सन्दीप लामिछानेको मुद्दामा बहस नोट बुझाउन न्यायाधीशले दिए आदेश

दियो पोस्ट  

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामा जिल्ला अदालत काठमाडौंले बहस नोट मगाउने आदेश गरेको छ। न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकार, निवेदक र अन्यसँग बहस नोट माग गर्ने आदेश गरेको हो।

लामो समयदेखि सन्दीपको मुद्दा एकपछि अर्को इजलासले सुनुवाइ गर्नेभन्दा पन्छाउने हुँदै आएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरुद्ध गत २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

१८ वर्षभन्दा कम उमेरकी (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।

उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो। १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्।