सप्लायर्सको पैसा नतिरी ठेकेदार फरार : शंकरमालीका संचालक विरुद्ध अदालतको म्याद !

दियो पोस्ट  

काठमाडौं । बैंकको ऋण तिर्न नसकेर कालोसुचीमा परेका ठेकेदारहरु विभिन्न सप्लायर्सको पैसा पनि तिर्न नसकेर मुद्दा मामिलाको शिकार भएका छन् । विभिन्न ठूला निर्माणका काम गर्ने केही ठेकेदारले दिएको चेकमा रकम नभएपछि सप्लायर्सहरुले अदालतको साहाराबाट रकम उठाउने कोशिस गरेका छन् ।
काठमाडौंमा रहेको विजय दुर्गा इन्टरप्राइजेजले आफूले पाउनु पर्ने रकम नपाएको भन्दै केही ठेकेदारलाई अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौं जिल्ला अदालतबाट जारी म्याद अनुसार शंकरमाली निर्माण सेवा र स्वच्छन्द निर्माण सेवा विरुद्ध चेक अनादर मुद्दा दर्ता भएको हो ।

अदालतले उनीहरु विरुद्ध चेक अनादरमा म्याद जारी गरेको छ । गत असार १८ गते दायर भएको मुद्दाको म्याद बेपत्ते भएपछि अदालतले गोरखापत्रमै सुचना प्रकाशन गरेर म्याद जारी गरेको हो ।

अनाम नगरमा कार्यालय रहेको शंकरमाली निर्माण सेवा र त्यसका संचालक दिपक सापकोटा र उक्त कम्पनिकै शेयरधनी दान बहादुर कार्की र सन्तोष श्रेष्ठ विरुद्ध म्याद जारी भएको छ । त्यस्तै जयराम लामिछानेको स्वामित्व रहेको स्वच्छन्द निर्माण सेवा प्रालीको नाममा पनि म्याद जारी भएको छ । संचालकहरु भने मोबाइल स्विच्ड अफ गरेर फरार छन् । सापकोटाले नगरकोट सडक निर्माण समयमा सम्पन्न नगरेपछि स्थानिय जनताले उनको तस्विर विभिन्न सवारी साधनमा टाँसेर विरोध गरेका थिए ।

त्यस्तै मुडे चरिकोट सडकखण्ड पनि उनै सापकोटाले अलपत्र पारेका थिए ।