छ,” उनले भने ।
व्यवसायीका अनुसार ब्यांकहरुले ब्याजदरमा केही सरल बनाएपछि घर जग्गा कारोबारमा थप सहजता शुरु भएको हो । त्यति मात्रै होइन अर्थतन्त्रका कतिपय आन्तरिक सुचनक सकारात्मक देखिएका कारण पनि घरजग्गा कारोबार बढ्न थालेको हो । त्यस्तै ब्यांकहरुमा तरलता अभाव पनि सुधार आएको छ ।
त्यस्तै सरकारले कित्ताकाट पनि खुलाएपछि खरिद विक्री गर्नेहरुमा आत्मविश्वास पलाएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन र एकाघरका दाजुभाइका अंशबन्डामा देखिएका जटिलता फुकाउन भन्दै गत साउन अन्त्यतिर सरकारले जग्गा कित्ताकाटमा लगाउँदै आएको रोक्का फुकुवा गरेको थियो ।

त्यसअघि जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट खोलिने अधिकारीहरूले बताउँदै आएका थिए ।

तर साउन ३० गते मन्त्रिपरिषद्को बैठकले कित्ताकाट, नामसारीसहित जग्गासम्बन्धी रोकिएका सबै काम फुकाउने गरी भू उपयोग नियमावली पारित ग¥यो ।

अघिल्लो वर्षको जेठमा सरकारले भू उपयोगसम्बन्धी नियमावली ल्याएर स्थानीय तहलाई जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट खोल्न अनुमति दिएको थियो ।

त्यस बेला स्थानीय तहलाई २०७९ सालको मङ्सिरसम्म जग्गा वर्गीकरण गरिसक्न भनिएको थियो।

विगतमा आवासीय जग्गाको हकमा १३० वर्गमिटरसम्मको जग्गा मात्र कित्ताकाट हुन सक्ने व्यवस्था गरिएकोमा पछिल्लो नियमावलीमा त्यो सीमालाई घटाएर ८० वर्गमिटरमा झारिएको छ।

कित्ताकाट रोक्का गरिएको अवधिमा ब्याङ्कबाट प्रवाह हुने कर्जामा पनि कडाइ गरिएपछि घरजग्गा कारोबार शिथिल भएको व्यवसायीहरूले गुनासो गर्दै आएका थिए।