०८४ को निर्वाचनमा जनताको विश्वास जितेर सरकारको नेतृत्व गर्छौंः प्रधानमन्त्री प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २०६४ कै स्थितिमा फर्किन नसकेपनि सोसरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

सरकारबाट पनि नयाँ आन्दोलनको सुरुवात गरेको र अझै नयाँ आन्दोलनको सुरुवात गर्ने उनको भनाइ थियो । प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य कुरा नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको प्रधानमन्त्री दाहालले दाबी गरे ।

 

‘२०६४ एउटा स्थिति थियो, हामी २०६४ मै त फर्किन सक्दैनौँ । अब आउने भनेको ६४ होइन, २०८४ हो । २०८४ मा हामी ०६४ जस्तै जनताको पक्षमा, जनताको विश्वास लिनसक्छौँ कि सक्दैनौँ । हामीले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुवात गरेका छौँ । अझै गर्छौं । कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो । हामीले कति राम्रो कुरा सुरु गर्छौं त्यो मुख्य कुरा हो,’ उनले भने ।

पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएकोसमेत उनको भनाइ छ। राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताए ।